सिनेमा

‘नाङ्गो गाउँ’ मा दया, कार्म र साम्राज्ञीको रुप

इकागज |
चैत १४, २०७९ मंगलबार १२:३६ बजे

काठमाडौँ- निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भैरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । फिल्मको छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन् ।

निर्माणपक्षले सुटिङका तस्बिर सार्वजनिक गर्दै फिल्ममा चरित्रको झलक प्रस्तुत गरेको छ । तस्बिरले फिल्मको कथा त बताउँदैन तर चरित्रको गेटअपको बारेमा भने मोटामोटी अनुमान गर्ने अवसर दिन्छ । तस्बिरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ भने नायक कार्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् । फिल्ममा वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यस्तै, फिल्मकी मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभैसकेको निर्देशक लामाले जानकारी दिए ।


मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो फिल्मलाई हिमाल शर्माले लगानी गरेका हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो वर्षको सुपरहिट फिल्म हो । उनले ‘घामपानी, गोपी, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । लामाको यो फिल्म गाउँमा हुने राजनीति केन्द्रित रहेको बताइएको छ ।  

 


Author

थप समाचार
x