सिनेमा

विपिन कर्माको हङकङ ‘हाइक’

सामीप्यराज तिमल्सेना |
जेठ १४, २०७८ शुक्रवार ९:२९ बजे

नेपालबाट ७ वर्षको उमेरमा हङकङिएका विपिन पार्कर खेलको कौशलले त्यहाँको फिल्म उद्योगमा जमिरहेका छन् । जसरी हाइकरले आफ्नै पाइलाले दूरी नाप्छ विपिन हङकङको फिल्म उद्योगमा त्यसरी नै हाइकिङ गरिरहेका छन् ।

 


हङकङको सेनाबाट रिटायर्ड क्‍वान चिउ (गोर्डोन लाम) जीविकाका लागि हङकङमा संगठित अपराध गर्ने गिरोहको सदस्य बनेका छन् । तर, यति गर्दा पनि उनको आर्थिक संकट टरेको छैन । पैसाको समस्याबाट गुज्रिरहेका छन् । यही क्रममा एक दिन क्‍वानको भेट म्यानी (विपिन कर्मा) सँग हुन्छ जो सानोतिनो चोरी गरेर जीवन धानिरहेका हुन्छन् । क्‍वानको आर्थिक अवस्थाबारे थाहा पाएपछि म्यानीले आफूलाई पाँच दिनसम्म लुकाए १० लाख हङकङ डलर दिने प्रस्ताव गर्छ । पाँच दिन सँगै बिताउने क्रममा दुवैले महसुस गर्छन्, उनीहरू दुवै जना ब्रिटिस उपनिवेशको बेकामे अवशेष मात्र रहेछन् । 

म्यानीसँग भेट हुनुअघि क्‍वानले ताइवानी आपराधिक गिरोहको नाइकेसँग १० लाख हङकङ डलर बराबरको ड्रग लिएर हङकङको गिरोहको नाइकेलाई दिएको थियो । तर, क्‍वानले दिएको ड्रग नक्कली निस्किएपछि हङकङको नाइके क्‍वानले १० लाख डलर तिर्न र्‍याखर्‍याख्ती पार्छन् । विवश क्‍वानको संकट टार्न म्यानीले हात बढाउँछन् र आफूले चोरेको ड्रगको ब्याग ऋण तिर्न क्‍वानलाई दिन्छन् । अब चैँ समस्या सुल्झियो भनेको बेला हङकङको गिरोहद्वारा म्यानीको अपहरण हुन्छ । क्‍वानसँग यो बेला दुइटा बाटो देखिन्छिन् । आफ्नो ज्यान बचाउन भाग्ने कि ताजा ताजा बनेको नयाँ साथीको ज्यान बचाउन भिड्ने ? क्‍वानले चुरोटको कस उडाउँदै के गर्ने भन्ने अन्तिम निर्णय लिन्छ ।

यो कथा हो यही वर्षको जुन १७ मा रिलिज भएको हङकङे फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’को । हङकङको फिल्म भए पनि यो कथामा साइनो छ, नेपालको । माथिको कथामा क्‍वानलाई सहयोग गर्ने म्यानी अर्थात् विपिन कर्मा नेपाली हुन् । सात वर्षको उमेरमा नेपालबाट हङकङ पुगेका विपिनको यो पहिलो ठूलो फिल्म हो ।

हङकङको फिल्म बोर्डले सात वर्षअघि नयाँ फिल्ममेकरलाई फिल्म निर्माणमा सघाउने उद्देश्यसहित ‘फस्ट फिचर फिल्म इनिसिएटिभ’ सुरुवात गरेको थियो । ‘ह्यान्ड रोल्ड सिगरेट’ यो सहयोग पाउने चौथो फिल्म हो । त्योबाहेक यो फिल्म चीनको अस्कर मानिने ‘गोल्डेन हर्स फेस्टिभल’मा समेत यो फिल्म ७–७ विधामा मनोनयनमा परेको थियो । यसरी गर्व गर्न लायक फिल्मको सेकेन्ड लिडमा रहेका कलाकार हुन्, विपिन कर्मा ।

विपिन मूलतः पार्करका उस्ताद हुन् । पार्कर यस्तो खेल हो जहाँ मानिस कुनै दोस्रो चिजको सहाराविना उफ्रने, जम्प गर्ने, हावामा उड्ने आदि गर्छ । विपिन हङकङका सडकमा यही कौशल देखाउँछन् र यो कौशलको भिडियो पनि बनाउँछन् । यही भिडियोले उनलाई ‘ह्यान्ड रोल्ड सिगरेट’सम्म पुर्याएको हो ।

विपिनले हङकङबाट इकागजसँग कुरा गर्दै भने, ‘निर्देशक चान किन लोङले पनि मैले पार्कर गरेका भिडियो हेर्नुभएको रैछ । उहाँले मलाई एक दिन अडिसनका लागि बोलाउनु भयो । अडिसन मात्र होइन स्क्रिप्ट पनि ठीक लागेपछि म फिल्म गर्न राजी भएँ ।’ 

हङकङका फिल्ममा दक्षिण एसियाका अल्पसंख्यक आदिवासीको चित्रण ‘स्टेरियोटाइप’ रहने गरेको छ । त्यसैले फिल्मबाट अफर आयो कि उनीहरू पुनरावृत्त हुने डरले तर्सन्छन् । विपिनलाई पनि सुरुमा त यो फिल्ममा पनि आफूलाई अफर गरिएको रोल त्यस्तै होला भनेर लागेको थियो । तर, जब स्क्रिप्ट सुने उनले हङकङको सिनेमामा आफूलाई अफर गरिएजस्तो रोल लेख्दै नलेखिएको महसुस गरे । ‘म्यानी दक्षिण एसियन अल्पसंख्यक नै हो तर पहिलो पटक फिल्ममा उसको चरित्रमा एम्प्याथी छ । हङकङका सिनेमामा सम्भवतः पहिलो पटक यस्तो चरित्र लेखिएको हो,’ विपिनले भने । 

‘ह्यान्ड रोल्ड सिगरेट’ विपिनले अभिनय गरेको बिग बजेट फिल्म हो तर पहिलो भने होइन । विपिनले यसअघि दुई फिल्ममा अभिनय गरिसकेका छन् । योमध्ये पहिलो फिल्म त उनले १६ वर्षको हुँदा गरेका थिए । ‘दि वे वी डान्स’ शीर्षकको यो फिल्म हङकङको पहिलो डान्सिङ फिल्म थियो र विपिनको पनि । यो फिल्मपछि विपिनले अवार्ड विजेता सर्ट फिल्म ‘अम्ब्रेला’मा पनि काम गरेका छन् जहाँ उनले पार्कर पृष्ठभूमि भएको विद्यार्थीको भूमिका निर्वाह गरेका छन् । 

नेपाली भएको नाताले विपिनले थुप्रै चुनौती र अप्ठेरोको सामना गनुपर्छ । तर, फिल्मको सवालमा भने भाषा उनका लागि चुनौती रहने गरेको छ । हङकङका फिल्ममा जम्न क्यान्टोनिज भाषा पोख्त बनाउन जरुरी छ भने उनले हिन्दी भाषा पनि सिक्ने कोसिस गरिरहेका छन् । ‘अब फिल्मका लागि अभिनय सुधार्ने त बेसिक भइहाल्यो,’ विपिनले भने । 

अभिनयमा उनले के कति मौका पाउँछन् त्यसको अनुमान उनलाई पनि छैन । तर, अहिलेलाई उनको लक्ष्य यही विधामा जम्ने छ । ‘त्यो क्यामरा अगाडि हुन्छ वा पछाडि थाहा छैन । तर, अहिलेलाई मेरो फोकस यही विधामा छ,’ विपिन भन्छन् । 

नेपालबाट सानै उमेरमा हङकङ पुगेकाले उनले नेपाली सिनेमा हेर्ने मौका पाएका छैनन् । तर, उनलाई नेपालमा फिल्म बन्छन् भन्ने राम्ररी थाहा छ । ‘त्यसो हो भने विपिनलाई भविष्यमा कतै नेपाली फिल्म उद्योगसँग जोडिएको देख्न पाइन्छ त ?’ इकागजको क्लिसे प्रश्नमा उनले आफू यसका लागि तयार रहेको जवाफ दिए ।‘म साँच्चिकै इच्छुक छु । आशा गर्छु यो समय चाँडोभन्दा चाँडो आओस्’ उनले कुराकानीलाई बिट मार्दै भने । विपिन कर्मा हङकङको सिनेमा उद्योगका एक हाइकर हुन् । हाइकर जसले आफ्नै पाइतालाले लङमार्च गर्छ र लक्षित दूरी नाप्छ । 

विपिन अभिनीत फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’ को ट्रेलर 

विपिनको पार्कर भिडियो 


 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x