सिनेमा

निर्देशक जफर पनाहीले जेलमै सुरु गरे भोक हड्ताल

इकागज |
माघ १९, २०७९ बिहीबार १५:४६ बजे

इरान - राज्यविरुद्ध विद्रोह गरेको आरोपमा जेलमा रहेका निर्देशक जफर पनाहीले जेलमै भोक हड्ताल सुरु गरेका छन् । इरानको अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएपनि प्रहरीले छाड्न नमानेपछि जेलमै भोक हडताल सुरु गरेका हुन् । 

उनले जेल भित्रबाटै विज्ञप्ति जारी गर्दै सरकारको गैरमानवीय र अवैधानिक व्यवहारका विरुद्ध आफूले दबाई, पानी र खाना नखाने बताएका हुन् । उनले सरकारले आफ्नो मृत शरीरलाई मात्र जेलबाट छुट्कारा दिने बेहोरा देखाएकाले आफूले हड्ताल गर्न बाध्य भएको बताएका छन् । 


‘दि सर्कल’, ‘दिस इज नट फिल्म’, ‘ट्याक्सी’ आदि फिल्मका निर्देशक पनाहीलाई सरकारले फिल्म बनाउन नै प्रतिबन्ध लगाएको थियो । त्यसका बावजुद उनले लुकेर फिल्म बनाउने गरेका छन् । परिवार सहित सन् २०१० मा पक्राउ परेका उनलाई ६ वर्षको सजाय सुनाइएको थियो भने २० वर्ष फिल्म बनाउन नपाउने प्रतिबन्ध छ ।

सरकारविरुद्ध प्रोपोगान्डा फैलाएको भन्दै उनलाई सरकारले जेल हालेको थियो । केही समयपछि धरौटीमा रिहा भएका पनाहीको मुद्दा अझै अदालतमा विचाराधिन छ । गत वर्षको जुलाईमा सहकर्मी फिल्मकर्मीको अवस्था बुझ्न सरकारी वकिलको कार्यालय पुगेका उनलाई प्रहरीले समातेर जेल हालेको थियो । 


Author

थप समाचार
x