सिनेमा

विम्ब र प्रतीकमा भनिएको पितृसत्ताको कथा

सामीप्यराज तिमल्सेना |
चैत २६, २०७९ आइतवार ८:२६ बजे

पितृसत्ता यस्तो सामाजिक व्यवस्था हो जहाँ परिवारका सारा निर्णय एक्लो पिताको अधिनमा रहन्छ । यसले महिलाले लिन सक्ने सारा स्व निर्णयको अधिकार खारेज गर्छ र महिलालाई उनीहरूको आदेश पालकको रुपमा चित्रित गर्छ । शुक्रबारबाट हलमा लागेको ‘बहाव’ पितृसत्ताका यस्तै अनेक स्वरुप देखाउने फिल्म हो । यो फिल्म हेरिरहँदा पुरुषले कसरी घरका महिलाको आत्म निर्णयको अधिकारलाई बेवास्ता गर्छ र महिला विद्रोह गर्न बाध्य हुन्छन् भन्ने देखाएको छ । 

नेपाली साहित्यमा ‘तीन घुम्ती’, ‘अनुराधा’, ‘मसान’ जस्ता केही कृतिहरू छन् जसले नेपाली महिलाले गरेको विप्लवलाई सानदार ढंगले प्रस्तुत गरेका छन् । तर नेपाली सिनेमामा लगभग यो पहिलो फिल्म हो जसले सचेतताका साथ ‘पित्तृसत्तात्मक’ सोच र त्यो विरुद्ध महिलाले गरेको विद्रोहलाई सुन्दर तरिकाले पर्दामा उतारेको छ ।


उसो त सुरक्षा पन्त अभीनित ‘बहाव’मा पितृसत्ताबाहेक राजनीतिक दर्शक, मानसिक समस्या र सामाजिक संरचनाका समस्यालाई पनि स्थान दिइएको छ ।  तर कथामा पितृसत्ता सिर्जित समस्यालाई मियो मानेर कथानक अघि बढाइएको छ । 

चितवनको एउटा क्याम्पसमा माइक्रोबायोलोजीकी विद्यार्थी हुन् ,सन्ध्या (सुरक्षा पन्त) । सन्ध्या आफूसँगै पढ्ने समीर (पवन श्रेष्ठ)लाई प्रेम गर्छिन् र समीरले आँटे, उनले लिने निर्णयमा साथ दिने ढाडस दिन्छिन् । तर समीरले केही आँट्न अघि नै घरमा सन्ध्यालाई अमेरिकाको केटो माग्न आउँछ । सन्ध्यालाई जानकारी पनि नदिई घरमा बोलाइएको केटोलाई फकाएर इन्कार गर्न लगाउँछिन् । केटोले इन्कार गर्ने वाचा त गर्छ तर गर्दैन । उल्टै मन पराएको सन्देश छाडेर जान्छ । यसपछि सन्ध्याको सामु प्रेमी खुलासा गर्नेबाहेक अर्को विकल्प बाँकी रहँदैन । तर यसपछि सन्ध्याले यो रहस्य बताएवापत् जे जस्ता निर्णय लिनुपर्छ त्यो नै ‘बहाव’को एकसरो कथा हो । 

नेपाली समाजमा रहेका पितृसत्ताका अवशेषलाई निर्देशकले थुप्रै दृश्यमार्फत अभिव्यक्त गर्ने प्रयास गरेका छन् । पहिलो त सन्ध्यालाई थाहा पनि नदिई केटा हेर्न बोलाउनु हो । अझ त्यही दृश्यमा सन्ध्याले मलाई रिजेक्ट गर्नु भनेर गरेको अनुरोधलाई हेर्न आएको केटाले उल्टो बिहे गर्छु भन्नुले पुरुष मानसिकतालाई झल्काउँछ । यति मात्र होइन सन्ध्याका बुबा (कमलमणि नेपाल) सन्ध्याको रुचि थाहा पाएर पनि झर्को फर्को गरेर सन्ध्यालाई जबर्जस्ती विवाहका लागि बाध्य पार्न चाहान्छन् ।

यसले भारतीय लेखिका कमला भासिनले भनेझैँ पितृसत्ताले महिलाको निर्णय गर्ने अधिकारलाई पनि कुण्ठित गरेको देखिन आउँछ । त्यस्तै एक दृश्यमा कमलमणिले सन्ध्या र आमालाई बाहिर पठाएर काका र भाइलाई भने सँगै राखेर छलफल गरेको दृश्यले यो सोचलाई घनिभूत बनाएको छ । अन्तिममा सन्ध्याले विवाहलाई पिंजडाको रुपमा व्याख्या गर्दै आफ्नो प्रेमीसँगको यात्रामा पनि पूर्णविराम लगाउँछे । यो दृश्यले पितृसत्ता विरुद्ध महिलाले अपनाउन सक्ने विद्रोहको चक्रलाई पूरा गरेको छ । 

