सिनेमा

निरिशा बस्‍नेतको मुम्बई अनुभव : सिनेमाभन्दा मोडलिङमा राम्रो पैसा छ

सामीप्यराज तिमल्सेना |
जेठ २४, २०७८ सोमबार १०:४० बजे

निरिशा बस्‍नेत मुम्बईको फिल्म उद्योगमा नाम बनाउन संघर्षरत छिन् । सन् २०१७ को एक दिन मुम्बई उत्रिएकी उनले चार वर्षको अवधिमा केही वेब सिरिज, केही टेलिफिल्म र थुप्रै मोडलिङ गरेकी छिन् । उता मुम्बईमा संघर्ष गरिरहे पनि उनको कलाकारिताको जरा भने नेपालसँगै जोडिएको छ । निरिशा नेपालको पहिलो सिल्बर जुब्ली हिरो विश्व बस्‍नेतकी छोरी हुन् । विश्व बस्‍नेत अभिनीत फिल्म ‘सिन्दुर’ नेपालमा लगातार ५२ दिन चल्ने पहिलो फिल्म मानिन्छ । मुम्बईमा फिल्म पढेका विश्व बस्‍नेतको यो पहिलो फिल्म थियो । 

यस्तो लिजेन्ड परिवारमा हुर्किएकी निरिशाका लागि अभिनय जन्मसिद्ध अधिकार थियो । तर, नेपालको फिल्म उद्योगको हालत देखेर परिवार निरिशाको यो अधिकारको खिलाफमा थियो । निरिशा भने मनमनै ‘हिरोइन’ बन्‍ने सपना हुर्काइरहेकी थिइन् । कसरी, कुन बाटोबाट त्यहाँ पुगिन्छ उनले भेउ पाउन सकिइरहेकी थिइनन् । तर, शाहरुख खानले एउटा फिल्ममा बोलेको संवाद ‘किसीको सच्चे दिलसे चाहो तो सारी कायनात उसे मिलानेमे लग जाती है’ (सच्चा मनले केही चाहेको छ भने त्यो पूरा गर्न सारा संसार एक हुन्छ)’ भनेझैँ भित्रभित्रै अभिनय गर्ने सपना साँचिरहेकी निरिशाको जीवनमा अचानक त्यो अवसर आयो ।


निरिशाका लागि घरमा हिरोइन बन्‍ने बाटो बन्द थियो । उनले अभिनयपछि रुचाएको पेसा थियो ‘एयरहोस्टेज’ । तर, यसमा पनि निरिशा चुजी थिइन् । उनलाई सकभर नेपालभन्दा विदेशी भूमिमा उड्ने सपना थियो । यसका लागि थाइ एयरवेज, कतार एयरवेज जस्ता कम्पनी उनको हिट लिस्टमा थिए । तर, यसका लागि नेपाल हैन भारतमा नै गएर भिड्नुपर्थ्यो ।

एक दिन कतार एयरवेजको भ्याकेन्सी अप्लाई गरेर उनले मुम्बईको फ्लाइट समातिन् । घरबाट पाँच दिनको छुट्टि पाएकी थिइन् । पाँच दिनमा कतार एयरवेजमा जागिर हुने/नहुने टुंगो भइसक्थ्यो । निरिशा यसरी एक दिन मुम्बई झरिन् । एयरहोस्टेजका लागि फाइट गरिन् । तर, तेस्रो दिन नै एयरवेजले भन्यो, ‘सरी, हामी तपाईंलाई काम दिन सक्दैनौँ ।’ निरिशालाई काम नपाएको भन्दा पनि बाँकी दुई दिन के गर्ने भन्‍ने पीर लाग्यो । 

नेपालबाट मुम्बई जाने बेलामा निरिशाको साथी इच्छा कार्की (अभिनेत्री, ब्रेकअप)ले मुम्बईमा बस्ने साथीलाई भेट्नु भनेर ठेगाना दिएकी थिइन् । इच्छाको साथी मुम्बईमा एडमेकर थिए । निरिशाले भेटेकै दिन उनले एउटा अडिसनमा पठाए । यहाँ पनि निरिशा निराशै हुनुपर्‍यो तर यो भेटले मुम्बईमा बस्‍ने निरिशाको चाहानामा ठूलो ढाडस मिल्यो । 

