सिनेमा

नेपालपछि विदेश यात्राको तरखरमा ‘ऐना झ्यालको पुतली’, भारी रकममा बिक्यो अष्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार

इकागज |
असोज १०, २०७९ सोमवार १२:२७ बजे

काठमाडौँ -  नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा तेस्रो हप्ता चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ ।

नेपाली भाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जनाएका छन् । निर्माता आकाश पौडेलका अनुसार फिल्मको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार भर्खरै बिक्रि भएको छ भने जापानमा फिल्म केही समय अघि नै बिक्रि भइसकेको छ । 


निर्माता पौडेलले अष्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन् । दुई देशका लागि १५ लाख हाराहारीमा यसको प्रदर्शन अधिकार बिक्रि भएको निर्माता पौडेलले जनाएका छन् ।

यसैगरी फिल्म अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी गराएका छन् । भर्खरै नेपालबाट ९५ औँ संस्करणको एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालबाट सिफारिस भएको फिल्मले नेपालको बक्स अफिसबाट १ करोड हाराहारी ग्रस गरेको छ । 

बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनौट हुने पहिलो फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्मले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्योबाहेक फिल्म विदेशका थुप्रै फेस्टिभलमा पनि छानिएको थियो । 

तीन दशक पुरानो परिवेश र समाजलाई कलात्मक तवरले अभिव्यक्त गरेको भन्दै दर्शकबाट धाप पाइरहेको फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् । फिल्ममा सिरु बिष्टबाहेक नयाँ कलाकारको अभिनय रहेको छ । 


Author

थप समाचार
x