सिनेमा

सिनेमा समीक्षा

'प्रकाश'को अँध्यारो कथा

सामीप्यराज तिमल्सेना |
भदौ १२, २०७९ आइतबार १२:११ बजे

हलो जोतिरहेको प्रकाश रोकाया (प्रदीप खड्का) आकाशमा हवाइजहाजको आवाज सुनेर जिल्ला शिक्षा कार्यालयतिर दौडिन्छ । ऊ बेतोडले दौडिरहँदा मलामीले बाटो छेकेका छन् ।  ऊ पर्खालको माथिमाथि हुँदै आफ्नो गन्तव्यतिर दौडिन्छ । लासलाई टाढैबाट ढोगेर जुम्लाको जिल्ला शिक्षा कार्यालयको भित्तामा टाँसिएको सूचीमा आफ्नो नाम खोज्छ । नेपाली समाजमा बाटोमा लास भेटिनु साइतको संकेत हो । मतलब प्रकाशको नाम पनि यो सूचीमा भेटिन्छ । छोराले जोत्दा जोत्दै अलपत्र छाडेका गरा र गोरु प्रकाशकी आमा (दिया मास्के)ले सम्हाल्छिन् । प्रकाश आफूले प्रावि शिक्षक लाइसेन्समा नाम निकालेको खुसी अप्ठेरो गरी सेलिब्रेट गर्छ । दर्शकलाई पर्न सक्छ, खुसी बारम्बार सेलिब्रेट गरिरहने चरित्र भए पो ढंग मिलाएर सेलिब्रेट गर्दो हो । आफ्नै शैलीमा छोरो खुसी मनाउँछ । आमाले पनि बिरामी भएको प्रयांक गरेर छोराको खुसीमा सही थाप्छिन् । यसरी 'प्रकाश'को कथा सानदार तरिकाले सुरु हुन्छ । 

चलचित्रको सुरुमै आउने यी दृश्यले कथाको भूगोल, चरित्रको लक्ष्य र लक्ष्य प्राप्त गर्ने अवस्थितिको चित्रण गर्छन् । हवाइजहाजको आवाज सुनेर सदरमुकामतिर कुद्ने प्रकाशको यो दृश्यले कर्णाली वा कथाको भावभूमि रहेको जुम्लाको तिर्खु गाउँमा सूचनाको विकटताको कथा बयान गर्छन् । प्रकाश सरकारी शिक्षक बन्न चाहन्छ र उसको चाहनामा के के अवरोध छन् फिल्मको एकसरो कथा यही उत्तरको सेरोफेरोमा गएर टुंगिएको छ । 


प्रकाश सानो क्लासमा पढ्ने, कथित सानो कास्टकी राधा (रेनु योगी)सँग प्रेम गर्छ । कमजोर आर्थिक स्थिति भएको प्रकाश बिहे बटुलोमा भान्सेको काम पनि गर्दिंदो हो सायद । भतेर पकाइरहेको समयमा राधा प्रकाशछेउ आउँछे । प्रकाश राधासँगको प्रेमलाई विवाहमा परिणत गर्ने अठोट गर्छ । जवाफमा राधा भन्छे, ‘यो बान्नो कसले भत्काउँछ ?’ क्यामरामा दुवैलाई कम्मरकम्मर छेकिरहेको ढुंगाको पर्खाल पर्दामा खुल्छ ।  ‘कसैले न कसैले त यो बान्नो भत्काउनै छ,’ प्रकाश थप्छ ‘यी मैले आज एउटा ढुंगा हटाएँ ।’ प्रकाशले ढुंगाको एउटा टुक्रा राधाको हातमा राखिदिन्छ । राधा एउटा हिम्मतसहित ओझेल हुन्छे । 

नेपाली सिनेमामा विरलै देखिने सशक्त दृश्य हो यो जसले निमेषभरमै कर्णालीमा रहेको जातीय छुवाछूतको गहिराइ बयान गर्छ । प्रकाशमा दिनेश राउतले सिर्जना गरेको सशक्त दृश्य भाषा यही सन्दर्भमा अर्को पनि देख्न सकिन्छ जब राधालाई बाबुले कसै गरी पनि प्रकाशसँग विवाह नगरिदिने वचनपछि राधा मन मारेर प्रकाशलाई आफ्नो जीवनबाट बिदा गर्छे । मन परेको मान्छेलाई मन नलाग्दा नलाग्दै बिदा गर्नुपरेको चोटले राधाका खुट्टा लर्बरिन्छन् । सहारा खोज्दै राधा भित्तामा अडेस लाग्छे । जुन भित्तामा राधा अडेस लाग्छे, त्यहाँ क्रान्तिकारी नारा लेखिएको हुन्छ । दिनेश राउतले यस्ता केही दृश्यमा गज्जब कौशल देखाएका छन् ।  

