सिनेमा समीक्षा
रोमिज सलुन : हजुरआमा नातिनीको प्रेमिल सम्बन्धको कथा
डज लेखक तमारा बोसको यही नामको उपन्यासमा आधारित रोमीज सलुनले दुई पुस्ताका महिलाको कथा पेश गर्छ । फिल्मले १० वर्षकी रोमी (भिटा हेइजमेन)को दैनिकीसँगै हामीलाई कथामा प्रवेश गराउँछ जहाँ रोमीको दैनिकी दुई भागमा बाँडिएको छ ।
एउटा हजुरआमा स्टेनी (बेप्पी मेलिसेन)को सलुन र हजुरआमाकै अपार्टमेन्ट । स्कुलपछाडि रोमीलाई घरमा हेरचाह गर्ने कोही नभएकाले रोमीको आमा रोमीलाई हजुरआमाकोमा पठाउँछिन् तर हजुरआमा भने नातिनीलाई राख्न तयार छैनन् । उता रोमी पनि हजुरआमासँग बस्न तयार छैन । बरु रोमी आमाकै रेस्टुरेन्टमा समय बिताउन चाहान्छे तर यसो गर्न पनि समस्या छ किनकि रोमीको आमाको रेस्टुरेन्ट मालिक यहाँ रोमी आएको रुचाउँदैन ।
मालिकविरुद्ध रोमीको आमा विद्रोह गर्न पनि सक्दिन किनकि श्रीमान्सँग उसको सम्बन्ध राम्रो छैन । रोमीको बाबु आमा सम्बन्ध विच्छेदको प्रक्रियामा छन् । रोमीको बुबा नयाँ गर्लफ्रेन्डसँग उसकै घरमा बस्छ । रोमी बाबुसँग आफूलाई त्यहाँ लगे पनि हुने भन्ने प्रस्ताव गर्छे तर बाबुले आफूनै गर्लफ्रेन्डको घरमा बसिरहेकाले लैजान नसक्ने बताउँछ । बाध्य भएर रोमी हजुरआमाकोमा समय बिताउन बाध्य हुन्छे ।
रोमी आमाले काम गर्ने रेष्टुरेन्टमा जान्छे र निरस समय बिताउँछे । रोमीलाई कहिलेकाहीँ उसको बुबाले खुवाउन लैजान्छन् त्यो पनि दुइटा अवस्थामा । कि त बुबा काममा गएको हुन्न वा नयाँ गलफ्रेन्ड उसको साथमा हुन्न । तर बुबासँग उ जाने भनेको त्यही चिनियाँ रेस्टुरेन्ट हो जहाँ गएर उसले सधैँ एउटै खाना खान्छे । योबाहेक रोमीको सपना छ , आफ्नै मोबाइल फोन चलाउने ।
यसरी रोमिज सलुनमा हामी जेजति कुरा पर्दामा देख्छौँ त्यो रोमीको उचाइअनुसार देख्छौँ । तर यति हुँदासम्म पनि हामीलाई महसुस हुन्छ रोमीको स्कुलपछिको दैनिकीबाट न हजुरआमा खुसी छिन् न नातिनी । रोमीको आमाले सँगै बस्न बाध्य पारेको अवस्थाबाट दुवैजना खुसी छैनन् ।
तर जब हजुरआमा स्टेनीको बिर्सने समस्यासँग रोमी परिचित हुँदै जान्छे हजुरआमा र नातिनीको तीतो सम्बन्धले विस्तारै फरक मोड लिँदै जान्छ । सामान्यतया चिटिक्क परेर बस्ने हजुरआमा सलुनमा ग्राहकको पैसा फिर्ता दिन बिर्सिन्छिन्, पैसा राखेको ठाउँ याद हुँदैन, भान्सामा पकाएको कुरा शुद्धि हुँदैन, मध्यान्नमा नाइट गाउन लगाएर सुत्छिन्, रोमीलाई महसुस हुन्छ, हजुरआमालाई उनको सहयोगको खाँचो छ । अनि भ्वाइस ओभरमार्फत कथा वाचन गर्ने रोमी भन्छे, ‘मलाई हजुरआमाले हेर्नुहोला भनेर आएको तर मैले चाहिँ हजुरआमालाई हेर्नुपर्ने रैछ ।’ नभन्दै रोमीले त्यो जिम्मेवारी विस्तारै आफ्नो हातमा लिन थाल्छे ।
रोमीको रुपमा अभिनय गर्ने फुच्ची भिटा हेइजेम हेरिनबाट हेरचाह गर्ने भूमिकामा सानदार लाग्छिन् । बाल सुलभ गतिविधिका साथ उनले निर्वाह गरेको भूमिका जिवन्त छ । यो फिल्मको सबैभन्दा सुन्दर पक्ष हो, हजुरआमा नातिनीको क्रमिक रुपमा विकसित हुने सम्बन्ध ।
