सिनेमा

भारतका ओटीटी पनि नेपाली फिल्मप्रति उत्सुक छन् – बलिउड निर्देशक विशाल देसाई

इकागज |
असोज ९, २०७९ आइतवार १०:११ बजे

काठमाडौँ- भारतीय अभिनेता तथा निर्देशक विशाल देसाईले नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दैछन्  । ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रुपमा धेरै चलचित्रमा काम गरेका छन् ।  उनले ‘चुपके चुपके’ , ‘अपनापन’ , ‘अम्बर अकबर एन्थोनी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । पहिलोपटक नेपाल आएका निर्देशक देसाई भारतमै पनि पछिल्लो समय प्रान्तीय चलचित्रहरुको लोकप्रियता बढिरहेको हुँदा नेपालीलेले पनि यसको फाइदा लिन सक्ने बताउँछन् । ‘सायरा’ यसै प्रयत्नको कडीको रुपमा पर्दामा ल्याउने आफूहरूको योजना भएको देसाई बताउँछन् ।  उनको नेपाल बसाई र चलचित्रसँग सम्बन्धित रहेर गरिएको संवाद ः 

नेपाल बसाई कस्तो रह्यो ? 
निकै सुन्दर । मलाई विदेशमा छु भन्ने अनुभूति नै भएन । किनकि हाम्रो संस्कृति झैँ खाना पनि मिल्छ । हामी नजिकै छौँ । यहाँ नेपाल आउँदा पाएको सत्कारले म पहिले किन नेपाल आइन् भन्ने लागेको छ । अब नेपाली चलचित्र निर्देशन गर्दैछु । नेपाल आउने जाने क्रम बढ्छ । फर्किदा यादहरु लिएर फर्किदै छु । 


कस्तो लाग्यो नेपाल ? 
म काठमाडौं आसपासमा मात्र घुमे । अर्को पटक आउँदा पोखरा , लुम्बिनी घुम्ने योजना बनाएको छु । किनकि यहाँको सुन्दरता र सरलताले मलाई निकै प्रभावित बनाएको छ । विशेषत यसपटक आउँदा पशुपतिनाथको दर्शन गर्न पाएँ । मेरो घरमा आमा शिवभक्त हुनहुन्छ । उहाँले पशुपतिनाथको जसरी पनि दर्शन गर्नु भन्नुहुन्थ्यो । मैले मन्दिर पुगेर दर्शन गरेको फोटो पठाउँदा उहाँ निकै हर्षित हुनुभयो । उहाँ फ्लाइटमा कम्फर्ट महसुस गर्नुहुन्न । यद्दपि उहाँ पनि यहाँ आउन चाहनुहुन्छ । साथै मलाई नेपाली थकाली खाना निकै मन पर्यो । यो स्वादले मलाई पारखी बनाएको छ । म अन्य ठाउँमा पुग्दा पनि थकाली अवश्य खानेछु । 

यस अगाडि नेपाल र यहाँको चलचित्रको बारेमा कत्तिको जानकार हुनुहुन्थ्यो ? 
नेपालको बारेमा थाहा थियो । तर नेपाली चलचित्रसँग म साक्षात्कार थिइन् । मलाई निर्माता पुस्कर झाले केही नेपाली चलचित्रको ट्रेलर देखाएपछि नै निर्देशन गर्न तयार भएको हुँ । यहाँको मेकिङ र सुन्दरताले मलाई छाप छोड्न सफल भयो । हाम्रो एउटा प्रयास पनि हो सायरा । यसलाई नेपाली र हिन्दी भाषामा प्रदर्शन गर्नेछौँ । यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न मदत गर्छ भन्नेमा विश्वत छु । 

भारतमा बनिरहेका भन्दा फरक के पाउनु भयो यहाँको चलचित्रमा ? 
मैले जति क्लिप , भिडियो हेरेको छु । त्यसले पनि म भन्न सक्छु आउँदो समयमा नेपाली चलचित्रले धेरै राम्रो गर्छ । किनकि भारतमै १० वर्ष अगाडी फर्किनु भयो भने तामिल , तेलुगु , कन्नडा चलचित्र गुमनाम झैँ थिए । अहिले पनि मलयालम चलचित्र माथि आउन कोसिश नै गरिरहेको छ । कन्नडा चलचित्रमा केजिएफ भन्दा अन्य नाम अहिले पनि दर्शकले सम्झिन सक्नुहुन्न । त्यसैले बजार पाएपछि कन्टेन गतिलो छ भने लोकप्रियता बढ्छ । यहाँको लोकेशन विश्वका अन्य दर्शकलाई फ्रेश लाग्न सक्छ । हामीले भिएफएक्सले पूरा गर्ने दृश्य यहाँ नेचुरल रुपमै पाइन्छ । त्यसैले हामीले नेपाली र हिन्दी भाषामार्फत यहाँको चलचित्रलाई ओटीटी वा भारतका हलमा मात्र लान सक्याँै भने त्यो बजार विस्तारका लागि राम्रो हुनेछ । मैले केही ओटीटी कम्पनीलाई नेपाली फिल्मको ट्रेलर देखाउँदा उहाँहरु पनि इच्छुक पाएँ । 

नेपाली चलचित्र निर्देशन गर्न किन तयार हुनुभएको हो ?
मैले भारतमा विज्ञापनहरु बनाउने गर्छु । त्यो हिन्दी मात्र नभई विभिन्न प्रान्तीय भाषामा समेत हुन्छ । नेपाली चलचित्रको प्रोमो हेरेपछि म निर्देशनको लागि तयार थिएँ । तर , सायरा नै निर्देशन गर्ने निर्णय लिनुको कारण यसको कथा नै हो । मलाई प्रस्तुतकर्ता रघु परियार र निर्माता पुस्कर झाले सुनाउनु भएको कथाले पनि यसमा निर्देशक बन्न तयार गरेको हो । 