तर के केही दृश्यमा सशक्त देखिएका निर्देशक दिनेश राउत फिल्मभरि यसैगरी उपस्थित छन् त ? छैनन् । भन्न खोजेको कथामा स्पष्ट छैनन् । जुम्लाका सामाजिक मुद्दालाई तहदेखि नै पर्गेल्न सकेका छैनन् । निर्देशककीय पाटोमा पनि अपेक्षित रूपमा परिपक्व महसुस हुँदैनन् ।

सबैभन्दा पहिला कथाको कुरा गरौँ । कथाको सुरुवातको दृश्यले फिल्मको मूलकथा प्रकाशको सरकारी शिक्षक बन्न चाहनामा केन्द्रित रहेको बुझाउँछ । फिल्मको अन्त्य पनि यही चाहनाको पटाक्षेपसँगै भएको छ । तर लेखक÷निर्देशक मुख्य पात्रको यो प्राप्तिमा बाधक तत्वको पहिचान गर्न असमर्थ भएका छन् । अथवा उनीहरूले पहिचान गरेको त्यो बाधक शक्ति विश्वसनीय छैन र फिल्मले चाहेर पनि नचाहेर पनि नेपालको शिक्षा प्रणाली बिकाउ रहेको संकेत दिन्छ । जुम्लामा सरकारी शिक्षक बन्न पैसा खुवाउनैपर्छ भन्ने सन्देश फिल्मले दिएको छ, त्यो पनि भ्रष्ट सरकारी एजेन्सीलाई एकपटक पनि स्थापित नगरी । फिल्मले आरक्षण प्रणालीमाथि पनि व्यंग्य गर्न खोजेको छ, जुन फिल्मको बलियो सहायक प्लट बन्न सक्थ्यो । तर यहाँ पनि लेखक÷निर्देशक यो मौका उपयोग गर्न चुकेका छन् ।

आरक्षणको कुरा गरिरहँदा यथार्थ के हो भने कर्णाली आफैँ पनि सानै प्रतिशत सही, देशभरि आरक्षण पाइरहेको क्षेत्र हो । तर त्योभन्दा संगीन अवस्था हो, कर्णाली बाहिरका मधेसी वा जनजातिले कर्णाली गएर त्यहाँका स्थानीयको ‘भाग’ खाइरहेको अहिलेको अवस्था । अनि योसँगै बुझ्नुपर्ने अर्काे सत्य पनि के पनि हो भने, मधेसमा वा अन्य प्रदेशमा पिछडिएका क्षेत्र भनिने कर्णालीसहितका नौ जिल्लालाई आरक्षणको ‘भाग’ मिल्छ, त्यसमा प्रकाश रोकायाहरू पनि पर्छन् । फिल्मले एउटा दृश्यमार्फत यो अवस्थातर्फ इंगित त गरेको छ तर यो प्लटमा डिटेल नहुँदा फिल्ममा यो मुद्दा स्थापित भएको छैन । अरुले आरक्षणको भाग खाइरहेको देखाउन खोज्दा प्रकाश स्वयं पनि यसबाट लाभान्वित हुनसक्थ्यो भन्ने कुरा लेखक÷निर्देशकले हेक्का राखेको देखिँदैन । ऊ कर्णालीमा क्षत्री भएका कारण खुलामा भिड्न बाध्य भएको हो तर कर्णालीबाहिर गएर उसले पनि आरक्षण कोटामा भिड्न पाउँछ । तर योभन्दा पनि शिक्षा जस्तो क्षेत्रमा आरक्षणभन्दा पनि योग्य मान्छेको जरुरी छ भन्ने कुरालाई फिल्मले उठाएको भए सम्भवतः फिल्मको स्टेटमेन्ट बलियो बन्थ्यो । 

