सिनेमा

पर्दाका ‘चाणक्य’सँग फिल्मी शास्त्रार्थ

सामीप्यराज तिमल्सेना |
चैत २१, २०७९ मंगलबार ८:२७ बजे

इसापूर्व ३७० मा तक्षशिलामा चानकको छोराका रूपमा चाणक्यको जन्म भएको थियो । चाणक्य सुरुमा तक्षशिलाका आचार्य थिए । भारतीय उपमहाद्वीपमा तक्षशिला र नालन्दा नामका दुई सुविख्यात विश्वविद्यालय भएको प्रमाण भेटिन्छन् र चाणक्य यसमध्ये तक्षशिलाका शिष्य थिए र कालान्तरमा यसैमा आचार्य थिए । उसबेलाको भारत सानासाना जनपदमा विभाजित थियो र शक्ति हत्याउने अभिप्रायले एकअर्काको जनपदमा धावा बोलिरहन्थे । 

चाणक्यको गृहनगर मगधमा नन्दवंशको शासन थियो । किवंदन्तीअनुसार एक दिन यसका राजा धनानन्दले चाणक्यको अपमान गरे । राजाको अपमानले चाणक्य यति क्रोधित भए कि उनले शिखा बाँधेको टुप्पी खोलेर नन्द वंशको विनाशको कसम खाए । नभन्दै उनले यसको केही वर्षपछि नै नन्द वंशको शासन समाप्त पारेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए र भारतमा मौर्य वंशको शासन सुरुवात भयो जुन सम्राट अशोकको पालासम्म निरन्तर रह्यो । तिनै सम्राट् अशोक जसले बुद्धको जन्मस्थल लुम्बिनी पत्ता लगाए । इतिहासकारका अनुसार सम्राट् अशोकपछि भने उनका सन्तानले मोर्य वंशलाई निरन्तरता दिन सकेनन् र यो राज्य अरुकै अधीनस्थ हुन गयो । 


चाणक्यले जीवनकालमा गरेका यथार्थ, कल्पना वा तिलस्मी कामका अनेक किस्सा भारत वर्षमा प्रचलित छन् । राज्य व्यवस्थादेखि जीवन–जगत्का साना–साना कुराबारे लेखिएका अर्थशास्त्र र चाणक्यनीति अहिलेको समयमा बेस्टसेलर बन्दै गरेका पुस्तक छन् । तर चाणक्यको यो योगदान भारत वर्षमा ३० वर्षअघिसम्म उति धेरै चर्चाको विषय थिएन । तर सन् १९९१ देखि भारतको दूरदर्शन टिभीमा प्रसारण भएको ‘चाणक्य’ले यसलाई नयाँ जीवन दियो । यसलाई नयाँ जीवन दिने व्यक्ति थिए लेखक, कलाकार तथा निर्देशक चन्द्रप्रकाश द्विवेदी । 

यिनै चन्द्रप्रकाश द्विवेदी आइतबार स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको निम्तोमा कुपण्डोलस्थित होटल हिमालयमा उपस्थित भएका थिए । भारतीय मूल्य–मान्यता, संस्कार–संस्कृति र सिनेमा निर्माणको ३० वर्षे लामो अनुभव बाँड्न उपस्थित द्विवेदीले फिल्म निर्माणबाहेक भारत वर्षका सांस्कृतिक मूल्य मान्यताका सरलता तथा जटिलताका बारेमा कुरा गरेका थिए । द्विवेदीसँग स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावारी वापटले कुरा गरेकी थिइन् । 

बाल्यकालका स्मृति हुँदै सिनेमाको दुनियाँमा प्रवेशको किस्सा सुनाएका द्विवेदीले आफू संस्कृत शिक्षकको घरमा जन्मिएको र बाल्यकालमा नै रामायण, महाभारत र चाणक्य जस्ता ग्रन्थ पढेको स्मरण गरेका थिए । सजिलै बुझिने यी ग्रन्थ त भइहाले उनले गुरु थापेर बढ्नुपर्ने कठोपनिषद् जस्ता उपनिष्दका किताब पनि बाल्यवयमै छिचालेका थिए । 

‘पढ्नेबाहेक खै कसरी हो मलाई सिनेमामा पनि रुचि थियो । भागी भागी फिल्म हेर्थे । स्कुलमा हेरेँ र कलेजमा पुग्दा पनि यो आदत छुटेन । शिक्षकलाई सधैँ मेरो एटेन्डेन्समा गुनासो हुन्थ्यो । तर म सुध्रिनँ,’ उनको परिचयसँग जोडिएका दुई कुराको जवाफ एकैपटक दिँदै उनले भने ।

सानोमा परेश रावलको नाटक देखेर नाटकतिर पनि समय बिताएका उनले सिनेमा हेर्दा कहिल्यै पनि रमाइलोका लागि नहेरेको बताए । ‘मैले कहिलै पनि इन्जोय गर्नका लागि भनेर सिनेमा हेर्न सकिनँ । कहिले कलाकार दायाँबायाँ भएका सामानमा ध्यान जान्थ्यो त कहिले प्रकाशमा,’ उनले बताए, ‘प्रिय वा श्रेय बन्‍ने लोभमा मैले सिनेमा चुनेँ ।’

नभन्दै सन् १९९१ देखि १९९२ अगस्ट ९ सम्म दूरदर्शन टेलिभिजनमा प्रसारण भएको ‘चाणक्य’ले उनलाई रातारात सबैको प्रिय बनायो । यो यस्तो सिरियल बन्यो जो महाभारत र रामायणपछि टेलिभिजनमा सबैभन्दा लोकप्रिय सिरियल बन्यो । तर यो सिरियल बनाउनुअघि र बनेपछि पनि समान रूपमा उनले यसको पीडाको साक्षी बस्नुपर्यो । टेलिभिजनले धेरै वर्षसम्म यो सिरियल बनाउन नचाहेको उनको भनाइ थियो । 

‘चाणक्य आज तपाईंले सोचेजस्तो सजिलो गरी बनेको हैन । बहुत धक्का खानु परेको थियो । प्रसारण भएपछि पनि कहिले राष्ट्रियताको कुरा त कहिले केशरी रङको प्रयोगलाई लिएर विवाद भएको थियो । तर मैले यो सिरिज ९ वर्ष लगाएर लेखेको थिएँ र मसँग हरेक कुराको जवाफ थियो’ उनले दिक्क मान्दै जस्तो गरी सुनाए । 

द्विवेदीले विवादको विषयमा खुलेर कुरा नगरे पनि उसबेला सिरिजलाई अहिले सरकारमा रहेको भारतीय जनता पार्टीको धार्मिक सिद्धान्तलाई पक्षपोषण गर्ने अभिप्रायले बनाएको आरोप लागेको थियो ।

यही सिरिजमा चन्द्रप्रकाश द्विवेदीले कलाकारका रूपमा पनि दमदार अभिनय गरेका छन् । तर उनले शुद्धसँग संवाद बोल्ने र चाणक्यको कदकाठी मिल्ने अभिनेता नपाएकाले आफैँ अभिनय गरेको बताएका थिए । 

‘चाणक्य’पछि द्विवेदीले भारत–पाकिस्तान विभाजनमाथि अमृता प्रितमले लेखेको उपन्यासमा आधारित रहेर ‘पिन्जर’ भन्‍ने सिनेमा बनाएका थिए । चलचित्र क्षेत्रमा बेच्ने र बेचाउनेका माग अनेक हुने भएकाले कहिले निर्माताले आइटम गीत राख्न कर गरेको त कहिले कमेडियन राख्न दबाब दिएको स्मरण गरेका थिए ।

‘पहिले त आइटमको खिलाफमै थिएँ तर संगीत भारत वर्षको अभिन्‍न अंग रहेछ भन्‍ने अहिले महसुस भएको छ,’ उनले बताए । यसपछि उनले इन्द्र देवता र ब्रह्माको एउटा पौराणिक गाथा सुनाए । द्विवेदीका अनुसार ब्रह्माले देवताको मनोरञ्जनका लागि भनेर एउटा नाटक लेखेका रहेछन् ।

देवताका राजा इन्द्रले यो नाटकको मञ्चनको जिम्मा भरतमुनिका सय भाइ छोरालाई दिएछन् । केही दिनको अभ्यासपछि भरतमुनिले नाटक तयार गरेर ग्रान्ड रिहर्सलका लागि ब्रह्मासहित बाँकी देवता सबलाई बोलाए । तर नाटक हेर्दा ब्रह्मालाई कता के के नपुगे जस्तो महसुस भएछ । के पुगेन भनेर गम खाँदै गर्दा उनलाई महसुस भएछ, ‘अरे नाटकमा त शृंगार रस नै छैन । अनि कसरी रमाइलो हुन्छ त ।’ यसपछि उनले इन्द्रलाई २० जना अप्सरा राखेर फेरि रिहर्सल गर्न आदेश दिएछन् । यसपछि नाटक ब्रह्माले सोचेजस्तै स्वादको भएछ । 

यही प्रसंगमा उनले ‘पिन्जर’ भन्‍ने सिनेमा आफैँलाई लामो लागेर गुलजार र जावेद अख्तरलाई देखाएको तर काट्ने ठाउँ नदेखेको सुझाव पाएको स्मरण गरेका थिए । यही क्रममा उनले जावेद अख्तरसँगको अर्को घटना पनि स्मरण गरेका थिए ।

‘चाणक्य’पछि द्विवेदीले महाभारतका पात्र कर्णलाई लिएर ‘मृत्युञ्जय’ भन्‍ने सिरियल बनाएका थिए । शिवाजी सावन्तको उपन्यासमा आधारित सिरियल १३ भाग बनाएपछि टेलिभिजनले यो सिरियल बन्द गर्ने निर्णय गरेको थियो । तर यो सिरियलबाट द्विवेदीले उत्कृष्ट सिरियल र निर्देशकको अवार्ड जितेका थिए । उनले खासमा ‘महाभारत’ कस्तो हुनुपर्छ भनेर देखाउन यो सिरियल बनाएको तर दिनदिनै गाली खान परेको स्मरण गरेका थिए ।

