सिनेमा

फिल्म फिचर

फिल्म बनाएर श्रीमान्‌लाई ‘सरप्राइज’ दिन चाहन्थिन् बिना तर...

सामीप्यराज तिमल्सेना |
बैशाख ३१, २०८० आइतवार १३:४३ बजे

आउँदो शुक्रबार एउटा चलचित्र सार्वजनिक हुँदैछ, नाम हो, ‘ए साथी सुन’ । प्रेमकथाको झल्को दिने यो चलचित्रले सुन भनेर केही बताउन चाहे पनि नढाँटीभन्दा यो चलचित्रको नाम नै सम्भवतः फिल्म हेर्न जाने दर्शकले सुनेका छैनन् । 

फिल्मको गीत,टिजर, ट्रेलरका समाचार फाट्टफुट्ट आएका छन् तर अहिले रोइकराइ गर्ने र अनेक फन्डा गर्दा पनि दर्शकले नेपाली फिल्मलाई चासो दिन छाडेको अवस्था छ । यो फिल्मका न कलाकार न निर्माता यस्ता फन्डा जान्दा पनि जान्दैनन् । जाने पनि सायद यस्ता फन्डामा उनीहरूलाई विश्वास छैन । सारमा यो फिल्म प्रचारको परिदृश्यमा गुमनाम छ ।


केही दिनअघि सार्वजनिक ट्रेलरले फिल्म रोमान्टिक थ्रिलर श्रेणीमा बनेको झल्को दिन्छ । फिल्मको कथाले भोलि दर्शकलाई कस्तो अनुभव दिन्छ त्यो त फिल्मको प्रदर्शनपछि नै भन्न सकिन्छ । तर यो फिल्मको निर्माण कथा भने आफैँ फिल्म भन्दा कम छैन । खासगरी फिल्मकी निर्माता बिना कार्कीको आफैँ फिल्म जस्तो छ । बिनाले यो फिल्म श्रीमान्‌लाई ‘सरप्राइज’ दिन बनाएकी थिइन् तर जिन्दगीले उनका लागि अर्कै नमिठो ‘सरप्राइज’ ठिक्क पारेको थियो ।

काठमाडौँमा जन्मिएकी बिना कार्कीले सानो उमेरमा नै बैंकिङ करिअर सुरु गरेकी थिइन् । यतिबेला उनको उमेर २० आसपास थियो । यसरी जागिर गरिरहँदा नै काठमाडौँकै भोजराज सञ्जेलसँग उनको मागी विवाह भयो । यसको तीन वर्षमा उनले एउटा छोरालाई जन्म दिइन् । 

भोजराज सञ्जेल भक्तपुरको एउटा स्कुलका  सेयर होल्डर थिए र अन्त्यन्त राम्रो टिचर । तर स्कुलका मुख्य सेयर होल्डर अरु नै आर्थिक गतिविधिमा फसेपछि स्कुल छिन्न भिन्न भयो । सेयर होल्डर रहेको भोजराजले स्कुल छाड्न पर्ने भयो । तर वर्षौँसम्म सेयर होल्डर रहेर बसेका भोजराजलाई अर्को स्कुलमा शिक्षक मात्र बनेर पढाउन मनले दिएन । दम्पत्तिले विदेश जाने सोच बनाए । अष्ट्रेलिया जाने कोशिस गरे तर भिजा लागेन । सजिलो गन्तव्य खोज्दै भोजराज दुबई पुगे । यसको केही समयपछि नै बिना कार्की पनि १५ महिने छोरालाई माइतीको काखमा छाडेर दुबई उडिन् ।

‘उहाँले फोनमा सबै कुरा ठीक छ भन्नुहुन्थ्यो । खुसी भएको देखाउनु हुन्थ्यो तर मलाई किन किन शंका लाग्यो । एकचोटि हेरेर आउँछु भनेर गएकी थिएँ तर गएपछि म पनि उतै हराएँ,’ बिनाले विगत सम्झँदै भनिन् । तर श्रीमान्‌को जिन्दगीमा ठिकठाक नभएको उनको अनुमान सही थियो ।

काठमाडौँमा घर गाडी भएको र इज्जत साथ बाँचिरहेका उनका श्रीमान्‌ दुबईमा डीएचएलका ठूलठूला डब्बा लोड अनलोड गर्ने काम गर्दा रहेछन् । उनको मन कुँडियो । तर दुःखपछि सुख आउँछ भन्ने सम्झेर उनले श्रीमान्‌का ठेला उठेका हातलाई लिएर प्रश्न गरिनन् । न त कुनै सहानुभूति नै दर्शाइन् । बरु उनले आफैँ पनि जागिर गरेर त्यो पीडा कम गर्ने निधो गरिन् । एउटा इन्टरनेसनल कम्पनीमा रिसेप्सनिस्टको जागिर पाइन् । दुवैले काम गर्न थालेपछि दुबईको जिन्दगी सहज भयो । यसको केही समयपछि नै दम्पत्तिले दुबईमा नै मेनपावर कम्पनी खोले । जिन्दगीमा पुरानै लयमा फर्कियो ।

