सिनेमा

रुकुमको बाल विवाहदेखि उदयपुरको थारु विद्रोहसम्मका कथा  लिएर बेलायत उड्दै ५ महिला फिल्ममेकर

सामीप्यराज तिमल्सेना |
असार ९, २०७९ बिहीबार १३:२९ बजे

काठमाडौँ - रुकुम घर भएकी २१ वर्षीया प्रशंसा केसी इन्जिनियरिङकी विद्यार्थी हुन् । रुकुममा हुर्कँदै गर्दा उनले उनले आफ्नो वरिपरि विवाहसम्बन्धी अनौठो प्रचलन अभ्यासमा रहेको महसुस गरिन् । त्यो अभ्यास थियो, ‘छोपी विवाह’ । अर्थात् मेलापात वा सामूहिक उत्सवमा केटालाई कुनै केटी मन पर्यो भने उसलाई अपहरण गरेर लैजाने र श्रीमती बनाउने । हुर्कँदै गर्दा उनले यो पनि चाल पाइन् कि आफ्ना काका काकीको विवाह यसैगरि भएको रहेछ । बाल विवाहविरुद्ध चेतना फैलाउन सक्रिय प्रशंसा छोपी विवाहसँगै बाल विवाहको विकराल अवस्थालाई पर्दामा उतार्ने स्रोतको खोजीका लागि  बिहीबार लन्डन उड्दैछिन् । 

अवार्ड विजेता केही वृत्तचित्र निर्माण गरिसकेकी प्रशुना डंगोल पनि बिहीबार प्रशंसासँगै बेलायत जाँदैछिन् । उनले भने समकालीन युवतीले विवाहलाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्म बनाउने सोच बनाएकी छिन् । ‘रजस्वला भएदेखि नै युवतीमाथि समाज र आफन्तले विवाहका लागि अप्रत्यक्ष दबाब निर्माण गर्न थाल्छन् । यो जमानामा विवाह हरकोही युवतीको विवाह पहिलो रोजाइ हुँदैन,’ प्रशुना भन्छिन्, ‘ तर उनीहरू यो विषयमा खुलेर बोल्न पनि सक्दैनन् । मैले यही विषयमा फिल्म बनाउन खोजिरहेको छु । यही कथा म बेलायतका निर्मातासँग सुनाएर लगानी खोज्ने प्रयास गर्नेछु ।’


प्रशंसा र प्रशुना मात्र होइन आश्रुती त्रिपाठी, पिंकी श्रीश राना र स्मृति बस्नेत पनि यसैगरि आआफ्ना कथा लिएर बिहीबार बेलायत उड्दैछन् । ५ जना युवतीको यो पहिलो समूह हो जो बेलायतको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सेफिल्ड  डकफेस्ट’मा नेपाललाई प्रतिनिधित्व गरेर जाँदैछ । मंगलबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा उनीहरूले बेलायत जाने अवसर र आफूले छानेका विषयबारे पत्रकारसँग अनुभव साझा गरे ।

५ जना युवतीलाई बेलायतको प्रतिष्ठित वृत्तचित्र महोत्सवमा जाने चाँजोपाँजो मिलाएका हुन् बेलायतको तास्कोभस्की फिल्मस्, ब्रिटिस काउन्सिलको जेन्डर फिल्म कार्यक्रम, पामे चलचित्र तथा संगीत महोत्सव र चलचित्र विकास बोर्ड । सन् २०२२ देखि नेपाली चलचित्र उद्योगमा लैङ्गिक समावेशीकरणका लागि काम गरिरहेका माथि उल्लेखित सम्पूर्ण संस्थाले महिलामा व्यवसायिक फिल्म निर्माणको सीप विकास गर्नका लागि महिला निर्माता र निर्देशकहरूको आवेदन माग गरेका थिए ।

आवेदनबाट महिला फिल्मकर्मीलाई विभिन्न चरणको परीक्षाबाट छनोट गरी १० जनामा सीमित गरिएको थियो । यिनै १० जनालाई फेब्रुअरीदेखि मेसम्म भर्चुअल सत्रमार्फत फिल्मको कथा वाचनका अनेक प्रशिक्षणहरू दिइएको थियो । नेपाली र विदेशी फिल्ममेकरबाट विभिन्न चरणमा पाएको ज्ञानलाई सदुपयोग गर्न सक्ने १० जनाबाट ५ जनालाई छानेर थप प्रशिक्षण दिइएको थियो । यसरी ६ महिना हाराहारीको समयमा विभिन्न चरणमा पाएको ज्ञान लिएर ५ जना महिला बेलायत उड्न लागेका हुन् ।

