सिनेमा

माओवादी प्रवेश गर्ने हल्लाबीच राजेश हमाल प्रचण्ड निवासमा

इकागज |
असार १७, २०७९ शुक्रबार १०:२८ बजे

काठमाडौँ-  पछिल्लो समय चल्तीका कलाकार पार्टी प्रवेशको लहरमा छन् । स्थानीय निकायको चुनावअघि अभिनेत्री करिष्मा मानन्धर एमाले प्रवेश गरिन् भने अभिनेता भुवन केसी नेपाली कांग्रेस । राजेश हमाल पनि यो चर्चाको केन्द्रमा रहने गरेका छन् । केपी ओली प्रधानमन्त्री हुँदा हमाल एमाले प्रवेश गर्ने चर्चा थियो । प्रधानमन्त्री ओलीले भारतको औपचारिक भ्रमणमा उनलाई पनि लिएर गएपछि यो चर्चाले बल पाएको थियो । तर हमाल एमाले प्रवेश गरेनन् । 


स्थानीय निकायको चुनावपछि भने हमाल माओवादी केन्द्र प्रवेश गर्ने हल्ला थियो । राजेश हमाल राजदूतका लागि इच्छुक भएकाले सोही माग सम्बोधन हुने गरी उनलाई पार्टीमा स्वागत गर्न माओवादी तयार रहेको आसयका हल्ला चलेका थिए । शुक्रबार यही हल्लाबीच राजेश हमालले खुमलटारमा गएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन् ।


हमाल र प्रचण्डबीच भएको कुराकानी बाहिर आएको छैन तर यसले हमाल राजनीति प्रवेशका लागि इच्छुक भएको कुरालाई पुष्टि गरेको छ । के हमाल माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन् ? इकागजले हमालका सहयोगी रोशन हमाललाई यो प्रश्न सोधेको थियो । जवाफमा रोशनले यो ‘क्याजुवल मिटिङ’ भएको जानकारी गराए ।

‘माओवादी अध्यक्ष प्रचण्डबाट अघिल्लो हप्ता नै भेटघाट गरौँ भन्ने प्रस्ताव थियो । दादाको समय नमिलेर भेटघाट जुरेको थिएन । तर मसँग कुरा भएअनुसार यो विशुद्ध एजेन्डाविहीनको भेट हो । गणतन्त्र र अहिले चलिरहेको आर्थिक संकटका विषयमा कुरा गर्ने भन्नु भएको हो । अब भेटमा त्योबाहेक थप विषयमा कुराकानी भएको भए मलाई थाहा छैन,’ रोशनले इकागजसँग भने । तर राजेश हमाल तत्कालै कुनै राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा सकारात्मक नरहेको उनले स्पष्ट पारे । 
राजेश हमालसँग प्रचण्डलाई भेट्दा केहीबेर साथमा रहेका संगीतकार चेतन सापकोटाले पनि देशको समसामयिक राजनीतिको विषयमा मात्र कुरा भएको बताएका छन् । 
पूर्व राजदूत चुडा हमालका छोरा राजेश हमालले बेलाबखत अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका बारेमा फेसबुक लाइभमा आफ्नो धारणा राख्दै आएका छन् । अन्तर्राष्ट्रिय राजनीतिमा उनको यही चासोलाई लिएर उनी राजनीतिमा आउन इच्छुक रहेको अनुमान हुने गरेको छ । 
 


Author

थप समाचार
x