सिनेमा

२०२३ को अस्करमा बनेका नयाँ रेकर्ड

इकागज |
फागुन २९, २०७९ सोमबार १६:३६ बजे

लसएन्जल्स-  ‘एभरीथिङ एभरीह्वेर अल एट वन्स’ले सोमबार बिहान सम्पन्न ९५ औँ एकेडेमी अवार्ड (अस्कर)मा ७ विधामा पुरस्कार जित्यो । सन् २००८ मा रिलिज भएको ‘स्लमडग मिलिनियर’पछि सर्वाधिक अस्कर जित्ने फिल्म बन्यो । ‘स्लमडग मिलिनियर’ले ८ विधामा अवार्ड जितेको थियो । 

योबाहेक ‘एभरीथिङ एभरीह्वेर अल एट वन्स’ अभिनयका विधामा अवार्ड जित्ने मामलामा पनि समग्रमा तेस्रो र ५० वर्षमा पहिलो बन्यो । ५० वर्षअघि ‘स्ट्रिटकार नाम डिजायर’ (२०५१) र ‘नेटवर्क’ (१९७६)ले अभिनय विधामा एउटै फिल्मका तीन अवार्ड जितेका थिए । ‘एभरीथिङ एभरीह्वेर अल एट वन्स’बाट पनि मिसेल योह उत्कृष्ट अभिनेत्री घोषित भइन् भने यही फिल्मबाट के हुवा क्वान र जेमी ली कुर्टिसले सहायक अभिनेता अभिनेत्रीको अवार्ड जिते । 


यो फिल्मका निर्देशक डेनियल क्वान र डेनियल सेचिनर्टले पनि सह निर्माण, सह निर्देशन र सह लेखनमा गरी तीन विधामा अवार्ड जिते । सामूहिक रुपमा डेनियल्स भनिने निर्देशकले कोयन ब्रदर्शपछि यसरी तीन विधाका अवार्ड बाँडेका हुन् । जोयल कोयन र इथन कोयनले १५ वर्षअघि रिलिज भएको ‘नो कन्ट्री फर ओल्ड मेन’बाट यसै गरी लेखन, निर्माण तथा निर्देशन विधाका अवार्ड जितेका थिए । 

डेनियल क्वान चिनियाँ मुलका नागरिकको रुपमा मौलिक पटकथा लेखनमा अस्कर अवार्ड जित्ने पहिलो नागरिक बने । मिसेल योह एसियन मुलको नागरिकको रुपमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने पहिलो कलाकार बनिन् । भियतनाममा जन्मेर अस्कर जित्ने क्वान पनि पहिलो अभिनेता बने । 

भारतले यो साल दुई अस्कर अवार्ड भित्र्यायो । त्यसमध्ये एउटा ‘आरआरआर’को गीत ‘नाटु नाटु’ विशेष रह्यो । भारतमा सम्पूर्ण काम गरेर अस्कर भित्र्याउनमा यसले रेकर्ड राख्यो । १४ वर्षअघि ‘स्लमडग मिलिनियर’बाट एआर रहमानले ओर्जिनल स्कोर र ‘जय हो’ गीतबाट ओर्जिनल गीतको अस्कर थापेका थिए । तर यो फिल्म ब्रिटिश मुलका डेनी बोयलले निर्देशन गरेका थिए । 

रुथ ई कार्टरले ‘ब्ल्याक प्यान्थर ः वाकन्डा फरएभर’बाट कस्ट्युम डिजाइनमा अवार्ड जितिन् । कार्टर यो विधामा अवार्ड जित्ने पहिलो अफ्रिकन अमेरिकन हुन् । उनले यसअघि पनि यही फिल्मको पहिलो भागबाट यो अवार्ड जितेकी थिइन् । यसैगरी गुलिमो डेल टोरोले एनिमेटेड फिल्म ‘पिनाचो’ एनिमेटेट फिल्मबाट अस्कर जिते र समग्रमा उनको यो तेस्रो अस्कर थियो । 


Author

थप समाचार
x