सिनेमा

‘नाईँ नभन्नू ल ६’ को शीर्ष गीतमा आशिर्वाद र आँचलको मोहक नृत्य

इकागज |
चैत ११, २०७९ शनिवार ११:४० बजे

काठमाडौँ- फिल्म ‘नाईं नभन्नू ल ६’ले ‘तिम्रो आँखामा आँखा जुधाइ’ बोलको गीत सार्वजनिक गरेको छ । निर्माण टिमले अघिल्लो शृंखलामा रहेको महिला स्वरलाई समसामयिक परिवर्तन गर्दै पुरुष स्वरमा सार्वजनिक गरेको हो । शुक्रबार युट्युबमा सार्वजनिक गीतमा गायक प्रताप दासको स्वर छ । फिमेल भर्सनमा भने मेलिना राईको स्वर थियो । यद्यपि, मेल भर्सनको गीतको केही हरफ परिवर्तन गरिएको छ भने संगीत पनि फिमेल भर्सनभन्दा फरक छ ।

बसन्त सापकोटाको संगीत रहेको गीतको शब्द रचना विकासराज आचार्य, दिनेश थपलिया, प्रभा आचार्य र संगीतकार सापकोटाको हो । गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र आशिर्वाद क्षेत्री र आँचल शर्माले लोभलाग्दो नृत्य प्रस्तुत गरेका छन् ।  युट्युबमा गीत रिलिजसँगै दर्शकबाट सकारात्मक प्रतिक्रियाको ओइरो लागेको छ ।


नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा आशिर्वाद र आँचलसँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, योगिशा खत्री, अभिनेता निखिल उप्रेतीका छोरा अथर्वको मुख्य भूमिका छ । अनुभव रेग्मी भने केमियो भूमिकामा छन् । फिल्मलाई निर्देशक विकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।


Author

थप समाचार
x