सुरुमा आफ्नी छोरीलाई नातिनी नपठा भनेर किचकिच गर्ने हजुरआमा अन्त्यतिर आएर नातिनीको प्रतीक्षा गर्ने र उसको प्रवेशपछि सलुनको वातावरणमा आएको परिवर्तन महसुस गर्ने दृश्य फिल्मकै प्रभावशाली दृश्य हुन् । यसैगरी नातिनीसँग कुरा गर्दै गर्दै स्टेनी विगतमा फर्कने दृश्य पनि शक्तिशाली छन् । यसबाट फ्ल्यासब्याकमा नगई पनि कसरी विगतको कथा बताउन सकिन्छ भन्ने ज्ञान लिन सकिन्छ ।
दुई पुस्ताको यो स्वीकार्यतालाई निर्देशक मिचा काम्पको छायांकनले मज्जाले सघाएको छ । मिचाले जसरी बिर्सने रोगलाई प्रस्तुत गरेकी छिन् त्यसलाई बालबालिकाले पनि सजिलै ग्रहण गर्नेगरी प्रस्तुत गरिएको छ । धेरै फिल्ममा जस्तो मिचाले रोगलाई दर्शकलाई रुवाउन बनाउन प्रयोग गरेकी छैनन्, बरु बुढ्यौलीका समस्यालाई नयाँ पुस्ताले कसरी बुझ्नुपर्छ भन्ने हिसाबले प्रस्तुत गरेकी छिन् ।
निर्देशकको यो शैलीले तीन पुस्तालाई भावनात्मक रुपमा एक ठाउँमा ल्याएको छ । स्टेनीको बिर्सने रोगका कारण तीन पुस्ताको सम्बन्ध परिवर्तन हुन्छ र शारीरिक रुपमा सँगै रहेर पनि भावनात्मक रुपमा पर पर रहेको परिवार एक हुन्छ । एउटा मोडमा गएर फिल्म मानसिक रोगको विषयमा पनि मज्जाले डुब्छ । तर निर्देशक मिचाले यो विषयलाई धेरै नाटकीय हिसाबले प्रस्तुत गरेकी छैनन् जसले गर्दा यो विषय दर्शकसँग मज्जाले घुलमिल भएको छ ।
फिल्मको टोन रमाइलो छ र समस्यामा पनि आशावाद छ । केही दृश्यमा रोमीको असहायपनले हामीलाई पनि अप्ठेरो महसुस गराउँछ खासगरी त्यस्ता दृश्यमा जहाँ रोमीलाई हजुरआमाको बिर्सने रोगसँग कसरी जुध्ने भन्ने थाहा हुन्न । यस्तो दृश्यमा पनि रोमीले प्राण भरेकी छिन् ।
रोमिज सलुन हजुरआमा र नातिनीको सुन्दर पेन्टिङ हो जसलाई समयले लामो समय छुट्याएर फेरि एक बनाएको छ । तर त्यो बिछोडमा पनि एक प्रकारको उर्जा छ र चकचक पनि । फिल्मको अन्त्य थप रोचक छ, केही रमाइला ट्वीस्टले भरिएको छ जुन हेरेर दर्शकले आफ्नो विगत पनि सम्झन्छन् र सम्भावनाका नयाँ क्षितिज पनि ।
निर्देशक मिचाले नेदरल्यान्ड फिल्म फेस्टिभलमा यो फिल्मबाट ‘गोल्डेन काफ बेस्ट डिरेक्टर’ को अवार्ड प्राप्त गरेकी थिइन् भने हजुरआमा बनेकी बेप्पी मेलिसनले यही फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । यही फेस्टिभलमा रोमी बनेकी नोर्जे हरलेरले पनि सहायक अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।
संसारका थुप्रै फेस्टिभलमा छानिएको यो फिल्म यतिबेला भने नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको ११ औँ संस्करणमा पनि छानिएका १३ युरोपियन फिल्मको सूचीमा सामेल छ । यो फिल्म ठूलो पर्दामा हेर्न चाहानेले सोमबार साढे ५ बजे चलचित्र विकास बोर्डको हलमा हेर्नसक्नुहुनेछ । यो फिल्म अनलाइनमा पनि उपलब्ध छ जुन अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म लगइन गरेर हेर्न सकिनेछ । शुक्रबारबाट सुरु भएको यो महोत्सव काठमाडौँमा मंगलबार समापन हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया