सिनेमा

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा

इकागज |
साउन २६, २०७९ बिहिवार १६:१३ बजे

काठमाडौँ  - केही समयअघि मात्र मन्त्रिपरिषद्को निर्णयबाट रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्षमा मनोनयन भएका भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध मुद्दा परेको र दर्ता प्रक्रियामा रहेको पुष्टि गरे ।

‘उहाँको नियुक्तिमाथि प्रश्न उठाउँदा मुद्दा परेको छ । अहिले त्यो दर्ता प्रक्रियामा छ,’उनले इकागजलाई प्रतिक्रिया दिँदै भने । उनले निवेदकको नाम भने उल्लेख गर्न चाहेनन् । प्रवक्ता पौडेलले भुवन केसीसँगै प्रतिस्पर्धामा रहेका व्यक्तिले नै मुद्दा दर्ता गराएको बताए ।


विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको छ ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

भुवन केसीले जेठ २१ देखि रिक्त रहेको पदमा मनोनयन पाएका थिए । निवेदकले भुवन केसीको शैक्षिक योग्यतालाई लिएर मुद्दा दर्ता गरेको आशंका गरिएको छ । सार्वजनिक पदमा नियुक्तिका लागि स्नातक तह उत्तीर्ण गर्नुपर्ने प्रावधान रहेको र भुवन केसीले नियुक्तिको समयमा सोको प्रमाणपत्र पेश नगरेको चर्चा थियो । 


Author

थप समाचार
x