सिनेमा

‘नीरफूल’ जनजातिको कथा मात्र होइन

इकागज |
जेठ १९, २०८० शुक्रबार १६:९ बजे

काठमाडौँ - निर्देशक फूलमान बलले ‘नीरफूल’लाई जनजातिको कथाको रुपमा मात्र नबुझ्न आग्रह गरेका छन् । शुक्रबार पत्रकारसँग कलाकारसहित अन्तक्र्रिया गर्दै चरित्रहरू जनजाति पृष्ठभूमिको भए पनि यसले अन्य फिल्ममा जस्तो गहिराईमा गएर कुनै जातीय समूहको कथा वाचन नगरेको बताए । निर्देशक बलका अनुसार फिल्ममा चरित्रहरू तामाङ समुदायको भए पनि फिल्मले तामाङ संस्कृति मात्र देखाउने उद्देश्य नरहेको स्पष्ट पारेका छन् ।

‘कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो । तर यो परिवारको विछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ,’ बलको भनाइ थियो । फिल्ममा शीर्ष भूमिका दयाहाङ राईले निर्वाह गरेका छन् । दयाले आफू मुन्धुम संस्कृतिमा हुर्केको भएर ‘जारी’को कथा आत्मसात गर्न सजिलो भए पनि ‘नीरफूल’मा काम गर्नु आफ्ना लागि पनि सिकाइको विषय भएको दयाको भनाइ थियो ।


‘लिम्बू र हाम्रो संस्कृतिका धेरै कुरा मिल्दा जुल्दा छन् । तर तामाङको बिल्कुलै फरक रहेछ । यी कुरा भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ नीरफूलजस्ता फिल्मले कथामा विविधता ल्याउँछन् । यसले कालान्तरमा नेपाली फिल्म उद्योगलाई फाइदा गर्छ,’ दयाको भनाइ थियो । उनले आफूलाई कुनै फिल्मको व्यावसायिक सफलता असफलताभन्दा त्यो चलचित्र समयको गर्भमा जीवित रहन्छ कि रहन्न भन्ने कुराले फरक पार्ने बताए ।

‘बक्स अफिसका आँकडा भनेका पानीका फोका हुन् । तर एउटा सर्जकको रुपमा आफू संलग्न भएको सिर्जनाको आयु लामो हने वा भएको कुराले फरक पार्ने रहेछ,’दयाले भने, ‘यसको मतलब फिल्मले पैसा नकमाए पनि फरक पर्दैन भन्न खोजेको होइन । म पनि फिल्मले पैसा कमाएको देख्दा नै खुसी हुन्छु तर यसमा मेरो स्वार्थ चाहिँ के हो एउटा फिल्मको पैसा उठ्यो भने उसले अर्को फिल्म बनाउँछ र मलाई फेरि लिन्छ भन्ने हो ।’

फिल्ममा बुद्धि तामाङ र शान्ति वाइबाको पनि महत्वपूर्ण भूमिका रहेको छ । शान्तिले फिल्ममा दयाको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । त्यसैगरी बुद्धिले आफू फिल्म भित्र पत्रकारको रुपमा देखिने जानकारी गराए । फूलमान बलकै लेखन रहेको फिल्म आउँदो शुक्रबार प्रदर्शन हुँदैछ । यो फिल्मको सुटिङ गणेश हिमालको काख रुबि भ्यालीमा खिचिएको थियो । फिल्मले तामाङ जातिको संस्कार संस्कृतिसँग भूकम्पका कारण बिछडिएको परिवारको कथा प्रस्तुत गर्छ । 


Author

थप समाचार
x