लेखक–कलाकारको हडतालका कारण रोकियो एम्मी अवार्ड
लसएन्जल्स- सेप्टेम्बरका लागि तय भएको एम्मी अवार्ड रोकिएको छ । हलिउडमा लेखकहरूको संस्था राइटर्स गिल्ड अफ अमेरिका र कलाकारको संस्था स्क्रिन एक्टर्स गिल्डले आन्दोलन गरेका कारण एम्मीले अवार्ड तत्कालका लागि नगर्ने सूचना जारी गरेको हो ।
संस्थामा आबद्ध सदस्यलाई कुनै फिल्मको प्रचार गर्न वा अवार्ड कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । आयोजकले अवार्डको नयाँ मिति सार्वजनिक गरेको छैन । एम्मीलाई टेलिभिजनको अस्कर मानिन्छ । केही समय पहिले सार्वजनिक गरिएको मनोनयनमा ‘सक्सेसन’, ‘द लास्ट अफ अस’, ‘द ह्वाइट लोटस’, ‘टेड लासो’ सिरिजले सर्वाधिक मनोनयन पाएका थिए ।
लेखक र कलाकारका दुवै संस्था अहिले निर्माताहरुको संस्थासँग वार्ता गरिरहेका छन् । लेखक तथा कलाकार दुवैले एआईको प्रयोगसँगै स्ट्रिमिङको समयमा मुनाफाको हिस्सा पाउनुपर्ने लगायतका माग राखेका छन् ।
एम्मीको ७५ औँ संस्करण सेप्टेम्बर १८ लागि तय गरिएको थियो । तर कलाकार नै उपस्थित हुने सम्भावना नभएपछि आयोजकले सार्ने निर्णय गरेका हुन् ।
२० वर्षपछि एम्मी पहिलो पटक निर्धारित मितिमा नभएको हो । यसअघि २००१ मा भएको ट्वीनटावर आक्रमणका कारण एम्मी सरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया