सिनेमा

‘बुलाकी’ ट्रेलर : जारीको कथा ‘जारी’सँगै रिलिज

इकागज |
चैत १६, २०७९ बिहीबार १७:६ बजे

काठमाडौँ - वैशाख १ गते दर्शकले छानी छानी फिल्म हेर्न पाउने मात्र होइन उस्तै कथाका दुई फिल्म पनि हेर्न पाउने भएका छन् । बिहीबार ‘बुलाकी’ले ट्रेलर सार्वजनिक गरेपछि हलमा कथाको रुपमा ‘जारी’ भर्सेज ‘जारी’को भिडन्त हुने भएको हो । सुरक्षा पन्त र नरेन खड्का अभीनित ‘बुलाकी’ले उठाएको कथा र दयाहाङ राई र मिरुना मगरले अभिनय गरेको कथा ‘जारी’मा दुई विषय दुरुस्तै मिलेका छन् । 

‘बुलाकी’मा सुरक्षा पन्तको चरित्र बाँझो रहेको र सासुबाट यसवापत् दिनहुँ वचन खप्नु परेपछि सुरक्षा अर्को युवकसँग जाने कथा छ । यता ‘जारी’मा पनि मिरुना मगरको चरित्र निःसन्तान छ र मिरुना पनि कालान्तरमा अर्को युवकसँग जान्छिन् । यसपछि दुवै फिल्मको कथा ‘जारी’ तिर्ने–तिराउने प्रसंगले भरिएको छ जसमा अधिकांश दृश्य समान छन् । 


उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ले केही दिनअघि ट्रेलर सार्वजनिक गरेको थियो । यो फिल्ममा दया र मिरुनाका साथमा रोभदिभ श्रेष्ठको मुख्य भूमिका रहेको छ । यता ‘बुलाकी’मा भने नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टको मुख्य भूमिका रहेको छ । एउटाको परिवेश पूर्वको लिम्बू गाउँ रहेको छ भने ‘बुलाकी’ कर्णाली प्रदेशको पृष्ठभूमिमा खिचिएको छ । ‘बुलाकी’ले लवज र भेषभुषालाई पनि चित्रण गरेको छ । 

‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । मोती बिष्ट र टोपेन्द्र बिष्टको लगानी रहेको फिल्मलाई राजबहादुर सानेले लेखेका हुन् । फिल्मलाई शिव ढकालले छायांकन गरेका हुन् । 

 


Author

थप समाचार
x