सिनेमा

घर बनाउने र घर बचाउनेको संघर्षमा ‘के घर के डेरा’ ट्रेलर

इकागज |
असोज १४, २०७९ शुक्रबार १५:२४ बजे

काठमाडौँ - काठमाडौँमा घर भएको र काठमाडौँमा घर बनाउने दुई मुख्य चरित्रको संघर्ष प्रस्तुत गर्ने ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार राजधानीमा औपचारिक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । 

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा दयाहाङ राईले डेरावाल र विपिन कार्कीले घरवालाको भूमिका निर्वाह गरेका छन् । दुवैको जोडीको रुपमा सुरक्षा पन्त र वर्षा राउतले अभिनय गरेका छन् । ट्रेलरमा रवीन्द्र झा, भोला सापकोटा, सरोज अर्याल आदि कलाकार पनि अटाएका छन् । 


हाँसोलाई केन्द्रमा राखेर बनाइएको ट्रेलरमा विपिन कार्की छाएका छन् । चुरोटका बट्टामा राखेर काजु खाने कुरादेखि लिएर उनको बोल्ने शैलीले ट्रेलरलाई रोचक बनाएको छ । घर बनाउनै पर्ने दबाबमा रहेको चरित्रमा दयाको उपस्थिति पनि ट्रेलरमा सुहाएको छ ।

सिंगे लामाको कथा, महेश दवाडीको पटकथा÷संवाद रहेको फिल्ममा आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, आयुशी ढकाल लगायतको पनि अभिनय छ । 

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् । दीर्घ गुरुङको छायांकन, सूर्य थोकरको द्वन्द्व रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । फिल्म कात्तिक ४ गते सार्वजनिक प्रदर्शन हुँदैछ । 

 


Author

थप समाचार
x