सिनेमा

‘डर्टी पिक्चर’को सिक्वेल बनाउने तयारीमा एकता

इकागज |
साउन ३१, २०७९ मंगलबार १४:३२ बजे

काठमाडौँ -११ वर्षअघिको सुपरहिट फिल्म ‘डर्टी पिक्चर’को सिक्वेल बन्ने भएको छ । महिला केन्द्रित र महिला नै मुख्य भूमिका भएको फिल्म दर्शकले हेर्दैनन् भन्ने मान्यता रहेका बेला विद्या बालन अभीनित यो फिल्मले ८० करोड नेट कमाइ गरेको थियो ।

यसको ११ वर्षपछि बालाजी फिल्मले यसको सिक्वेल बनाउने तयारी थालेको समाचार छ । समाचारअनुसार लेखक कनिका ढिल्लोनले अहिले यो फिल्मको कथा लेखिरहेकी छिन् । उनले ‘मनमर्जियाँ’, ‘हसिन दिलरुबा’, ‘रश्मिरकेट’ आदि फिल्म लेखेकी छिन् ।


एकताले फिल्म बनाउने तयारी गरेसँगै हिरोइनहरू यो फिल्म खेल्ने इच्छासहित एकता कपुरको सम्पर्कमा पुगेको खबर छ । समाचारमा उल्लेख भएअनुसार दोस्रो भागमा काम गर्नलाई तापसी पन्नू र कृति सेननले इच्छा जाहेर गरिसकेका छन् । यता एकताले भने कंगना रनावतलाई यो फिल्ममा काम गर्न आग्रह गरेकी थिइन् । तर आफ्नो सदाचारी इमेजलाई असर गर्ने भन्दै कंगनाले सो फिल्म इन्कार गरेको खबर छ । 

मिलन लुथरियाले निर्देशन गरेको सो फिल्म दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताको जीवनीमा आधारित थियो । ‘सेक्स साइरन’नामले परिचित सिल्कले उमेर ढल्कँदै गएपछि एक्लो जीवन बिताउनु परेको थियो । विद्या बालनले जीवन्त बनाएको यो भूमिकाका लागि उनले राष्ट्रिय पुरस्कारसँगै अनेक अवार्ड जितेकी थिइन् । 
 


Author

थप समाचार
x