‘सेफिल्ड डकफेस्ट’आज बिहीबार सुरु भएर आउँदो मंगलबार सकिने कार्यतालिका छ । यही ५ दिनमा नेपाललाई प्रतिनिधित्व गरेर जान लागेका युवतीले गार्जियन, न्युयोर्क टाइम्सदेखि अल जजिरासम्मका वृत्तचित्र निर्मातासँग भेटघाट गरेर आफ्नो कथा सुनाउने कार्यतालिका छ । ‘स्लेट फन्डिङ’को योजनासहित बेलायत उड्न लागेकी स्मृति बस्नेत भन्छिन्, ‘आफ्ना कथामा लगानीकर्ता खोज्ने त भइहाल्यो तर मेरो योजना उताका निर्मातालाई नेपाली फिल्ममा सदा लगानी गर्न स्थायी फन्ड जुटाउने पनि छ । ‘स्लेट फन्डिङ’लाई लागू गर्न सकियो भने ५ वटा नेपालले सयौँ कथा विश्वमञ्चमा पुर्याउन सक्छ ।’

५ जनामध्ये स्मृति मात्र विनाकथा जान लागेकी हुन् । उनले आफ्नो ध्यान दीर्घकालीन लगानी खोज्ने रहेको बताइन् । ६ महिना लामो प्रशिक्षणका चरणमा सहभागीलाई सकभर आफ्नै कथामा फिल्म अभिप्रेरित गरिएको थियो । प्रशुना, प्रशंसा र पिंकी श्री रानाले यसरी आफैँले भोगेका कथालाई भविष्यमा  फिल्म निर्माणका लागि सुहाउने गरी विकसित गरिरहेका छन् । बेलायत उड्ने सूचीमा रहेकी आश्रुती त्रिपाठीले भने उदयपुरकी अरुणा चौधरीको कथालाई फिल्म बनाउने गरी काम गरिरहेकी छिन् । आश्रुतीका अनुसार उनले काठमाडौँमा हुर्के बढेकी आफ्नै आमा र उदयपुरमा थारु परिवार जन्मिएकी अरुणाबीचको स्वतन्त्रताको संघर्षलाई तुलनात्मक रुपमा प्रस्तुत गर्न चाहेको बताइन् ।

‘अरुणा चौधरी १४ वर्षमा विवाह गरेर पनि स्कुल पढ्न जाने त्यो भेगको पहिलो महिला हुनुहुँदोरहेछ । त्यो समयमा अरुले घुम्टो ओढेर हिँड्दा उहाँले कुर्ता सुरुवाल लगाएर क्रान्ति गर्नुभएको रहेछ । मैले यही उहाँको क्रान्तिकारी यात्रालाई वृत्तचित्रमा प्रस्तुत गर्न लागेकी हुँ,’ आश्रुतीले भनिन्, ‘फिल्म बनाउनेसँगै यसको बजारीकरणका लागि कोही लगानीकर्ता भेट्ने अपेक्षा छ । यो भयो भने म अरु दर्जनौँ अरुणादेवीको कथा भन्न सक्छु ।’

यसैगरि काठमाडौँ पोस्टकी कला र संस्कृति विभागमा रिपोर्टिङ गर्ने पिंकी श्रीश रानाले भने मगर समुदाय र उच्च जातका बाहुनबीचको सामाजिक सम्बन्धलाई वृत्तचित्रको विषय बनाएकी छिन् ।बेलायत यात्राका लागि शुभकामना दिन उपस्थित ब्रिटिस काउन्सिलका कला विभाग प्रमुख निश्चल वलीले आफूहरूले महिलालाई फिल्म निर्माणका विभिन्न विधामा दीर्घकालीन रुपमा संलग्न गराउने उद्देश्यले सहयोग गरेको बताए ।

‘हामीले महिलालाई फिल्म बनाउन सानातिना आर्थिक सहयोगका कार्यक्रम गरिरहेका छौँ तर यो अभियानले दीर्घकालीन प्रभाव पारोस् भनेर सेफिल्ड डकफेस्टसम्म पठाउन लागेका हौँ,’ निश्चलले भने, ‘भोलि उहाँहरूले त्यहाँ गएर प्रभाव छाड्नु भयो भने यो कार्यक्रमले निरन्तरता पाउँछ, हामी हरेक साल यसरी फरक फरक महिला फिल्ममेकर विश्वभर पठाउन सक्छौँ ।’ 

यसैगरि विकास बोर्डका आर्काइभ तथा सूचना अधिकृत चिरञ्जीवी गुरागाइँले बोर्डले नयाँ पुस्ताका फिल्मकर्मीसँग घनिभूत रुपमा काम गर्न चाहेको र यस्ता कार्यक्रमले बोर्डको त्यो अपेक्षा पूरा भइरहेको बताएका थिए ।
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x