सिनेमा

‘प्रेमगीत ३’को हिन्दी डबको तरङ, नेपाली फिल्मको रिलिज क्यालेन्डरमा व्यापक हेरफेर

इकागज |
साउन ३१, २०७९ मंगलबार १३:३१ बजे

काठमाडौँ - ‘प्रेमगीत ३’ हिन्दी टिजर सार्वजनिक भएसँगै नेपाली फिल्मको रिलिज क्यालेन्डरमा उलटफेर हुन थालेको छ । कसै गरी नचटपाउने अड्डी गरेर बसेको नेपाली फिल्म पालैसँग दायाँबायाँ गर्न लागेका छन् । 

‘प्रेमगीत ३’को हिन्दी डबिङको चर्चा पुरानो थियो तर फिल्मकर्मीले यसले नेपाली फिल्मलाई असर गर्ला भन्ने सोचेकै थिएनन् । किनकि सुरुमा यो फिल्म ओटीटीका लागि मात्र डबिङ भइरहेको चर्चा थियो । तर केही दिनअगाडि हिन्दीमा डबिङसँगै हलमा पनि लाग्ने खबर फैलिएसँगै यो फिल्मको वजन ह्वात्तै बढेको छ । यो फिल्मको अगाडि वा पछाडि रिलिज गर्नु फाइदाजनक नभएको भन्दै नेपाली फिल्मकर्मीले धमाधम प्रदर्शन मिति हेरफेर गर्न थालेका छन् ।


महामारी सकिएर फिल्म रिलिज सहज हुन थालेपछि निर्माताले ताकेको सबैभन्दा महत्वपूर्ण मिति थियो भदौ ३१ । यो मितिमा तीन नेपाली फिल्म, ‘लाखे’, ‘झिँगेदाउ’ र ‘बाबरी’ ले प्रदर्शन मिति सार्वजनिक गरेका थिए । तर ‘प्रेमगीत ३’ यसको एक हप्तापछि अर्थात असोज ७ मा आउने भएपछि अहिले तीनै फिल्मले मैदान छाडिसकेका छन् । ‘झिँगेदाउ’ दुई हप्ता अगाडि नै आउने निर्णय यसअघि नै गरिसकेको थियो भने बाँकी दुई फिल्मले पालैसँग नयाँ मितिमा आउने निर्णय गरेका छन् । ‘लाखे’ले काम नसकिने भन्दै सरेको घोषणा गरेको थियो भने ‘बाबरी’ सरेर असोज १४ मा पुगेको छ । 

यतिमात्र होइन असोज १४ लाई प्रदर्शन मिति राखेर टिजर र गीत सार्वजनिक गरिसकेको ‘परदेशी २’ पनि अन्तिम समयमा आएर रिलिज सार्दै फागुनमा पुगेको छ । निर्माताले प्राविधिक कारण देखाउँदै फिल्म सार्नुपरेको बताए पनि उनीहरूलाई ‘प्रेमगीत ३’को तर्साएको कसैबाट लुकेको छैन ।

दुई दिनअघि मात्र फिल्म रिलिज सारेको ‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेलले पनि प्राविधिक कारणले फिल्म सार्नु परेको बताएका थिए । तर एक हप्तापछि रिलिज हुने ‘प्रेमगीत ३’ले हलबाट विस्थापित गरिदेला भन्ने डरले यो फिल्म पनि दुई हप्तापछि सरेको आशंका गरिएको छ । यसैबीच ‘प्रेमगीत ३’को हिन्दी भर्सन पनि नेपालमा रिलिज हुने कुरा आएको छ । यसले पनि बाँकी नेपाली फिल्मलाई असर गर्ने चर्चा सुरु भएको छ । 


 


Author

थप समाचार
x