सिनेमा

‘प्रेमगीत ३’ र भुवन केसीबीचकाे विवाद : 'चिची र पापा' दुवैकाे लाेभले निम्त्याएकाे समस्या

सामीप्यराज तिमल्सेना |
असोज २, २०७९ आइतवार १४:५० बजे

काठमाडौँ- ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डको विवाद उचाइमा पुगेको छ । फिल्मको प्रचार गर्न काठमाडौँमा शनिबार पत्रकार सम्मेलन गरेको ‘प्रेमगीत ३’ले फिल्मको कुरा गर्नभन्दा बोर्डले गरेको राजनीति र भुवन केसीको नियतलाई लिएर अनेक प्रश्न गर्‍याे । बोर्ड र अध्यक्ष भुवन केसीले आफ्नो प्रगति देख्न नसकेर सो टाइममा अंकुश लगाउनेदेखि नेपाली फिल्मलाई हिन्दी फिल्म भनेर रोक्न खोजिएको टिमको आरोप थियो ।

आक्रोश पोख्ने क्रममा त अभिनेता प्रदीप खड्काले भुवन केसीको राजीनामा नै माग गरेका थिए । तलको आलेखमा विवादका कुरा र यसका कानुनी तथा व्यावहारिक पाटोबारे चर्चा गर्ने प्रयत्न गरिन्छ ।


विवाद नम्बर १ : ‘प्रेमगीत ३’ को हिन्दी भर्जनलाई नेपालीसरह मान्ने कि नमान्ने ?

‘प्रेमगीत ३’ र बोर्डबीचको एउटा पेचिलो विवाद ‘प्रेमगीत ३’को हिन्दी डब भर्जनलाई विदेशी सो सरह मान्ने कि नमान्ने विषयमा सम्बन्धित छ । फिल्मको टिमले आफूहरूले नेपाली फिल्म बनाएको र डब गर्दैमा विदेशी भन्न नमिल्ने बताउँदै आएको छ । बोर्डले भने डब भर्जनलाई नेपाली फिल्म मान्न नसकिने र यदि हिन्दीमा रिलिज गर्ने हो भने विदेशी फिल्म सरह प्रक्रियामा आउन मौखिक जवाफ दिएको छ । तर, विकास बोर्डका कर्मचारीहरूका अनुसार अहिलेसम्म ‘प्रेमगीत ३’ले सेन्सरका लागि सिफारिस पाऊँ भनेर ठाडो निवेदन दिनबाहेक अरु कागजपत्र बुझाएको छैन । यसको नेपाली संस्करण भने सेन्सर भइसकेको छ । ‘प्रेमगीत ३’ले हिन्दीमा पुनः सेन्सर गर्न सिफारिस मागेबाटै उनीहरू आफैँले यो फिल्मलाई विदेशी मानेको अर्थ लगाउन सकिन्छ । यदि यो नेपाली नै हो भने दुई/दुईपटक सेन्सर गर्न किन आवश्यक पर्‍याे ? निर्माण टिमले स्पष्ट जवाफ दिन सकेको छैन । तर, बोर्डले हिन्दी वा अंग्रेजी भाषामा रिलिज हुने फिल्मलाई विदेशी सरह व्यवहार गर्दै आएको छ ।

यो फिल्मका एक वितरकले भने हिजोका दिनमा विदेशीले बनाएको ‘क्याराभान’लाई नेपाली सरह सुविधा दिने, अंग्रेजीमा खिचेर नेपालीमा डब गरिएको ‘म्यान फ्रम काठमाडौँ’लाई विदेशी सरह प्रक्रिया पूरा गर्नु नपर्ने तर नेपाली फिल्मले चाहिँ हिन्दी डब गर्‍याे भन्दैमा विदेशी हुनुपर्ने ? भन्दै प्रश्न गरेका छन् । उनको प्रश्नको बोर्डसँग जवाफ छ कि छैन यो एउटा पाटो भयो तर निर्माण टिमले नेपाली भर्जनसँगै हिन्दी भर्जन रिलिज गर्ने औचित्य भने पुष्टि गर्न सकेको छैन ।