अनि फिल्मको मूलकथालाई सकेसम्म डिटेलमा देखाउँदा दर्शकमा पर्ने प्रभाव पहिचान गर्न पनि फिल्म चुकेको छ । जस्तो कि प्रकाशले लिखित परीक्षा दिएको त देखाइएको छ तर मौखिकमा उसलाई कस्ता प्रश्न सोधियो र त्यसको उत्तर प्रकाशले कसरी दियो भन्ने डिटेल फिल्ममा भएको भए मुख्य पात्रको यात्रामा दर्शक झन् मज्जाले एकाकार हुनसक्थे । पटकथामा यस्ता धेरै ‘एक्स्पोजिसन’ छुट्दा फिल्म मूल भुल्कोमा छिर्नै सकेको छैन । किनारामा अलमल अलमल गरेरै सकिन्छ । 

लेखक÷निर्देशकले जुम्लाको समाज अझै गहिरो गरी बुझेनन् कि भन्ने निष्कर्षमा पुग्नलाई प्रकाश र राधाको प्रेमकथाले पनि सघाएको छ । माओवादी सशस्त्र विद्रोहको मूल थलो भए पनि कर्णाली प्रदेशमा जातीय छुवाछूतका घटना धेरै भएका छन् । त्यो ठाउँमा यसरी प्रेम गर्नु परिवार त के, छिमेकीलाई पनि सह्य हुँदैन । तर एउटा दृश्यमा दिनदहाडै प्रकाश र राधा लामै गफ गरिबस्छन् । दलितसँग प्रेम गरेको निहुँमा सामूहिक हत्या गर्ने भूगोलमा यसरी खुल्लमखुल्ला प्रेम गर्ने वातावरण छ कि छैन ? प्रगतिशील दृष्टिकोण त दिनुपर्छ तर त्यहाँ अवरोधसहितको प्रगति देखाइयो भने त्यो स्वाभाविक हुन्छ । कर्णाली जनसंख्यामा पनि दलित बाहुल्य क्षेत्र हो तर जसरी दलित समस्याका पीडालाई यहाँ छिपाइएको वा सामान्यीकरण गरिएको छ, अवस्था त्यस्तो छैन । चाहे गरिब बाहुनक्षत्री होऊन् या ‘धनीमानी’ दलित समुदाय, समस्या फरक खालका छन् तर तिनको सुस्केरा साझा छ । यी सबै पीडित समूह नै हुन् । यतातिर फिल्म मौन छ । फिल्मले प्रधान रुपमा के देखाउन खोजेको हो, अलमलमा छ । फिल्म एकपक्षीय दलीय मुद्दाको दलदलमा भासिएको छ । 
राधाको जातीय दमनका अघि प्रदीपको वर्गीय शोषणको समस्या मूल जस्तो बनेको छ । यसमा निर्देशकले वर्ण व्यवस्था र वर्ग व्यवस्थाबीचको संघर्ष उभ्याएकै छैनन् । दर्शक, समीक्षकले बढी बुझिदिनुपरेको छ । 

प्रकाशकै सरकारी शिक्षक बन्न चाहने फिल्मको कथाको कुरा गर्दा अर्को प्रश्न पनि दिमागमा आउँछ । मुख्य पात्रको बुबा सूर्यबहादुर रोकाया सशस्त्र युद्धमा विद्रोही पक्षको लडाकु थियो । जगजाहेर छ उसबेलाको विद्रोही त्यससमय चलेको शिक्षालाई बुर्जुवा शिक्षा भन्थ्यो र त्यसलाई खारेज गर्नेुपर्ने मागसहित युद्धमा थियो । तर जुन शिक्षा नै खारेज गर्नुपर्छ भन्ने मागसहित सूर्यबहादुर सत्तासँग लडिरहेको थियो छोरालाई त्यही सत्ताको शिक्षक बनाउने सपना सूर्यबहादुरले किन देख्यो ? 

मुख्य पात्रको लक्ष्य हुनु कुनै पनि कथाका लागि त्यति नै महत्वपूर्ण हुन्छ जति कथामा मुख्य पात्रले त्यो प्राप्त नगर्दा हुने ‘रिस्क’ स्थापित हुन्छ । ‘प्रकाश’को एउटा समस्या यो ‘रिस्क’ स्थापित नहुनु पनि हो । मानौँ न प्रकाशले सरकारी शिक्षकमा नाम ननिकाल्दा उसले के के गुमाउन सक्थ्यो ? फिल्मले यो उत्तरको स्पष्ट जवाफ दिँदैन त्यही हुनाले फिल्म सही ‘इन्टेन्ट’का साथ बनाउँदा बनाउँदै पनि सशक्त बन्न सकेको छैन । कथा चरित्रलाई छाडेर समाजमा नछिर्दा पनि लेखकले दाबी गरेझैँ फिल्म कर्णालीको कथा भन्ने पनि महसुस गराउन चुकेको छ । यसले यो कथा जुम्लामै गएर खिचिनुपर्ने आवश्यकता पनि जस्टिफाइ गरेको छैन । 

यो फिल्मको अर्को बिझाउने पाटो कथामा छिरेको माओवादी पार्टीको चरित्र चित्रण  हो । दोस्रो हाफमा हाबी भएको यो कथाले न मुख्य पात्रको यात्रालाई अप्ठेरो बनाउँछ, न कर्णालीको राजनीतिक इतिहासलाई सही तरिकाले अभिव्यक्त गर्छ ।  फिल्ममा माओवादी पार्टीलाई असाध्यै सामान्यीकरण गरेर गरिब तथा सर्वहारा वर्गको थिचोमिचो गर्ने र उनीहरूको कमजोरीबाट कमाउने पार्टीका रूपमा स्थापित गरिएको छ । माओवादी पार्टीको विचलनलाई लिएर सर्जकले धारणा बनाउन सक्ला, लेख्न, बोल्न र सिनेमा बनाउन पनि सक्ला तर त्यो कुरा सांकेतिक रूपमा गर्ने कि ठाडठाडै गर्ने सर्जकको कलात्मक चेतको कुरा हो । तर सन्तुलन नगरी एकतर्फी रूपमा माओवादी हदैसम्मको गलत हो भन्दा सर्जक पोलिटिकल करेक्टनेसको बहसमा जवाफदेही बन्नुपर्ने हुन सक्छ । तर युद्धमा अपाङ्ग बनेको चरित्रले ‘रङ बदल्नेहरू महलतिर जाने रहेछन्, रगत बगाउनेहरू किनारामा’ले सशस्त्र युद्धको परिणतिको कथा बयान गर्छन् । पटकथा लेखक विकास सुवेदीले फिल्मभरि धेरै ठाउँमा यस्ता संवाद लेखेका छन्, जुन सशक्त छन् । 

तर विकास सुवेदीको पटकथा भने असरल्ल छ । मूल कथामा फिल्म अडेको छैन सहायक कथा स्थापित छैन । जस्तो कि प्रकाश घिमिरे कोसँग चुनाव लडिरहेको हो, फिल्मले देखाउँदै देखाउँदैन । प्रकाश घिमिरेको विपक्षी दर्शकलाई परिचित नगराई चुनाव प्रचार प्रसारमा जानु र जित्नु कथालाई रत्तिभर प्रभाव नपार्ने प्लट हुन् । दर्शकले यत्ति कुरा नबुझ्ने हैनन् बुझछन् पनि होला तर विपक्षी नदेखाउँदा युद्धमा जसले जिते पनि हारे पनि केही मज्जा हुन्न । किनकि खेलमा हारजित मात्र हुन्न जब त्यसमा दर्शकको इमोसन जोडिन्छ, बल्ल त्यो खेल रोचक हुन्छ ।

फिल्मको अन्त्य प्रकाशको कमजोर कडी हो । फिल्मको अन्त्यमा सारा घटना एकैचोटि खात लागेका छन् । सबैभन्दा पहिला प्रकाशको नाम निस्कँदैन, फर्केर आउँदा बाटोमा प्रेमिकाको अर्कैसँग विवाह भइरहेको हुन्छ र यो चोटमा पनि खुइय गर्न नपाउँदै आमासँग प्रकाशको वियोग हुन्छ । यसपछि प्रकाशले जे गर्छ, त्यो पनि अपेक्षित हुँदैन । 

फरक कथा भन्दै गर्दा निर्देशक दिनेश राउत उनकै पूर्वफिल्म ‘क्लासिक’ मोडमा गएका छन् जहाँ चरित्र एकपछि अर्को रोग लागेर चरम दुःखमा पुग्छन् । संवेदनाका लागि चरित्र मार्ने फर्मुला मसला फिल्ममा पनि बासी भइसके । यो धारका सिनेमामा त यस्ता घटना ‘क्लिसे’ लाग्छन् । फरक कथा भनिरहँदा निर्देशक यस्ता क्लिसेबाट बच्न जरुरी छ ।

