सिनेमा

‘प्रसाद २’मा जोडिए राज कटुवाल

इकागज |
असार १४, २०७९ मंगलबार १३:४ बजे

काठमाडौँ - अभिनेता तथा चलचित्र विकास बोर्ड सदस्य राज कटुवाल ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । राजले आफू फिल्म भित्र महत्वपूर्ण भूमिकामा लागि अनुबन्धित भएको जनाएका छन् । 

‘मैले गर्न लागेको भूमिका एकदमै रोचक छ । फिल्मलाई लिएर उत्साहित छु,’राजले फिल्म गर्न लागेको पुष्टि गर्दै इकागजसँग भने । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मका लागि यसअघि नै विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा अनुबन्धित भइसकेको निर्माण टिमले जनाएको छ । पूर्व सम्झौता गरेका निश्चल बस्नेतले अन्तिम समयमा आएर फिल्म नगर्ने भएपछि निर्माण टिमले अर्पण थापालाई अनुबन्ध गरेको थियो ।


‘प्रसाद’को सिक्वेलको रुपमा बन्न लागेको फिल्मलाई सुशील पौडेलले लेखेका हुन् । फिल्मको सुटिङ यही हप्ताबाट पोखरामा सुरु गर्ने निर्माण टिमको तयारी छ । फिल्मको सुटिङ कास्कीको हेम्जाकोटमा हुनेछ । 

राजले यसअघि ‘लीला’ र ‘लाल्टिन’ आदि फिल्ममा काम गरेका छन् । राजले योबाहेक सुदर्शन थापालाई नै लिएर ‘राजा’ नाममा फिल्म बनाउने घोषणा गरेका छन् । राजले हाल यो फिल्मको लेखनको काम भइरहेको बताएका छन् । उनले दसैँ पछाडि सुटिङ गर्ने गरी तयारी भइरहेको बताए ।


Author

थप समाचार
x