सिनेमा

‘प्रेमगीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ४ करोड ८४ लाख ठगीको उजुरी

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १४:१९ बजे

काठमाडौँ - ‘प्रेमगीत ३’ निर्माता सन्तोष सेन विरुद्ध सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका छन् । उनले निर्माता संघमा सन्तोष सेन विरुद्ध ४ करोड ८४ लाख ५० हजार रकम ठगीको दाबीसहित निर्माता सेनविरुद्ध उजुरी दर्ता गराएका हुन् । राईले ‘प्रेमगीत ३’को डिजिटल अधिकारका लागि सो रकम तिरेको तर आफूले अहिलेसम्म फिल्मको डिजिटल राइट प्राप्त नगरेको भन्दै उजुरी दिएका हुन् । 

राईले निर्माता सन्तोष सेनले तीन करोड भारतीय रुपैँया विभिन्न समयमा लिएको र विभिन्न समयमा टिकट काटिदिएको ४ लाख ५० हजार गरी ४ करोड ८४ लाख ५० हजार सेनले तिर्न बाँकी रहेको जिकिर गरेका छन् । निर्माता संघमा केही दिनअघि परेको उजुरीमाथि छलफल गर्न भनेर निर्माता संघले शुक्रबार दुवै पक्षलाई १ बजे संघको कार्यालयमा बोलाएको थियो । तर दुवै पक्ष अहिलेसम्म सम्पर्कमा नरहेको निर्माता संघ स्रोतले जनाएको छ । 


समाचार आएपछि निर्माता सन्तोष सेनले भने ५० लाख बराबरको सम्झौता सार्वजनिक गरेका छन् । उनले सत्यतथ्य बुझेर मात्र समाचार लेख्न आग्रह गर्दै सम्झौताका प्रतिलिपी फेसबुकमा सार्वजनिक गरेका छन् । 

स्रोतका अनुसार राईले नै सन्तोष सेनलाई मुम्बईसम्म डोर्याएका थिए । उनकै सम्पर्कमार्फत फिल्म हिन्दीमा डब भई संसारभर रिलिजका लागि सम्भव भएको बताइएको छ । सन्तोष सेन भने अहिले मुम्बईमा छन् । उनले प्रतिनिधि पठाउने वाचा गरे पनि अहिलेसम्म कोही निर्माता संघको कार्यालय नआएको संघ स्रोतले जनायो ।   


Author

थप समाचार
x