सिनेमा

आर्यनको ‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै

इकागज |
मंसिर १५, २०७९ बिहीबार ११:२२ बजे

काठमाडौँ- बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने नेपाली फिल्म ‘सायरा’ को विश्वव्यापी रुपमा प्रदर्शन हुनेभएको छ । हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन् । ‘पावनी फिल्म्सले विश्वभर फिल्मलाई प्रमोसन गर्नेछ । हामीलाई फिल्म निर्माणमा यसले झनै मद्दत पुगेको छ’, प्रस्तुतकर्ता परियारले बताए ।

पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । ‘नेपाली फिल्मको मेकिङ अनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ । नेपाल– इण्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौँ’, चौधरीले बताए । आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् ।


उनलाई फिल्मका प्रस्तुतकर्ता परियारसँगै निर्माता पुस्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेय अनुबन्धित गरेका हुन् । नेपाली व्यानर डीबीआर मेडिया एन्ड मुभिज र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ । यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो ।

उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए । फिल्मको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ । आर्यन अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भए पश्चात उनी यसमा व्यस्त हुनेछन ।


Author

थप समाचार
x