पाठकलाई जानकारी ‘क्याराभान’ डोल्पो भाषामा बनेको फिल्म थियो भने अंग्रेजीमा खिचिएको ‘म्यान फ्रम काठमाडौँ’को नेपालीमा डबिङ गरिएको थियो । अहिले क्लिन फिडका कारण बलिउडका विज्ञापन पनि नेपाली भाषामा स्वरांकन भएर मात्र सार्वजनिक हुन पाउँछन् । यस्तोमा ‘प्रेमगीत ३’ टिमले नियम कानुनमाथि रहेर भावनात्मक रूपमा सबै कुरामा छुट खोज्नु नियमसंगत लाग्दैन । कानुनकै कुरा गर्दा फिल्मले स्वरांकन आदिका लागि लिनुपर्ने अनुमति नलिएको पनि कुरा आइरहेका छन् । बोर्डले निहुँ नै खोज्ने हो भने यस्ता कुरामा निहुँ खोज्न सक्छ तर यतातिर लाग्नु कसैका लागि पनि हितकर छैन ।

निर्माताले मधेसी बेल्टका दर्शकसँगै हिन्दी भाषीको मागलाई मध्यनजर गर्दै हिन्दीमा रिलिज गर्ने निर्णय गरेको बताएका छन् तर यो तर्कमा समस्या छ । त्यो समस्या के हो भने निर्माताले मधेसलाई हिन्दीप्रेमी क्षेत्रका रूपमा मात्र चित्रित गरेका छन् जुन सही होइन । नेपालीपछि दोस्रो धेरै बोलिने भाषा मैथिली हो भने तेस्रो बढी बोलिने भाषा भोजपुरी । थारु चौथो भाषा हो । हिन्दी मातृभाषा त एक प्रतिशतको पनि छैन । हिन्दी मातृभाषा भएका वक्ता ०.२९ प्रतिशत मात्र छन् ।

विदेशमा बजार खोजिरहँदा निर्माताको एउटा कर्तव्य यो पनि हो कि नेपाली फिल्म फिटिक्कै नचल्ने मधेसमा नेपाली भाषामा रिलिज गरेर नेपाली फिल्म हेर्ने आदत बनाउने । तर, फेरि हिन्दीमै त्यहाँका दर्शकलाई देखाउने हो भने नेपाली फिल्मको बजार विस्तार कसरी गर्ने ? विदेशमा सँगै नेपाली फिल्मले नेपालमै पनि बजार खोज्नुपर्नेछ । बजार विस्तारको गफ गरिरहँदा ‘प्रेमगीत ३’ टिमले यो पक्षलाई नजरअन्दाज गर्न मिल्दैन ।

यही विवादमा जोडिएको एउटै कडी हो चलचित्र विकास शुल्कको । अहिले ‘प्रेमगीत ३’ र बोर्डबीच द्वन्द्व बढ्नुका एउटा मुख्य कारण सरकारले विदेशी फिल्मलाई लिँदै आएको यही विकास शुल्क हो । सरकारले विदेशी फिल्मलाई विकास शुल्कका रूपमा १५ प्रतिशत कर लिँदै आएको छ । यदि ‘प्रेमगीत ३’ हिन्दी भर्जनमा आउने हो भने यो शुल्क तिर्ने गरी प्रक्रियामा आउनुपर्छ भन्ने विकास बोर्डको अडान हो । यता निर्माण टिम भने यही शुल्क तिर्न तयार नभएका कारण विवाद सिर्जना भएको हो । यसमा बोर्ड वा सञ्चार मन्त्रालयले कसरी निर्णय लिन्छ ? अब एक/दुई दिनमै स्पष्ट हुनेछ । तर, निर्माण टिमले नेपाली भाषामा पनि रिलिज गर्ने र हिन्दी डब पनि रिलिज गर्ने तर नेपाली सरह सुविधा खोज्नुले निर्माण टिमले ‘चिचीको पनि लोभ पापाको पनि लोभ’ गरेको देखाउँछ । इतिहास बनाउन हिँडेको मान्छेले सही थितिको पनि चिन्ता गर्नुपर्छ । किनकि यो ‘प्रेमगीत ३’को मात्र कुरा होइन भोलिका कैयौँ ‘प्रेमगीत’को कुरा हो ।

