सिनेमा

शुभेच्छालाई ‘प्रेमा’ बन्न सकस

इकागज |
चैत १४, २०७९ मगलवार १६:१५ बजे

काठमाडौँ - अभिनेत्री शुभेच्छा खड्काले ‘प्रेमा’ चलचित्रको शीर्ष भूमिका निर्वाह गर्न सुरुमा अप्ठेरो भएको बताएकी छिन् । मंगलबार पत्रकारसँगको एक साक्षात्कारमा उनले काठमाडौँमा हुर्के बढेकी आफूलाई सुदूरपश्चिमको लवज र शैली समात्न गाह्रो भएकी बताएकी हुन् । ‘निर्देशकले यो चरित्रको कुरा गर्दा एकदमै मनपर्यो र एक्साइटेड भएँ तर कसरी त्यो पात्र निभाउने भन्ने चाहिँ सुरुमा आइडिया भएन,’ उनले भनिन्, ‘ यसका लागि निर्देशकले धेरै सहयोग गर्नुभयो । मैले पनि धेरै मेहनत गरेँ ।

उनले ट्रेलरमा पनि सुदूरपश्चिमको थेगो ‘कसो छ आलो काँचो मूल्या’ प्रयोग गरेकी छिन् । शुभेच्छाले सुरुमा लय भेट्टाउन गाह्रो भए पनि निर्देशकसँग पहिले नै काम गरिसकेकाले धेरै कुरा सहज भएको पनि बताइन् । शुभेच्छाले यो फिल्ममा सोझी र लजालु प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । ट्रेलरले त्रिकोणात्मक प्रेमकथाको छनक दिए पनि यही कोणमा रहेको ट्वीस्ट नै फिल्मको प्राण रहेको बताइन् ।   


आउँदो शुक्रबारबाट प्रदर्शन हुन लागेको ‘प्रेमा’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । उनले यसअघि एक्सन प्रधान ‘रणवीर’को निर्देशन गरेका थिए ।
‘रणवीर’बाट डेब्यू गरे पनि गोविन्द सिंह भण्डारीले ‘प्रेमा’को स्क्रिप्ट सबैभन्दा पहिले लेखेका थिए । भण्डारी ‘प्रेमा’को स्क्रिप्ट सत्य चरित्र प्रेरित रहेको बताउँछन् । उनले वास्तविक चरित्रलाई फिल्मी रुप दिएको बताए ।

‘मैले जीवनमा एउटा मानिस भेटेको थिएँ जसको कथाले मलाई एकदमै प्रभावित गरेको थियो । यही कथालाई मैले फिल्मको ढाँचामा राखेको हुँ । तर यो मध्यम वर्गीय युवा युवतीको साधारण कथा हो । फिल्मका चरित्रमा दर्शकले आफूलाई महसुस गर्नुहुन्छ भन्ने विश्वास छ,’ भण्डारीले भने । फिल्ममा ‘महापुरुष’ अभिनेता अरुण क्षेत्रीले शुभेच्छा र सृष्टि श्रेष्ठको ‘लभ इन्टरेस्ट’को भूमिका निर्वाह गरेका छन् । जापानबाट फर्किएर अभिनेता बन्न लामो संघर्ष गरेका उनले अडिसनमार्फत यो भूमिका पाएको बताए । उनले ‘ज्याकी आइएम २१’ पछि यो फिल्मको अफर आएको र चरित्र मन परेकाले काम गरेको बताए ।

‘म जुन उमेर समूह र वर्गको प्रतिनिधित्व गर्छु, यो कथाको दुनियाँ पनि त्यही नै हो । यसको कथा साधारण छ तर साधारण कुरा उसै गरी भनिँदा ती विशिष्ट हुन्छन् भन्ने लाग्छ । यो फिल्म पनि म र दर्शक दुवैका लागि विशिष्ट हुन्छन् भन्ने कुरामा आशावादी छु,’ अरुणले भने । यो फिल्मका निर्माता विवेक घिमिरे हुन् । उनले यसअघि ‘चिनी कम रङ कडा’ शीर्षकको फिल्म निर्देशन गरेका थिए । यो फिल्मको स्क्रिप्ट पहिलो पटक पढ्दा नै मोहित भएको हुनाले फिल्ममा लगानी गरेको बताए । ‘गोविन्दजीले दिएको स्क्रिप्ट मैले १ घन्टामै पढिसिध्याएको थिएँ । तर पहिलो प्रभाव नै यस्तो भयो कि यो कथामा त फिल्म जसरी पनि बनाउनु पर्छ । यसरी यो फिल्म बन्यो,’उनले भने, ‘भोलि दर्शक पनि यसैगरी यो फिल्म हेरेर मन्त्रमुग्ध हुनुहुनेछ । मलाई पूरा विश्वास छ ।’ 


Author

थप समाचार
x