पितृसत्ताबाहेक सिनेमाले मानसिक स्वास्थ्यलाई पनि आफ्नो विषय बनाएको छ । परिवारमा आफ्नो कुरा सुनिदिने कोही नहुनु, यस्ता रोगीका लागि सबैभन्दा ठूलो समस्या हो । त्यसैले सन्ध्या बारम्बार आफूभन्दा सानो भाइलाई ‘तँ तँ मेरो कुरा बुझ्छस् नी’ भनेर सोधिरहन्छे । तर एउटा विन्दुमा आएर भाइले पनि कुरा नबुझेको महसुस गरेपछि सन्ध्या भाइलाई पनि थाहा नदिई निर्णय लिन बाध्य हुन्छे । 

योबाहेक सिनेमाले सन्ध्याको उकुसमुकुस र छटपटीबाट यो समस्यालाई उजागर गर्ने प्रयास गरेको छ । तर यो समस्या सुषुप्त छ । सिनेमाको मूल कथा सन्ध्याले वैचारिक रुपमा तय गर्ने बाटोमा केन्द्रित रहेकाले यो विषय सिनेमामा मज्जाले मुखरित भएको छैन ।

सिनेमामा देखिएको अर्को तह वैचारिकीको छ । सिनेमा भित्र सन्ध्याले वामपन्थी विचारधाराको प्रतिनिधित्व गर्छे र उसले यसको वैचारिक खुराक कार्ल माक्र्स ‘दि कम्युनिस्ट मेनिफेस्टो’, चैतन्य मिश्रको ‘लोकतन्त्र र साम्यवाद’ जस्ता किताबबाट ग्रहण गरेकी छे । भित्तामा चे ग्वेभाराको तस्बिर र महत्वपूर्ण समयमा उस्तै गेटअप धारण गराएर निर्देशकले सन्ध्याको चरित्र क्रान्तिका मुख्य नायकहरूसँग परिचित रहेको सन्देश दिएका छन् ।

यी सब कुराले उसमा विद्रोहको बिऊ हुर्किरहेको महसुस गर्न सकिन्छ । तर ‘दि कम्युनिस्ट मेनिफेस्टो’पढेकै भरमा ऊ वामपन्थी हो भनेर सामान्यीकृत गरिहाल्न भने मिल्दैन । किनकि लेखकसमेत रहेका प्रमोद कँडेलले चरित्रलाई बिपीको आत्मवृतान्त पनि पढाएका छन् । यसले निर्देशक राजनीतिक विचारधारा भन्दा पनि चरित्रमा क्रान्तिको पृष्ठभूमि तयार गरिरहेका छन् भन्ने अर्थ लगाउनु ज्यादा समझदारी हुन्छ । किनकि फिल्मले एक शब्द पनि राजनीतिको बारेमा बोल्दैन । बरु सिनेमाको सुरुमै रातो रङको व्याख्या गर्दै रातो रङ विद्रोहको रङ भएको जनाउ दिन्छ ।  

वैचारिक रुपमा बहलु विषय र बहुल अर्थ निकाल्न सकिने फिल्म हो ‘बहाव’ तर सानो कथानकमा यी सबै विषय हाल्दा फिल्मले सबै विषयलाई उत्तिकै न्याय गर्न सकेको छैन । सन्ध्याले पढिरहेका किताबको क्यानभाष ठूलो छ तर सन्ध्याले लिने निर्णय घरेलु । यो ग्याप दर्शकसँग मज्जाले जोडिएको छैन । सन्ध्याले लिने निर्णयलाई बलियो बनाउन जुन दृश्यहरूको आवश्यकता थियो, त्यसमा पनि लेखक निर्देशकले हतार गरेका छन् । यसले सिनेमाको अन्त्यलाई क्लिष्ट बनाएको छ । बाँकीले हिँडिरहेको बाटो छोडेर नदीमा उल्टोतिर बगिरहेको दृश्य अर्थपूर्ण छ तर पर्दामा यो कुरा मज्जाले स्थापित भएको छैन । 

सन्ध्याले एउटा पुरुषको पिँजडाबाट सरेर अर्को पिँजडामा जानु कुनै फरक नभएको भन्दै प्रेमीलाई नमीठोसँग विदा गर्छे । तर ८ वर्षे लामो प्रेम सम्बन्धमा रहेको सन्ध्याको प्रेमी उसलाई फकाउने वा मनाउने कुनै प्रयत्न पनि गर्दैन । यो दृश्य चरित्र भन्दा पनि निर्देशक हाबी भएको दृश्य हो । यसले स्वाभाविक रुपमा उत्पन्न हुने कन्फ्लिक्टको सम्भावनालाई नजरअन्दाज गरेको छ । 

सन्ध्याको रुपमा सुरक्षा पन्तले बन्द कोठामा गर्ने अनेक हाउभाउ पनि पर्दामा निष्प्रभावी महसुस हुन्छन् । सन्ध्याको जीवनमा चलिरहेको आँधीबेहरी अभिव्यक्त गर्न कलाकारले र निर्देशकले छानेका गतिविधि नयाँ छैनन् र तिनले कथामा नयाँ आयाम पनि ल्याउँदैनन् । यो फिल्मको बिझाउन बाटो हो । योबाहेक सन्ध्याले अन्तिममा लिने निर्णय पनि हठात् पर्दामा आएको छ । यसका लागि फिल्मले केही दृश्यको माग गर्छ जुन नहुँदा सिनेमाको अन्त्य खल्लो भएको छ । लेखकले सन्ध्याको चरित्रमा मात्र बढि ध्यान दिँदा प्रेमीको चरित्र थपना मात्र भएको छ । फिल्मले परिवारको तर्कलाई सपाट छाडेको छ । यसले परिवारभन्दा सन्ध्या सही हो भन्‍ने भाव जगाउन सकेको छैन । यसले  सिनेमाको मूल द्वन्द्व फितलो बनेको छ ।

युवा युवतीको प्रेममा परिवार बाधक बन्ने कुरामा बनेका सिनेमाको लिस्टमा दुई चार थान किताब नै निस्कन सक्छन् । तर यही कथालाई प्रमोदले दृश्य–अदृश्य विम्ब र महिलाको स्व निर्णय अधिकारको वैचारिकीसँग घोलेर प्रस्तुत गरेका छन् । पहिलो फिल्ममै समाज, विचार, दर्शन, मनोविज्ञान र मनोरञ्जन यसरी एकसाथ प्रस्तुत गर्न सक्नु निर्देशक प्रमोदको खुबी हो । यो खुबीका लागि प्रमोद धापका हकदार छन् । 

कथासँग निर्देशक प्रमोदले दृश्य भाषाबाट पनि नेपाली सिनेमाका लागि नयाँ प्रयोग गरेका छन् । सन्ध्याको परिवार वर्ग नमिल्ने प्रेमीको रहस्योद्घाटनसँगै उथलपुथल हुन्छ । त्यसैले पर्दाभित्र सिनेमाका दृश्य पनि संगतिमा देखिन्नन् । जसरी हिजोसम्म मिलेर बसेको परिवारलाई एकअर्काको साथ असहज भएको छ, दर्शकलाई छायाँकारले असहज बनाएका छन् । क्यामराका फ्रेम विवादका समयमा मज्जाले हल्लिन्छन् । 

यसैगरी फिल्म भित्रका चरित्रले ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ विचारधाराको प्रतिनिधित्व गर्छन् । ‘वामपन्थी’ अर्थात् क्रान्तिकारी र  ‘दक्षिणपन्थी’मतलब यथास्थितिवादी । निर्देशक र छायाँकार मिलेर क्यामरामार्फत पनि यथास्थिति र क्रान्तिकारीको जीवन दर्शनलाई स्थापित गरेका छन् । नयाँ विचारको पक्षमा रहेकी सन्ध्यालाई कहिलै पनि बायाँतिर बसेको देख्न सकिन्न ।

उता सन्ध्याको पिता (कमलमणि नेपाल) कहिलै दायाँतिर बस्दैनन् । जो सुरक्षा र कमलमणिको बीचमा छन, उनीहरू पर्दामा बीचैमा मात्र देखिन्छन् ।तर कहिलेकाहिँ क्यामरा हल्लिने क्रम अलि बढि नै भएको पनि महसुस हुन्छ । 

