सिनेमा

केकी–आँचलको ‘झिँगेदाउ’ ट्रेलर : उहिलेको नेपाल कमेडी फ्लेबरमा

इकागज |
साउन २२, २०७९ आइतबार १५:४४ बजे

काठमाडौँ - केकी अधिकारी र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ट्रेलरले उहिलेको नेपाली समाजलाई प्रतिविम्बित गरेको छ । पहिला पहिला सगोलमा बस्दा नेपाली समाजमा हुने देउरानी जेठानीबीचको मपाइँत्वको लडाइँलाई  फिल्मले विषय बनाएको छ । 

फिल्ममा केकी अधिकारीले जेठानी र आँचलले देउरानीको भूमिका निर्वाह गरेका छन् । मुकुस भुसाल र कुशल बिष्टले दुवैको श्रीमान्को भूमिका निर्वाह गरेका छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्म भिमनिधी तिवारीको यही नामको कथामा आधारित रही निर्माण गरिएको हो । कथालाई पटकथामा रुपान्तरण गर्ने काम प्रदीप भारद्धाजले गरेका हुन् । 


विष्णु घिमिरे ‘कल्पित’ले खिचेको फिल्ममा संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बरालको पनि अभिनय छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।फिल्म भदौ १७ मा हलमा रिलिज हुँदैछ । फिल्मको ‘आगोविना बिंडी जल्दैन’ हिट रहेको छ । 


 


Author

थप समाचार
x