छायांकनको समयमा भाषाले समस्या निम्त्याउन सक्छ । समधान के खोज्नु भएको छ ? 
यो चलचित्रमा नेपाल र भारतको संयुक्त कास्ट एण्ड क्रु हुनेछ । हामीसँग मुख्य सहायक निर्देशक नेपालकै हुनहुन्छ । जसले मलाई सहज हुनेछ । साथै हामीसँग काम गर्ने प्राय कलाकारलाई हिन्दी आउँछ । यसले पनि मलाई सहज हुन्छ । म केही दिन नेपाल बस्दा नै केहि शब्दहरु जानिसके । यो फिल्मले मलाई नेपाली पूर्ण रुपमा सिकाउँछ भन्नेमा विश्वस्त छु ।

 चलचित्रलाई दुवै भाषामा खिच्नु हुन्छ कि कुनै एकमा खिचेर डबिङ गर्ने सोच छ ? 
हामीले यसबारे निर्णय लिएका छैनौँ । हामी यसलाई नेपालीमा खिचेर हिन्दीमा डबिङ गर्ने सोचमा छौँ । तर अब केही प्रतिशत हिन्दी भाषामै समेत खिच्ने सोच बनाएको छु । यद्दपि यस विषयमा निर्णय लिन अझैँ बाँकी छ । हामी ओटीटी कम्पनीहरुसँग पनि सल्लाह गरिरहेका छौँ । यसबारे अर्को भेटमा आफ्नो निर्णय पक्कै बताउने छु । 

बलिउडको कुरा गर्दा केही समय यता त्यता फिल्म चलिरहेका छैनन् , संकटमा छ उद्योग भनिन थालेको छ ? 
हो , केही समय यता बलिउडका चलचित्रहरु चलिरहेका छैनन् । यो एउटा समय हो । कोरोना महामारी पश्चात दर्शकहरु ओटीटीमा बढी सक्रिय हुनुभएको छ । जुन समयमा भिसीआर , सिडी , डिभिडीहरु भित्रिएका थिए त्यतिबेला पनि यस्तै समयको सामना गर्नु परेको थियो । यो ओटीटीको समय पनि छिट्टै सकिन्छ । किनकि दर्शकले हलमा पाउने मनोरञ्जन सानो पर्दा वा मोबाइलमा पाउनु हुन्छ भन्ने मलाई लाग्दैन । अहिले चलिरहेको ब्रह्मास्त्रले दर्शकलाई हलसम्म ल्यायो । आउँदो केही चलचित्रहरुबाट पनि म आशावादी छु । पछिल्ला केही फिल्महरु राम्रो बन्न पनि सकेका थिएनन् । अब विस्तारै राम्रो हुन्छ भन्ने लागेको छ । 

ओटीटीले मात्र अप्ठ्यारो पारिरहेको हो ?
ओटीटी मात्र नभई चलचित्र राम्रो बन्न नसक्नु पनि हो । तर अब हल पुग्ने केही दर्शकलाई ओटीटी प्रदायकले रोकेका छन् । जस्तै मेरो ड्राइभरले छुट्टीमा चलचित्र हेर्ने गरेको मलाई थाहा छ । तर केही समय यता उहाँ फ्री समयमा मोबाइलमै फिल्म हेर्नु हुन्छ । हलमा प्रदर्शन भएको आठ हप्ता पश्चात अधिकांश चलचित्रहरु डिजिटल रिलिज हुने हुँदा पनि फुर्सदको समयलाई दर्शकले हलमा खर्चेका छैनन् जस्तो लाग्छ । पछिल्लो समय तपाई कसैलाई पर्खिरहनु भएको छ भने पनि मोबाइलमा ओटीटीमा रहेका चलचित्रहरु हेर्न सक्नु हुन्छ । टिभी , ल्यापटप भन्दा मोबाइलमा बढी दर्शक जोडिनु भएको छ । 

बलिउडमा ‘प्रोजेक्ट मेकिङ’ कसरी गरिन्छ ? 
त्यस्तो फरक छैन । जसरी यहाँ मेकिङ हुन्छ , त्यस्तै हो । बलिउडमा कथा तयार भएपछि हामीले स्टार कलाकारलाई सुनाउछौँ । जस्तै , सलमान खान , शाहरुख खान , अक्षय कुमार , अमिताभ बच्चन जस्ता कलाकारहरु तयार हुनुभयो भने लगानीकर्ता सजिलै पाइन्छ । स्टारको भ्यालुअनुसार नै हामीले लगानी जुटाउन सक्छौँ । त्यसपछि टिम तयार हुन्छ । हरेक डिपार्टको हेडले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु हुन्छ । हामीले सबैसँग गरेको सम्झौता अनुसार कामलाई अगाडी बढाउछौँ । 

अन्य चलचित्रहरु गर्ने पनि केही कुराकानी भएको छ ? 
सायरा अगाडि अन्य चलचित्र गर्ने सोच छैन । यो बनेर प्रदर्शन नहुँदासम्म म म्युजिक भिडियोहरु गर्छु तर चलचित्र गर्दिन् । किनकि यसपछि मलाई नेपालीसँगै अन्य भाषाको फिल्म गर्ने बारे पनि आइडिया हुन्छ । निर्देशक भएपछि धेरै पक्षको जिम्मेवार बन्नु पर्ने भएकोले पनि अहिले यसमै केन्द्रित छु । अक्टोबर अन्तिमबाट यसलाई अस्ट्रेलियामा छायांकन गर्ने तयारीमा छौँ । आउँदो वर्ष सन् २०२३ मा यो रिलिज पनि हुन्छ ।
 


Author

थप समाचार
x