सिनेमा

‘तिम्रो मेरो साथ’ बीचैमा छाडेर अर्को फिल्मको प्रचारमा साम्राज्ञी

इकागज |
माघ ३, २०७९ मंगलबार ११:४१ बजे

काठमाडौँ - साम्राज्ञीराज्य लक्ष्मी शाहलाई निर्माताले हत्ते गरेर लिन चाहानुको एउटै स्वार्थ हुन्छ, प्रचारमा अनुहार बिकाउने र हलमा दर्शक तान्ने । साम्राज्ञीका पछिल्ला फिल्मले यी दुवै काम गरिरहेका छैनन् । ‘तिमीसँग’, ‘रातो टीका निधारमा’ र ‘मारुनी’ कुनैले पनि निर्माता जोगाएनन् ।

तर साम्राज्ञीको भाउ भने बढेको बढै भयो । साम्राज्ञीलाई लिएर फिल्मको डुंगा पार लाग्ने अपेक्षासहित निर्माता निर्देशक रमेश एम के पौडेलले उनलाई फिल्ममा अनुबन्ध गरेका थिए । यसका लागि रिलिज अघिदेखि रिलिजको पहिलो हप्तासम्म कलाकारको अपेक्षा गरिन्छ । तर साम्राज्ञीले यो फिल्मलाई समय नदिएको गुनासो रिलिज अघि नै गर्न थालिएको थियो । मोफसलतिरका सहरसम्म निर्माण टोलीसँग घुमेकी साम्राज्ञीलाई रिलिजको संघारमा भने सञ्चारकर्मीले भेट्न सकेनन् । अन्तिम समयमा निर्देशक पौडेल  पुष्प खड्का र सन्दिप क्षेत्रीको भर परेका थिए । 


रिलिजको दिन पनि निर्माताले साम्राज्ञीलाई भेट्न सकेनन् । निर्माण टिम साम्राज्ञीविनै हल हल पुगेको थियो । सोमबार फिल्मको विशेष सो थियो । तर साम्राज्ञी यहाँ पनि थिइनन् । उनी ‘तिम्रो मेरो साथ’ रिलिज भइरहँदा माघ २० मा प्रदर्शन हुन लागेको चलचित्र ‘ह्यारी कि प्यारी’को प्रचारका लागि काठमाडौँबाहिर निस्किसकेकी थिइन् । साम्राज्ञीको यो व्यवहारले निर्माता खिन्न थिए । अनि अन्य केही निर्माताले त फेसबुकमा व्यंग्य पनि गरिहाले, ‘धेरै न सही कम्तिमा दुई तीन दिन त निर्मातालाई साथ दिनुपर्छ नी ।’

फिल्म खेल्दासम्म ठीकै मान्ने कलाकारलाई प्रचारको बेला अनेक हुन्छ । अझ कतिले त प्रचारमा हिँडेको बेग्लै पैसा माग्न थालेको पनि चर्चा सुनिन्छ । फिल्म दर्शकले हेर्ने नहेर्ने आफ्नो ठाउँमा छ तर एउटालाई काखा र अर्कोलाई पाखा गरेको कसलाई पो राम्रो लाग्छ र !
 


Author

थप समाचार
x