सिनेमा

दया र सौगातको ‘दुई नम्बरी’को शीर्ष गीत सार्वजनिक

इकागज |
असोज १७, २०७९ सोमबार १५:२९ बजे

काठमाडौँ - प्रतियोगिताबाट शीर्ष गीत चयन गरेको ‘दुई नम्बरी’ टिमले रिलिज संघारमा विजेता बन्न सफल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले सोमबार भूषण ‘हाँस्नै गाह्रो छ यहाँ’ बोलको गीत सार्वजनिक गरेको हो । निर्माण टिमले दुई नम्बरीको मर्म सुहाउने गरी गीत तयार गर्न प्रतियोगिताको आयोजना गरेको थियो । यसरी आयोजना गरेको प्रतियोगिता भूषण खतिवडाले जितेका थिए । ५० हजार नगद जित्न सफल यही गीतलाई निर्माण टिमले लिरिकल भिडियो बनाएर सार्वजनिक गरेको हो ।  

गीतले युवाहरूको दिक्दारी र देशमै केही गर्ने अठोटलाई लयमा समेटेको छ । भूषण खतिवडाको शब्द, स्वर र संगीत समावेश यस गीतमा रिकेश गुरुङको एरेन्जमेन्ट र दीपक गुरुङको एनिमेसन रहेको छ ।


यही असोज २१ मा प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासनासिंह ठकुरी, वुद्धि तामाङ आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ । 

फिल्मलाई किरण नेपालीले दीपक मनाङे, अमलादेवी राई, जयश श्रेष्ठ आदिसँग मिलेर बनाएका हुन् । फिल्मको यसअघि निस्केका टिजर र गीतलाई दर्शक रुचाएका थिए । ‘कबड्डी४’ पछि दया र सौगातको जोडी पर्दामा देखिन लागेकाले दर्शकमा यो फिल्मलाई लिएर प्रतीक्षा रहेको आँकलन छ । 

 


Author

थप समाचार
x