सिनेमा

‘बाघको बङ्गारा’को प्रदर्शनसँगै किम्फ सुरु

इकागज |
मंसिर २३, २०७९ शुक्रवार ११:५६ बजे

काठमाडौं -काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको बीसौं संस्करण आजदेखि राजधानीको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु भएको छ । बलिउड निर्देशक प्रकाश झाले घन्टी बजाउँदै फेस्टिभल शुभारम्भ गरे ।
 
फेस्टिभल उद्घाटन समारोहमा बोल्दै आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा र निर्देशक झाले काठमाडौंलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न सरोकारवालालाई आग्रह गरे । 
 
‘काठमाडौंलाई फिल्म, साहित्य, संगीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउन सकिन्छ र यसतर्फ म काठमाडौं महानगरलाई ध्यानाकर्षण गराउन चाहन्छु’ अध्यक्ष थापाले भने । प्रकाश झाले थापाको कुरामा समर्थन जनाउँदै काठमाडौँलाई साँस्कृतिक सहर बनाउन चाहिने सम्पूर्ण पूर्वाधार उपलब्ध भएको जिकिर गरे । 
 
फेस्टिभलको वक्ताको रुपमा काठमाडौं आइपुगेका बलिउड निर्देशक झाले काठमाडौं आफूलाई मनपर्ने सहरमध्ये भएको र यसलाई सांस्कृतिकरुपमा जीवन्त सहर बनाउनुपर्ने बताए ।
 
झाको अभिनय रहेको फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन पहिलो दिन भएको छ । झासहित फिल्म निर्देशक एम गनी पनि समारोहमा उपस्थित थिए । फिल्म स्क्रिनिङपछि झा र गनीले फिल्म हेरेका दर्शकसँग फिल्मको क्राफ्टबारे अन्तक्रिया गरे ।

ओपनिङ समारोहमा जुरीहरु किरणभक्त जोशी, जिन्ना ली र माइकल पजले किम्फसँग जोडिएको सन्दर्भबारे धारणा राखे । ‘फिल्म निर्माण कार्य आफैमा चुनौतीपूर्ण हो, सिक्ने र धैर्य गर्ने बानी सिक्नुपर्छ’ चर्चित एनिमेटरसमेत रहेका जोशीले भने ।
 
समारोहमा युरोपेली युनियनको नेपाल नियोगकी उपप्रमुख जोएल इभोनेटले नेपालको फिल्म संस्कृति विकास गर्नमा किम्फ फेस्टिभलले पु¥याएको योगदानको चर्चा गरिन् । युरोपेली युनियनले नेपालको जलवायु संकट, मानवअधिकार, शिक्षा स्वास्थ्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको उनले बताइन् ।
  
फेस्टिभलमा कमलकुमार निर्देशित डकुमेन्ट्री ‘बाघको बंगारा’ प्रिमियर गरिएको छ । हेर्ने कथा श्रृंखलाकी संचालिका विद्या चापागाईंले निर्माण गरेको फिल्मले उत्तरी जाजरकोटको पहाडी भूगोलमा स्थानीयले गर्ने कष्टकर महशिकारको कथा भन्छ ।
 
५५ मिनेट लामो यो फिल्मले शारीरिक र मानसिक यात्राको कथा पनि पेश गर्छ । प्रिमियरपछि निर्मात्री चापागाइ र निर्देशक कुमारले दर्शकसँग फिल्म छायांकनबारेको अनुभव पनि बाँडे ।
 
यो फिल्म लगत्तै सम्राट खनाल निर्देशित ३३ मिनेट लामो डकुमेन्ट्री ‘थ्रु द सिंगिङ भिलेज’को विश्व प्रिमियर पनि भयो । यसपछि जाकुब जेला निर्देशित ४६ मिनेट लामो ‘दु सार ः अ काराकोरम स्की एक्सपिडिसन फिल्म’ प्रदर्शन गरियो ।
 


आगामी २६ गतेसम्म चल्ने फेस्टिभलमा ३० मुलुकका ६० भन्दा बढी फिल्म देखाइने भएको छ । फेस्टिभलमा भाग लिन दुई दर्जनभन्दा बढी विदेशी फिल्ममेकर काठमाडौंमा छन् ।
 
सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिन्छन् । फेस्टिभल समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’सँगै हुनेछ ।
 
महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।
 
इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत ५० हजार पाउनेछ । 

नेपाली निर्मातासँग सहकार्य गर्न तयार छु ः झा
 
प्रमुख वक्ताको रुपमा किम्फमा उपस्थित भएका बलिउड निर्देशक झाले राम्रो कथावस्तु भए नेपाली मेकरसँग सहकार्य गर्ने बताए । उनले बलिउड संकटदेखि नेपालमा कथावस्तुको सम्भावना र काठमाडौंलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने योजनाबारे पनि कुरा गरे ।
आत्मा गुमाउँदा बलिउडको अधोगति तीव्ररुपमा भएको टिप्पणी गर्दै उनले अस्तित्व जोगाउन दक्षिण भारतीय र युरोपेली फिल्मको रिमेक गर्नुपरेको यथार्थ सुनाए । ‘बलिउडसँग अहिले आत्मा र कथा छैन । त्यही भएर अरु ठाउँबाट रिमेक गर्नुपरेको छ । कहिलेकाहिँ त निर्देशकले पनि स्वयम केमियो रोल गरिरहेका हुन्छन्’ उनको विश्लेषण छ ।
 
उनी अघि भन्छन्, ‘जब तिमी पैसा कमाउन फिल्म बनाउँछौं । तिमीले स्टारलाई पछ्याउनुपर्छ । भावनालाई मिसाउनुपर्छ र बजारसँग सम्झौता गर्नुपर्छ । यसले सँधै काम गर्छ भन्ने पनि छैन । पैसा कमाउने उद्देश्य राखेर फिल्म बनाउँदा मुख्य ध्यान पैसातर्फ हुन्छ ।’ उनको सुझाव छ– यदि तिमी कथा सिर्जना गर्न चाहन्छौ भने यसमा लगानी गर र समय देऊ ।’
 
बलिउडको अधोगतिलाई हेरेर नयाँपुस्ताका फिल्म निर्माताले पाठ सिक्नुपर्ने उनको सुझाव छ । ‘आत्मा भएको फिल्म बनाउनूस, बल्ल यसले काम गर्न थाल्छ । अन्त्यबाट कहिल्यै कथा सुरु हुँदैन । तिमीले काम गर्नैपर्छ । कथा र पात्रसँग कुरा गर’ तन्नेरी पुस्ताका फिल्ममेकरलाई झाको सुझाव छ ।


Author

थप समाचार
x