विवाद नम्बर २ : सो टाइममा बोर्डको अंकुश

‘प्रेमगीत ३’ले चलचित्र विकास बोर्डसँग चित्त दुखाइरहेको अर्को कुरा हो, बोर्डले अचानक निर्धारण गरेको सो टाइम । बोर्डले केही दिनअघि सार्वजनिक सूचना निकाल्दै हलले विनाअनुमति ११ बजेभन्दा पछि जाने गरी सो टाइम निर्धारण गर्न नपाउने । ‘प्रेमगीत ३’ले यो निर्णय पनि आफूलाई लक्षित गरी ल्याइएको बताउँदै आएका छन् । बोर्डले एकै दिन जारी गरेको सूचनामा एउटामा सेन्सर सिफारिस लिन हप्ता दिनअघि सबै कागजपत्र बुझाउने आदेश जारी गरेको थियो र यो नियम कात्तिक १ गतेदेखि लागू हुने बताइएको थियो । दोस्रो सो टाइम सम्बन्धमा भने बोर्डको सूचनामा यो नियम कहिलेदेखि लागू हुने भनेर उल्लेख गरिएको छैन । केहीले पहिलो नियमझैँ यो पनि कात्तिक १ गतेदेखि नै लागू हुने र यसमा ‘प्रेमगीत ३’ कराउनुपर्ने कुनै कारण नरहेको बताउँदै आएका छन् । तर जबसम्म सूचनामा उल्लिखित नियम यति समयदेखि लागू हुने भनेर समय तोकिन्न त्यो नगर्दासम्म जुन दिन सूचना निस्कियो त्यही दिनदेखि यो लागू भएको अर्थ निस्कन्छ । त्यसैले बोर्डले निकालेको सो टाइम सम्बन्धी सूचनामा ‘प्रेमगीत ३’ सशंकित हुनु स्वाभाविक हो । यसमा बोर्डले समय सीमा तोक्नेभन्दा पनि यदि ग्राहक आउँछन् भने व्यापार गर्नेलाई सक्दो व्यापार गर्न दिने नीति लिनु उपयुक्त हुन्थ्यो । यसमा बोर्डले पूर्वप्रचलित नियमलाई लागू गराउने होइन कि नीति खुकुलो बनाउने रणनीति लिने हो ।

संसारभरका मुख्य-मुख्य सहर रातभर खुल्छन् र यसमा सिनेमाघर पनि पर्छन् । तुलनात्मक रूपमा सुरक्षित हुने सिनेमा हललाई समयको बन्देज लगाउनु राम्रो होइन । यसमा अभिनेता प्रदीप खड्काले गरेको तर्क जायज छ । उनले शनिबार एक पत्रकार सम्मेलनमा रक्सी खाएर हुलदंगा हुने बार र डिस्को चाहिँ रातभरि चल्न हुने सिनेमाघर चाहिँ किन नहुने ? भन्दै प्रश्न गरेका थिए । सिनेमा घरमा फिल्म हेर्न रातभर पनि दर्शक आउँछन् भने उनीहरूलाई आउन दिनुपर्छ । किनकि नागरिकलाई शान्ति सुरक्षा दिने कर्तव्य राज्यको हो । तर, यसमा बोर्डले ११ बजेपछि फिल्म चल्नै नदिने भनेको छैन । खालि चलाउने हो भने अनुमति लिन पर्‍याे भनेको हो र यो कुरा ‘प्रेमगीत ३’भन्दा पनि प्रदर्शकको चासोको कुरा हो । भोलि ‘प्रेमगीत ३’ले मारामार व्यापार गर्दा कालान्तरमा यसका निर्माताले भन्दा हलले कमाउँछन् । दोस्रो सातादेखि प्रदर्शकको सेयर बढ्दै जाने र निर्माताको घट्दै जाने प्रावधान छ ।

धेरै भएको छैन प्रदीप खड्काले हलले हिन्दी फिल्म ‘लाइगर’लाई काखी च्यापेका कारण आफ्नो फिल्म ‘प्रकाश’ले सो नपाएको भन्दै आक्रोश पोखेको । तर, दुई हप्ता नबित्दै प्रदीप त्यही हिन्दी भर्जन रिलिज नभए आफ्नो करिअर नै सकिने गरी चिन्ता गरिरहेका छन् ।

‘प्रेमगीत ३’ निर्माण टिमलाई थाहा छ, नेपाली फिल्मको सदाबहार लडाइँ हिन्दी फिल्मसँग हो । त्यसको प्रभावले नेपाली सिनेमाले सो र दर्शक नपाउने गरेको कुराको भुक्तभोगी ‘प्रेमगीत ३’ टिम पनि हो । त्यसैले कसैले ‘प्रेमगीत ३’लाई किन हिन्दीमा रिलिज गर्ने भनेर प्रश्न गर्‍याे भने ‘प्रेमगीत ३’ले यसलाई आफूविरुद्धको षड्यन्त्रका रूपमा मात्र लिनु हुँदैन । न त यसलाई आफूलाई रोक्ने र सक्ने खेलका रूपमा बुझ्न जरुरी छ ।

भोलि ‘प्रेमगीत ३’ले विदेशमा निर्माताले दाबी गरेझैँ सम्भावनाको बाटो खोल्यो भने कोही दुःखी हुँदैनन् । कोही दुःखी पनि छैनन् । यसमा निर्माण टिमलाई मनको बाघले खानुपर्ने कुनै कारण नै छैन ।
 
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x