पेशाले शिक्षक भोजराज सञ्जेल गीत–संगीत र फिल्मका पारखी थिए । भविष्यमा यो क्षेत्रमा पनि संलग्न हुने उनको योजना थियो । यसका लागि छोरा इभानलाई यो क्षेत्रमा लगाउने दम्पतिबीच सल्लाह पनि थियो । तर कसरी गर्ने ? के गर्ने दुवैलाई मजाले थाहा थिएन । तर अजिंगरको आहारा दैवले जुराउँछ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै ‘ए साथी सुन’का हिरो रमेश बानियाँले राम राघव आचार्यलाई भेट्टाए ।

बिनाले छोरालाई पनि सुहाउने कथा भए लगानी पनि गर्ने वाचा गरिन् । तर दुबईमा रहेका भोजराज बिनाको यो तयारीबाट बिल्कुल अन्जान थिए । बिनाको हौसलमा राम राघव आचार्यले कथा तयार गरे र सुटिङको तयारी गरे । दोस्रो लकडाउन अघि सुटिङ सुरु भयो र एउटा गीतको काम बाँकी राख्दै सुटिङ सकियो । 

‘एउटा गीत चाहिँ दुबईमा खिच्ने र योसँगै उहाँलाई सरप्राइज दिने योजना थियो तर यो सब गर्न नपाउँदै मेरो संसार उजाडियो,’ बिनाले भनिन् । दोस्रो लकडाउन खुलेपछि दुबईमा एउटा गीतको सुटिङ गर्ने र त्यहीँ फिल्म बनाएको रहस्य खोल्ने बिनाको योजना थियो । तर यो गर्न नपाउँदै एक दिन दुबईमा भोजराजलाई कोभिड लागेको खबर आयो । बिना दुबई उड्न चाहान्थिन् तर प्लेन बन्द थियो । भोजराज अस्पतालमा एक्लै संघर्ष गर्दागर्दै १३ औँ दिनका दिन बिते । उतैको चलनअनुसार सद्गत भयो । अन्तिम समयमा न बिनाले श्रीमान्‌को मुख देखाउन पाइन् न छोरालाई देखाउन पाइन् । 

श्रीमान्‌को अल्पायुको निधनले बिनाको जीवन लथालिंग भयो । दुबईको व्यापार डामाडोल भयो भने व्यक्तिगत जीवन पनि पहिले जस्तो रहेन । तर जे भए पनि श्रीमान्‌का लागि भनेर बनाएको यो फिल्म हलमा रिलिज हुनुपर्छ भनेर अहिले यसको रिलिजमा लागेको बिना बताउँछिन् । 

‘उहाँ मेरो श्रीमान्‌ मात्र नभएर मेरो गुरु पनि हुनुहुन्थ्यो । जीवनमा धेरै कुरा सिकाउनु भयो । त्यसैले सम्झनका लागि धेरै कुरा छन् । त्यसमा यो फिल्म अन्तिम रहने भयो,’ बिना भन्छिन्, ‘एउटी एकल महिलालाई यो समाजमा बाँच्न धेरै नै कठिन छ । म जस्तालाई हौसला दिन पनि यो फिल्म हेरिदिनुस् । अनि पुरानो नाम चलेका फिल्म त हेरिहाल्नुहुन्छ, हामी जस्ता नयाँको पनि हेरिदिनुस् ।’

आउँदो शुक्रबार सार्वजनिक हुने फिल्मलाई रामराघव आचार्यले लेखन तथा निर्देशन गरेका हुन् भने फिल्मलाई बिनासँगै सन्तोषकुमार राईसँग मिलेर टायम कट्टेलले निर्माण गरेका हुन् । फिल्ममा रमेश बानियाँ र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । 

लेखक तथा निर्देशक राम राघव आचार्य मुम्बईमा अभिनय तथा निर्देशनमा डेढ वर्ष अध्ययन गरेर नेपाल फर्किएका हुन् । ‘तेनाली रामा’, ‘क्राइम पेट्रोल’ आदि सिरियलमा छोटो छोटो भूमिकामा देखिएका रामले ‘ए साथी सुन’लाई प्रेमकथा र थ्रिलर मिश्रणको रुपमा तयार गरेको बताएका छन् । 

निर्मातामध्येका एक ट्याम कट्टेल राजनीति तथा व्यापारिक पृष्ठभूमिका हुन् । उनले निर्देशक रामको मेहनत र लगनबाट प्रभावित भएर फिल्ममा लगानी गरेको जानकारी गराए । ‘फिल्मको गुण दोषको कुरा लेखक निर्देशकले भन्नु हुन्छ तर सिनेमा मनोरञ्जन मात्र नभएर कला, संस्कृतिको संवाहक भएको कुरामा म सहमत छु । यो फिल्मले पनि मनोरञ्जनसँगै यो यो धर्म निर्वाह गरेको छ भन्ने कुरामा विश्वस्त छ,’ उनको भनाइ छ । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x