सिनेमा

२९ वटा हलमा ‘जारी’को कीर्तिमानी ५१ दिन

इकागज |
जेठ २०, २०८० शनिबार १२:६ बजे

काठमाडौँ - बक्स अफिसमा कीर्तिमानी आँकडा नजिक रहेको ‘जारी’ले नेपालमा प्रदर्शनको ५१ दिनको यात्रा पूरा गरेको छ । तर ५१ दिन पूरा गरिरहँदा चलचित्रले नयाँ कीर्तिमान बनाएको छ । जारी ५१ दिन मनाउने चलचित्रमध्ये सर्वाधिक धेरै हलमा चल्ने चलचित्र बनेको छ । निर्माताका अनुसार फिल्मले उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनरत रहँदै ५१औं दिनको यात्रा पूरा गरेको हो । यसअघि ५१ दिन पूरा गर्ने चलचित्रले दर्जन हाराहारी हलमा चल्दै यो कीर्तिमान छुने गरेका थिए ।

फिल्म गत वैशाख १ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्मले ५१औं दिने यात्रामा १६ करोड ७५ लाख ग्रस कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिएको छ । कति हलमा अझै बक्स अफिस सिस्टम जडान नभैसकेकाले बोर्डको तथ्यांकभन्दा फिल्मको कमाई १० प्रतिशत बढी हुने आँकलन हुँदै आएको छ ।  यसरी हेर्दा फिल्मले घरेलू बक्स अफिसमा १८ करोड हाराहारी कमाइ गरेको छ । 


नेपालमा मात्र नभएर उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्मले विदेशमा पनि लोभलाग्दो कमाइ गरेको बताइएको छ ।  जापान, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा फिल्मका दर्जन बढी सो आयोजना भएका छन् । लिम्बू समुदायमा प्रचलित जारी प्रथाको पृष्ठभूमिमा दयाहाङ राई र मिरुना मगरको प्रेमकथा बुनिएको ‘जारी’मा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ ।


Author

थप समाचार
x