छायाँकनपछि यो फिल्मको पाश्र्व संगीत पनि मज्जाको छ । यो फिल्ममा निर्देशकले सिंक साउन्डको प्रयोग गरेका छन् । यो प्रयोग आफैँमा नेपाल जस्तो सम्झौता गरेर लोकेसन खिच्नपर्ने अवस्थाका लागि जटिल काम हो । तर सम्राट खनालले यो प्रक्रियामा जित हासिल गरेका छन् । पर्दापछाडि गुञ्जन संगीतले दृश्यको भावलाई उठाउन मद्दत गरेका छन् जुन नेपाली सिनेमामा विरलै महसुस गर्न पाइन्छ । चर्को पाश्र्व संगीत राखेर दर्शकलाई विरक्त्याउने समस्या यो फिल्ममा छैन । 

‘बहाव’ चरित्र प्रधान सिनेमा हो । यसका चरित्र जताजता जान्छन् फिल्मको कथा त्यतैत्यतै जान्छ । यस हिसाबले कलाकार यो फिल्मका महत्वपूर्ण हिस्सा हुन् । फिल्ममा कलाकार धेरै छैनन् । चाहिने छन् र चाहिने अभिनय गरेका छन् । तर पनि कथाको केन्द्रमा सुरक्षा पन्त छिन् जसले चञ्चले प्रेमीदेखि विद्रोही युवतीसम्मको अभिनय सक्षमतापूर्वक प्रसारण गरेकी छिन् । समग्रमा सुरक्षाको चरित्र कम्प्लेक्स छ । उनको मनमा एक साथ अनेक विचार खेलिरहेका छन् ।

पर्दामा उनले यो अवस्थालाई सकुशल चित्रण गरेकी छिन् । चरित्रले गर्ने गतिविधिमा निरपेक्ष हुनजानु पर्ने नेपाली फिल्मको समस्या हो । तर सुरक्षाको चरित्रले आफूसँगै दर्शकलाई यात्रामा हिँडाउन सफल भएको छ । योबाहेक सुरक्षाको बाबु बनेका कमलमणि नेपाल, काका बनेका सूर्यनाथ भट्ट र भाइ बनेका इरफान अली सबैले राम्रो अभिनय गरेका छन् । भाइ बनेका इरफानको अभिनय थप राम्रो भएको भए, फिल्म थप खँदिलो हुन्थ्यो तर पनि इरफान एकदमै बिझाएका भने छैनन् ।

निर्देशक प्रमोद कँडेलले कथा प्रस्तुत गर्ने क्रममा प्रशस्त विम्बहरूको प्रयोग गरेका छन् । उनले प्रयोग गरेका विम्बमा सुँगालाई प्राथमिकताका साथ देखाइएको छ । फिल्मको सुरुवात पिँजडाको सुगाबाट भएको छ र अन्त्य पनि । तर यसमा निर्देशकले अन्त्यमा देखाएको दृश्य व्याख्यालायक छ । सिनेमाको अन्त्यमा काका बनेका सूर्यनाथले पिँजडाको ढोका खोलेका छन् तर निर्देशकले पिँजडा उडेको देखाएका छैनन् । यसबाट उडान भर्ने नभर्ने सुँगाको रोजाइ हो तर कमसेकम कसैलाई पिँजडामा कैद बनाउनु हुन्न भन्ने सन्देश प्रवाह गर्न खोजेको अर्थमा लिन सकिन्छ । त्यसैगरी हरियो रङ, रातो रङ, क्याक्टस र कोठाको लाइटिङ आदिमार्फत पनि निर्देशकले कथा वाचन गर्ने प्रयास गरेका छन् । 

झिनो कथालाई रोचक तरिकाले प्रस्तुत गर्न सक्नु निर्देशकको खुबी हो । ‘चिनुवा अचेबेले भनेझैँ संसारभर नै ‘म्यारिज इज अ प्राइभेट अफेयर’ हैन । विवाह सतहमा हेर्दा सानो तर अनेक उल्झन बोकेको संरचना हो । निर्देशकले यही उल्झनलाई खोतल्दै एउटा अर्थपूर्ण प्रयास गरेका छन् । प्रयासले आफैँमा पूर्णता प्राप्त नगर्न पनि सक्छ तर कहिलेकाहीँ गन्तव्यमा नपुगे पनि यात्राले आनन्द दिन्छ । ‘बहाव’लाई यही श्रेणीमा राख्दा फरक पर्दैन । 

लेखक निर्देशक : प्रमोद कँडेल
छायाँकार : कार्तिके समिता कर्नाटक
निर्माता : श्रीधर पौडेल
कलाकार : सुरक्षा पन्त, कमलमणि नेपाल, सूर्यनाथ शर्मा भट्ट,अफरान अली आदि


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x