सिनेमा

निर्माता संघमा दीपकराज र रवीन्द्र मनोनीत

इकागज |
मंसिर २१, २०७९ बुधवार १५:३२ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता संघको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाएका छन् । 

यस्तै निर्माता बानियाँ पनि लगातार फिल्ममार्फत सफलता हात पारिरहेका छन् । उनको निर्मित चौथो फिल्म ‘महापुरुष’ प्रदर्शनरत छ भने रु १० करोड बढीको कलेक्सन घरेलु बक्सअफिसमै गरिसकेको छ । 


संघको मङ्गलबार बसेको कार्यसमिति बैठकले उनी दुईलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए । `नेपाली फिल्ममा सफलता प्राप्त गरिरहेएका दुई निर्मातालाई जोड्न पाउँदा खुसी लागेको छ, हाम्रो उद्देश्य नै क्रियाशील निर्माताहरूको सङ्गठन बनाउनु हो`, अध्यक्ष खड्काले भने, `हामी नेपाली फिल्मलाई प्रत्यक्ष रुपमा फाइदा दिनसक्ने योजना तयार गरिरहेका छौँ ।`

अध्यक्ष खड्काका अनुसार सोही बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ । योजनासहित संघमा जोडिएको निर्माता बानियाँले बताए । `हाम्रो पेसागत हकहितको संस्थामा केही गर्न सकिन्छ भनेर जोडिएका हौँ`, निर्माता बानियाँले भने, `हाम्रो अनुभवले अहिले देखिएका निर्माताहरूको समस्या समाधान गर्न जुट्नेछौँ ।` संघले हालै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापनसमेत गरेको छ । 
रासस


Author

थप समाचार
x