कथा र प्रस्तुतिको अलमलबीच पनि ‘प्रकाश’ निर्माण टिमको इमानदार प्रयास हो । यसले नेपाली भूगोलको नेपाली कथा वाचन गरेको छ त्यो पनि आफ्नै शैलीसहित । र, यो कथा वाचनलाई कलाकार र प्राविधिकले सचेतताका साथ सघाएका छन् । प्रेमकथामा अभिनय गरिरहेका प्रदीप खड्काले जुम्ली लवज टिपेका छन् र बडी ल्याङवेजमा राम्रो पनि काम गरेका छन् । गरिबी र प्रणालीले ‘सप्रेस्ड’ बनाएको युवाको भूमिकामा उनको रूपान्तरण सुहाएको छ । तर प्रदीपले यो मेहनतलाई  कलाकारको नियमित कामको रूपमा बुझ्नुपर्छ किनकि उनका फ्यानलाई पनि प्रदीपले अभिनयमा उचाइ हासिल गरेको हेर्ने हक हुन्छ न कि सधैँ मेहनतको नाममा कपाल पालेका वा जिम गएर ज्यान बनाएको । हुुनुपर्ने सबै कलाकार भर्सटाइल नै हो तर यो धेरै कम हुँदा प्रदीपको अलिकति मेहनत पनि उत्पात लागेको हो ।

कलाकारका रूपमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, लोकेन्द्र लेखक, रेनु योगी सबै सशक्त छन् । राधाको बाबुको रोलमा खेलेका कलाकारको अभिनय स्वाभाविक र सुन्दर छ । तर यो फिल्ममा पर्दा पछाडि रहेर उत्कृष्ट काम गरेका छन्, शैलेश श्रेष्ठ र उत्तम न्यौपानेले । शैलेश श्रेष्ठको पाश्र्व संगीतले दृश्यको भावलाई न्याय गरेको भने उत्तम न्यौपानेको लोकेसन तथा सिंक साउन्डले फिल्मलाई प्राविधिक रूपमा बलियो बनाएको छ । तर छायांकन र रंग संयोजनको छनोटलाई भने उति धाप मार्न सकिन्न । कर्णालीको रुखो भूगोललाई अभिव्यक्त गर्न उजाड रंग छनोट गरिएको हो भने जुन कथा जुन भूगोलमा खिचिएको हो फिल्म पनि उही टोनमा छाडिदिए के हुन्छ ? यथार्थवादी फिल्मलाई प्राविधिक रूपमा नक्कली किन बनाउने ? निर्देशकहरूसँग पक्कै यसको जवाफ हुँदो हो । 

नेपाली समाजमा आफ्ना सन्तानको नाम प्रकाश, सूर्यबहादुर, प्रदीप राखिन्छ ताकि तिनको जिन्दगी नामझैँ चम्किलो होस् । तर जो ख्याउटे हुन्छ उसैको नाम बलबहादुर भएझैँ यस्तैको जिन्दगीमा भने प्रकाश वा सूर्य हुँदैन । मलामीको दृश्यबाट सुरु र अन्त्य हुने ‘प्रकाश’लाई उज्यालाहरूको मलामी भन्न सकिन्छ ।

प्रकाशको यात्रा अँध्यारोमा टुंगिए पनि यस्ता प्रयत्नले नेपाली फिल्म र प्रदीपहरूको अभिनय यात्रा भने उज्यालो हुन्छ । यो फिल्मको अन्त्यमा प्रकाश उत्तेजना र आक्रोशमा आएझैँ असली जिन्दगीमा पनि प्रदीपहरू त्यो स्टार दुनियाँ र यो कलाकार दुनियाँ जस्ता शब्दको चक्करमा आएनन् भने उनको कलायात्रा प्रकाशमय छ । 
धेरै विषय लिइएको तर कुनैमा पनि गहिरो अनुसन्धान नगरिएको, बहस नउठाइएको फिल्म हो— प्रकाश । न यो शैक्षिक, न यो राजनीतिक, न यो सामाजिक फिल्म नै बनेको छ । कलात्मक भन्नका लागि पनि स्वाभाविक अभिनयबाहेक अरु तत्व पुगेको छैन ।

निर्देशक : दिनेश राउत
लेखक : विकास सुवेदी
छायांकार : राजेश श्रेष्ठ
कलाकार : प्रदीप खड्का, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, लोकेन्द्र लेखक, रेनु योगी आदि ।

 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x