सिनेमा

ट्रायलमा सोमा फिल्म मन नपरेपछि रोकियो ‘ब्याटगर्ल’को रिलिज

इकागज |
साउन २२, २०७९ आइतवार ११:११ बजे

लसएन्जल्स - रिलिजको एक महिनाअघि वार्नर ब्रोजले आफ्नो एउटा फिल्म हार्ड डिस्कमा थन्क्याउने निर्णय गरेको छ । अनुमानित ७० मिलियन अमेरिकी डलर खर्च भएको फिल्म अन्तिम समय प्रदर्शन हुनबाट रोकिएको हो । न्युयोर्क पोस्टका अनुसार रिलिज अघि हुने ‘टेस्ट स्क्रिनिङ’मा फिल्मले कमजोर प्रतिक्रिया पाएपछि निर्माण कम्पनी वार्नर ब्रोजले यो फिल्म कतै पनि रिलिज नगर्ने निर्णय गरेको हो । फिल्म आउँदो महिना हलमा र यसको केही समयमा एचबीओ म्याक्समा आउने तालिका थियो । 

वार्नर ब्रोजले भने यसलाई रणनीतिक कदमको रुपमा प्रतिक्रिया दिएको छ । ग्लास्गोमा खिचिएको फिल्मले त्यहाँ पर्यटनले भने फाइदा पुर्याएको दाबी गरिएको छ । 
फिल्म डीसी कमिकको बारबारा गोर्डनमा आधारित थियो । फिल्ममा ब्याटगर्लको भूमिका लेसली ग्रेसले निर्वाह गरेकी थिइन् । 


वार्नर ब्रोजले लेसली ग्रेसको भने तारिफ गरेको थियो । ‘लेसली अन्त्यन्त प्रतिभाशाली अभिनेत्री हुन् । फिल्म रिलिज नगर्ने निर्णय उनीसँग सम्बन्धित भने छैन,’वार्नरका प्रवक्ताको प्रतिक्रिया थियो । वार्नर ब्रोजले ‘ब्याटगर्ल’सँग ‘स्कुबा होलिढ हन्ट’मा रिलिज नगर्ने निर्णय गरेको थियो । तर वार्नर ब्रोजले दुवै फिल्मका कलाकारसँग भविष्यमा काम गर्ने वाचा गरेको छ । 

वार्नर ब्रोज र डिस्कभरीको मर्जरपछि पहिलोपल्ट यस्तो अनौठो निर्णय भएको हो । दुवै कम्पनी सन् २०२१ को मेमा एक भएका थिए । कम्पनीका नयाँ सिइओ डेभिड ज्यास्लले ओटीटीभन्दा पनि हलमा रिलिज हुने फिल्म निर्माणमा जोड दिइरहेको बताइएको छ । 

फिल्म समीक्ष्कले  फिल्म निर्माणमा ठूलो बजेट खर्चिएर पनि रिलिज रोक्ने निर्णय भएको यो अनौठो घटना भएको बताएका छन् ।  यसअघि हलिउड ४ वटा फिल्म मात्र यसरी रोकिएको उनीहरूको भनाइ छ । हलिउडमा झण्डै निर्माण बराबरकै रकम प्रचार प्रसारमा पनि खर्चनुपर्ने हुन्छ । रिलिजका लागि थप खर्च हुने र ओटीटीमा रिलिज गर्दा पनि कम्पनीको ब्रान्डलाई असर गर्ने भएको हुँदा कम्पनी फिल्म रिलिज नगर्ने निर्णयमा पुगेको पनि अनुमान गरिएको छ । 
 


Author

थप समाचार
x