सिनेमा

‘दोख’ को ट्रेलर सार्वजनिक,  अनुप बराल भन्छन्– द्वन्द्वका कथा भन्‍नु घाउ कोट्याउनु मात्र होइन

इकागज |
असार १४, २०७९ मंगलबार १०:१४ बजे

काठमाडौँ - ‘दोख’ निर्देशक अनुप बरालले लामो समयदेखिको भारी बिसाउन लागेको तर यो भारी हरकोहीले ग्रहण गर्न सक्ने र हलुंगो भएको बताएका छन् । सोमबार आफू निर्देशित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले फिल्म निर्माणमा लामो समय लागेको र अन्ततः रिलिजको संघारमा रहेको बताएका थिए ।
‘हामीले भूकम्पअघिबाट यो फिल्मको सुटिङ थालेका थियौँ तर भूकम्प , नाकाबन्दी, महामारी सबै अप्ठेरो अवस्थामा हामीले यो फिल्मलाई बोक्यौँ । अब बिसाउने बेला भएको छ,’ उनले भने, ‘तर यो फिल्मको भारी गह्रुँगो छैन । छरितो छ भन्ने विश्वास छ ।’

यसअघि दुई टिजर सार्वजनिक गरेर कथाको पृष्ठभूमि बताएको फिल्मले ट्रेलरले कथा थप खुलाउँदै फुटबल खेलबाट सामुदायिक वन उपभोगको विषयलाई टुंगो लगाउने विषयलाई प्रस्तुत गरेको छ । ट्रेलरले फिल्म माओवादी कालखण्डको कथामा बनेको पनि स्पष्ट संकेत गर्छ जुन कुरा निर्देशक अनुप बरालले लामो समयदेखि बताउँदै आएका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै द्वन्द्वका कथामा फिल्म बनाउने समय बल्ल सुरु भएको पनि जिकिर गरेका थिए ।


‘द्वन्द्व कथामा अहिले फिल्म बनाउनु भनेको घाउ कोट्याउनु होइन । भविष्यमा हुने यस्ता द्वन्द्वले पार्ने प्रभावका बारेमा पूर्व चेतना दिने पनि हो । फेरि म कथा कहिले भन्ने भन्दा पनि कसरी भन्ने कुरामा विश्वास गर्छु । तर द्वन्द्वको कथामा मैले पक्ष विपक्ष लिनेभन्दा पनि तटस्थ भएर द्वन्द्वलाई हेर्ने प्रयास गरेको छु,’ अनुपको भनाइ थियो । 

राजन कठेतको लेखनमा तयार भएको फिल्ममा मनिष निरौला, दिया मास्के, सुरज मल्ल, रोभदिभ आदि कलाकारको अभिनय रहेको छ । कार्यक्रममा मनिष उपस्थित थिएनन् तर दियाले आफूले पाएको भूमिका इमान्दारीपूर्वक निर्वाह गरेको बताएकी थिइन् । फिल्ममा रहेको फुटबलको कोरियोग्राफी अमनप्रताप अधिकारीले गरेका थिए । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अमनले फिल्मका लागि फुटबल कोरियोग्राफ गर्नु गाह्रो तर रोचक अनुभवयुक्त रहेको बताएका थिए ।
यो फिल्म आउँदो २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ । 

 


Author

थप समाचार
x