सिनेमा

नेपालका हलमा भाेजपुरी 'रण'

इकागज |
असार १३, २०७९ सोमबार १२:३६ बजे

काठमाडौँ- नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म 'रण' नेपालमा पनि रिलिज हुने भएको छ । फिल्म आउँदो शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलबाट  प्रदर्शन हुन लागेको हो । 

राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा रिलिजको तयारी भइरहेको निर्देशक चन्द्र पन्तले बताए । ‘राजधानीका केहि मल्टिप्लेक्ससँग समेत कुरा भइरहेको छ, यद्धपि विश्वज्योति लगायतका केहि मल्टिप्लेक्स हलहरुमा लाग्ने कन्फर्म भइसकेको छ’, पन्तले भने । फिल्मले मुख्यतः तराई मधेश केन्द्रीत हलहरुमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।


यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए । जुलाई १० तारिखबाट दिल्लीमा फिल्म रिलिज हुनेछ । 

भोजपुरी फिल्मको इतिहासमा ट्रेलर रिलिजको छोटो समयमा सर्वाधिक भ्यूज र लाइक’ पाउने फिल्मको सुचीमा ‘रण’ले पहिलो स्थान लिएको पन्तले दाबी गरेका छन् । एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिकसमेत आवद्ध छन् ।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा  डेब्यू गरेका छन् ।  यो फिल्ममा नरेनसँगै आन्नद ओझा, काजल राघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनयमा छन् । निर्देशक पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।

यो फिल्ममा नेपालबाट अर्जुन जिसी सम्पादनमा जोडिएका छन् । टिजर र ट्रेलर सम्पादन भने क्रमशः मित्र डि गुरुङ र शाहिल खानले गरेका छन् । महेश पौडेलको छायांकन रहेको फिल्ममा नेपाली कोरियोग्राफर रामजी लामिछाने र गम्भिर विष्टले पनि काम गरेका छन् । 


Author

थप समाचार
x