‘बीआर चोपडाले बनाएको महाभारतमा चरित्र मात्र देखिन्छन्, समाज देखिन्‍न । हर कोही जतिबेला पनि कवच वा मुकुट लगाएर बस्छ । यस्तो त महाभारत कालमा छँदै थिएन । म देखाइदिन्छु असली महाभारत भनेर मैले यो बनाएँ । तर कसैले पनि रुचाएन,’ उनले सुनाए । तर यही सिरिजपछि जावेद अख्तरसँगको भेटको किस्सा भने रोचक रहेछ । 

स्क्रिन भिडियोकोन अवार्डको मुख्य जुरी जावेद अख्तर रहेछन् । उनले ‘मृत्युञ्जय’ हेरेपछि यसले त महाभारत नै अर्कै बनाएछ । अवार्ड यसैलाई दिऊँ भनेर बाँकी सदस्यलाई पनि मनाएछन् । यसरी अवार्ड पाएको भोलिपल्ट जावेद अख्तरले द्विवेदीलाई भेट्न घरमा बोलाएछन् । क्षेमकुशलको वार्तालापपछि जावेद अख्तरले सिरियलको तारिफ गर्दै ‘कस्तो चल्दै छ ?’ भनेर सोधेछन् । यसमा द्विवेदीले जवाफ दिएछन्, ‘हो सिरियल त राम्रै थियो तर आजैबाट बन्द भयो ।’

उनले यो सिरियलबाट मान्छेको मनमा बसेको कुराको उल्टो जानु गलत रहेछ भन्‍ने शिक्षा लिएको बताए । द्विवेदीले अब प्रदर्शन हुन लागेको ‘आदिपुरुष’का निर्देशकले खेपिरहेको गाली पनि यहीअन्तर्गत रहेको बताएका थिए ।

‘पोस्टर सार्वजनिक हुनेबित्तिकै त्यसका निर्देशक ओम राउतले गाली खाइरहेका छन् । रामले छालाको लुगा लगाउँदैनथे, हनुमान त्यस्ता थिएनन्, आदि आदि भनेर । तर वाल्मीकि रामायणमा बकाइदा यो कुरा लेखिएको छ,’ उनले स्पष्ट पारे, ‘वाल्मीकि रामायणमा रामलाई मान्छे जसरी नै प्रस्तुत गरिएको छ ।

त्यहाँ दशरथले रामलाई वनवास जाने आदेश दिएपछि लक्ष्मणले रिसाएर पिता दशरथ तरुनी श्रीमतीको वशीभूत भएर जथाभावी आदेश दिएको र दशरथलाई कैद गरेर राज्य चलाउनुपर्ने, यो बीचमा भरत आए भरतलाई पनि काट्ने कुरा छ । तर तुलसीदासकृत रामायणमा यी सारा प्रसंग छैनन् । जरासम्म नपुगेपछि हाँगाबिँगा नै अन्तिम सत्य हुनेरहेछ । यसका लागि अरुले भनेको कुरा सुन्‍नुपर्छ । तर हामीले त्यो धैर्य गुमाइसकेका छौँ ।

दुई घन्टा बढी चलेको अन्तक्र्रियामा उनले धर्म, संस्कृति, गुरु–शिष्य सम्बन्ध र आफ्ना फिल्ममा देखिने ऋतु चरित्रको चर्चा गरेका थिए । अन्तक्रियाको अन्त्यतिर उनले सन् २००४ मा पहिलोपल्ट नेपाल आएको र नेपालको सम्पदा देखेर फिल्म खिच्ने मनसायले तीन वर्षपछि आउँदा भिड देखेर अत्तालिएपछि फिल्म बनाउने सोच त्यागेको बताएका थिए ।

‘म २००४ मा चितवन आएको थिएँ । यहाँको भक्तपुर, वसन्तपुर आदि ठाउँ देखेर यहाँ सुटिङ गर्छु भनेर कथा तयार गरेँ । अमिताभ बच्चन र तब्बुलाई लिने गरी काम अगाडि बढ्यो । तर सन् २००७ मा एयरपोर्टमा मानिसको भिड देखेर म आत्तिएँ,’ उनले सुनाए, ‘अमिताभ लिएर यस्तो भिडमा सुटिङ गर्न सकिन्‍न भन्‍ने भएपछि म फर्किएँ । तर यो पटक धेरै शान्त लाग्यो । म दुइटा फिल्म बनाउने तयारीमा छु । सुटिङ नभए पनि म दुइटा फिल्मका लागि यहाँका कलाकारको जरुर अडिसन लिन्छु ।’

जाँदाजाँदै उनले  नेपाल र भारतका कलाकारबीच कम्युनिकेसन ग्याप रहेकाले यसलाई तोड्न सहकार्य गर्नुपर्ने धारणा राखेका थिए । उनले आफूले पहिलो काम गरेको ‘चाणक्य’का मुख्य सहायक निर्देशक प्रेम रावल नेपालकै रहेको बताउँदै उनलाई सम्पर्कका लागि अनुरोध गरेका थिए । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x