सिनेमा

सेन्सरविनै हलमा ‘माइकल’, सेन्सर सदस्य थापा भन्छन् –आजको आजै सेन्सर गरेर रिलिज गर्ने हो भने सेन्सरको नाटक किन ?

इकागज |
माघ २०, २०७९ शुक्रबार ८:७ बजे

काठमाडौँ - दक्षिण भारतीय फिल्म 'माइकल' सेन्सरविनै हलमा रिलिज गरिएको छ । सेन्सर सदस्य सन्तोषकुमार थापाले सेन्सरविनै फिल्म हलमा रिलिज हुन लागेकोमा आपत्ति जनाएका छन् । चलचित्र विकास बोर्डले रिलिजको चार दिनअघि नै सेन्सर गर्नुपर्ने नियम भर्खरै पारित गरेको थियो तर यो निर्णयको मसी सुक्न नपाउँदै वितरकले फिल्म सेन्सर नहुँदै बुकिंग खोलेका छन् । बेलुकीतिर राखिएका सोको फाट्टफुट्ट टिकट बिक्री भएको छ । 

सेन्सर बोर्ड सदस्यले चलचित्र विकास बोर्डलाई आफूहरुले गरेको निर्णय पढ्न सुझाउँदै यदि त्यही दिन सेन्सर गरेर त्यही दिन फिल्म देखाउने हो भने निर्णयको नाटक किन भन्दै प्रश्न गरेका छन् । उनले बोर्डलाई केही दिनअघि गरेको निर्णय दोहोर्याएर पढ्न सुझाव दिएका छन् । 


'भोलिदेखि हलमा लाग्ने भनेर प्रचार गरिएको 'माइकल' सिनेमाको अहिलेसम्म सेन्सर भएको छैन । यो सिनेमा भोलिदेखि लाग्ने भनेर प्रचार गरिए पनि सेन्सरविनै गरिँदैछ कि के ? चलचित्र विकास बोर्डले सिनेमा रिलिज हुनुभन्दा खोई कति पो  दिन अगाडि सेन्सर पास गरेको हुनुपर्छ भनेको थियो ? के लिखितमा मात्र सीमित हो यो निर्णय ? 'सेन्सर सदस्य सन्तोषले सामाजिक सञ्जालमा लेखेका छन् । 

चलचित्र विकास बोर्डले सेन्सरलाई व्यवस्थित बनाउने भन्दै हप्ता दिनअघि सेन्सर गर्नुपर्ने नियम ल्याएको थियो । तर चलचित्र संघले आन्दोलन गर्ने धम्कि दिएपछि बोर्डले लचकता देखाउँदै ४ दिनअघि सेन्सर गर्ने नियममा चलचित्र संघसँग सम्झौता गरेको थियो । तर व्यवहारमा भने सेन्सर बोर्डले पुरानो रवैया नछाडेको माइकल प्रकरणले देखाएको छ । हलले बुकिंग खोलेर टिकट पनि बेचिसकेको छ तर फिल्मको भने सेन्सर भएको छैन । अझ केही दिनअघिसम्म त बोर्डले सेन्सर नभएसम्म टिकट बेच्नका लागि चाहिने मुभी कोड पनि नदिने बताएको थियो । तर मन्त्रालयको ठाडो आदेशमा बोर्ड यो निर्णयबाट पनि पछि हट्न बाध्य भएको थियो । 
 


Author

थप समाचार
x