सिनेमा

स्टारडमको बहसमा कुदेका धिरज मगर भन्छन्– म स्टार बन्न वा म कसैको ठाउँ लिन आएको होइन

इकागज |
साउन ३१, २०७९ मंगलबार १०:३६ बजे

काठमाडौँ - धिरज मगर अभीनित तेस्रो फिल्म प्रदर्शनको क्रममा छ । ‘इन्टु मिन्टु लन्डन’बाट नेपाली फिल्ममा डेब्यू गरेका धिरजले दोस्रो फिल्मको रुपमा ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरेका थिए तर यो फिल्मले अझै प्रदर्शनको पालो जुराउन सकेको छैन । योभन्दा पछि सुटिङ गरिएको फिल्म ‘बाबरी’ अबको डेढ महिनापछि नेपालको हलमा लाग्नेछ ।

सोमबार यो फिल्मको ट्रेलर सार्वजनिक गरियो । ट्रेलर सार्वजनिक कार्यक्रममा दयाहाङ राईको नक्कल गरेको कुरामा स्पष्टिकरण दिन बाध्य भएका धिरजले एउटा प्रसंगमा भने आफू नेपालमा स्टार बन्न वा कसैको स्टारडम खोस्न नआएको बताएका थिए ।‘म नेपालमा स्टार बन्न वा कसैको स्टारडम खोस्न आएको होइन । म यहाँ आफ्नो ठाउँ बनाउन आएको हुँ र यसका लागि संघर्ष गरिरहेको छु,’उनले ट्रेलर रिलिज पछि चलेको अन्तक्र्रिया कार्यक्रम पत्रकारका प्रश्नको जवाफ दिँदै भने । 


पछिल्लो दिनमा प्रदीप खड्काले आफू स्टार रहेको र बल्ल नयाँ फिल्मबाट कलाकार बनेको बताएपछि उनको अभिव्यक्तिले सानो तरंग सिर्जना गरेको थियो । योभन्दा पहिले फिल्ममेकरको एउटा तप्काले अनमोल केसीलाई मेगास्टार उपाधि दिँदै उनी नेपालको सबैभन्दा ठूलो स्टार रहेको दाबी गर्ने गरेको थियो । धिरज मगरलाई यिनै दुईको स्थान लिने सम्भावित अनुहारको रुपमा चर्चा भइरहँदा धिरजले भने आफू कसैको पनि ठाउँ खोस्न नआएको बताएका थिए । 

कार्यक्रममा धिरजले दयाहाङ राईको ‘कबड्डी’ सिरिजको काजीको चरित्र नक्कल गरेको सन्दर्भमा भने आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए । उनले काजी भएका कारण दुवैको शैली एकै जस्तो लागेको भए पनि पूरा फिल्ममा आफूले निर्वाह गरेको काजी फरक रहेको दाबी गरेका थिए ।

‘म दयाहाङ राईको प्रशंसक हुँ र उहाँलाई हेर्दै हुर्किएको हुँ । उहाँसँग तुलना हुनुलाई मैले असलै मानेको छु तर मैले उहाँको नक्कल गरेको हैन । काजीहरू यस्तै नै हुन्छन्,’ उनले भने । असोज १४ मा सार्वजनिक हुने फिल्ममा तृप्ति नाडकरका छोरा धिरज नाडकरले पनि डेब्यू गर्दैछन् । भारतमा मोडलको रुपमा काम गरिरहेका धिरजले फिल्मबाट आमाले पाए जत्तिकै माया पाउने विश्वास व्यक्त गरेका थिए । फिल्ममा दुवैको केन्द्रमा अदिती बुढाथोकी रहेकी छिन् । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । 


Author

थप समाचार
x