सिनेमा

‘प्रेमगीत ३’ हिन्दी भर्जन हलमा अझै अनिश्चित , कर चुक्ताको प्रमाणपत्र नभएको भन्दै बोर्डले दिन मानेन सेन्सर सिफारिस

इकागज |
असोज ६, २०७९ बिहिवार १५:४७ बजे

काठमाडौँ - सञ्चार मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी डब भर्जनलाई पनि नेपाली फिल्म नै मानेर व्यवहार गर्न निर्देशन दिए पनि चलचित्र विकास बोर्डले भने कर चुक्ताको प्रमाणपत्र नभएको भन्दै सिफारिस रोकेको छ । फिल्मका वितरक मनोज राठीले विकास बोर्डले कर नतिरेको भन्दै सिफारिस रोकेको पुष्टि गर्दै फिल्मको बिहीबार सेन्सर हुने सम्भावना नरहेको र शुक्रबार हिन्दी भर्जन रिलिज नहुने इकागजलाई जानकारी दिएका छन् ।

राठीले कर चुक्ताका लागि समय थप्न सकिने प्रावधान हुँदाहुँदै पनि बोर्ड र अध्यक्ष भुवन केसीले जानाजान असहयोग गरेको आरोप लगाए ।  ‘फिल्मको निर्माण कम्पनीले कर चुक्ता गर्न बाँकी छ तर त्यसका लागि समयसीमा थप्न सकिने प्रावधान छ । तर बोर्डले कर चुक्ता नगरी सिफारिस दिन्न भनेपछि आज फिल्मको सेन्सर हुनसक्ने अवस्था छैन । अब भोलि भयो भने भोलिदेखि मात्र हिन्दी भर्जन हलमा रिलिज हुन्छ,’ मनोज राठीले इकागजसँगको कुराकानीमा बताए ।  


‘प्रेमगीत ३’को नेपाली भर्जनको भने केही दिनअघि नै सेन्सर भइसकेको छ । यसको हिन्दी डब भर्जनलाई नेपाली मान्ने कि विदेशी भन्ने कुरामा बोर्ड र निर्माण पक्षबीच विवाद चलिरहेको थियो । तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार यसमा हस्तक्षेप गर्दै बोर्डलाई नेपाली कलाकार र प्राविधिकको संलग्नता रहेको र नेपाली निर्माण कम्पनीले निर्माण गरेकाले यसलाई नेपाली फिल्म सरह नै व्यवहार गर्न निर्देशन दिएको थियो । 

‘प्रेमगीत ३’को नेपाली भर्जन शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुँदैछ र फिल्मले आक्रामक सुरुवात गर्ने संकेत गरेको छ । हिन्दी भर्जनलाई थाँती राख्दै खुलेका सो एक दिन अगावै हाउसफुल भएका छन् । वितरक मनोज राठीले फिल्मले ठ्याक्कै कतिको ओपनिङ गर्छ भन्ने कुरा हिन्दी भर्जनको समेत बुकिङ खुलेबाट मात्र बताउन सकिने बताउँदै फिल्मले देशमै पनि ऐतिहासिक व्यापार गर्ने संकेत देखाएको बताएका छन् । यो विषयमा बुझ्न चलचित्र विकास बोर्डसँग सम्पर्क गर्न खोज्दा कसैको पनि फोन उठेन । 


Author

थप समाचार
x