‘त्यसबेला मलाई अडिसनको अ पनि थाहा थिएन । सेलेक्ट हुने कुरै भएन, भइँन । तर, जसले यो अडिसन गरिरहेको थियो उहाँले मलाई आफूलाई सघाउने प्रस्ताव राख्‍नु भयो । महिनाको ४ हजारमा काम गर्ने कुरा भयो,’ निरिशाले भनिन् । निरिशाको मन दोमन भयो । एकातिर घर थियो अर्कोतिर आफ्नो सपना । उनले मुम्बई छाड्ने दिन आफू एक हप्तामा फर्कने विश्वास दिलाएर काठमाडौँ आइन् । 

घरमा आएपछि भने उनले परिवारलाई यो निर्णय सुनाउने आँट गर्न सकिनन् । दुई हप्तामा पोकापन्तुरा कसेर कसैलाई नभनी निरिशा मुम्बई फर्किइन् । 'यतिबेला ममी अस्ट्रेलिया हुनुहुन्थ्यो । बुबालाई समेत नभनी म यसरी मुम्बई आएँ । स्कुटर बेचेर टिकट किनेकी थिएँ’ निरिशाले मुम्बईबाटै इकागजसँग कुराकानी गर्दै भनिन् । निरिशाले ब्याचर गर्दा गर्दै काम गरेको पैसा जम्मा गरेर स्कुटी किनेकी थिइन् । मुम्बई जाने भएपछि उनले त्यही स्कुटी बेचिन् । डेढ लाखमा किनेको स्कुटी बेच्दा ९२ हजार हात परेको थियो ।  

मुम्बई आएपछि उनले कुलदीप सिंहको अडिसन असिस्टेन्ट भएर काम सुरु गरिन् । तलब ४ हजार थियो भने बस्‍ने कोठाको मात्र ११ हजार तिर्नुपर्थ्यो । स्कुटीको पैसा यहाँ पनि काम लाग्यो । यो क्रममा उनले पेन्सुला प्रडक्सनका लागि २ वर्षको बच्चादेखि ८० वर्षका वृद्धवृद्धासम्मको अडिसन लिइन् । तर, यो क्रम लामो समय भने चल्ने दुई चार महिनामै कुलदीपलाई बालाजी फिल्मले काममा बोलायो । कुलदीप निरिशालाई ‘आफ्नै हाल’मा छाडेर बालाजीतिर लागे । यो बीचमा निरिशाले मुम्बईमा थुप्रै साथी बनाइसकेकी थिइन् । बाँच्‍नकै लागि मात्र विकल्पको कमी थिएन । 

‘चन्द्रनन्दिनी’मा मौका
मुम्बईमा नै रहँदा निरिशा हर्ष भन्‍ने साथीसँग नजिक थिइन् । मुम्बईमा कलाकार बन्‍न संघर्षरत उनी राम्रो ब्रेकको खोजीमा थिए । एक दिन निरिशाले हर्षलाई हेल्प गर्ने सोचिन् र बालाजी पुगेका कुलदीपलाई फोन गरिन् । उद्देश्य थियो, ‘हर्षका लागि कुनै रोल पाइन्छ कि भन्‍ने ।’

कुलदीपले बालाजीले ‘चन्द्रनन्दिनी’ भन्‍ने सिरियल बनाउन लागेको र चन्द्रको जवानीको भूमिका निर्वाह गर्ने कलाकार खोजिरहेको जानकारी गराउँदै कोसिस गर्न आमन्त्रण गरे । हर्षले अडिसन दिए । तर, हर्ष त्यो भूमिकामा छानिएनन् । कुलदीपले अरु भूमिकाका लागि पनि कलाकार खोजिरहेकाले निरिशालाई पनि अडिसन दिन सुझाए ।

निरिशा मुम्बईमा कोसिस गर्न नै गएकी थिइन् । थप एउटा कोसिस गर्न उनलाई केही आपत्ति थिएन । उनले अडिसन दिइन् । नभन्दै चन्द्रगुप्त र हेलेनाका छोरीको रुपमा राजकुमारी अलिसेको रुपमा सिरिजमा छानिएको खबर पाइन् । निरिशाका अनुसार एकता कपुर स्वयंले निरिशाको अडिसन मन पराएकी थिइन् ।

 

दिनकै पाँच हजार पाउने सम्झौतासहित निरिशा ‘चन्द्रनन्दिनी’को हिस्सा बनिन् । महिनाकै चार हजारमा काम गरिरहेकी निरिशालाई दिनकै पाँच हजार पाउने कुरा सिरिज पाउने जत्तिकै खुसीको कुरा थियो । उनले तीन महिना ‘चन्द्रनन्दिनी’को सेटमा बिताइन् । यो पछि उनले टेलिभिजन सिरियल ‘तेनाली रामा’मा पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेकी छिन् ।

‘जानी नजानी’ले बढायो संघर्ष 
थाहै नदिई मुम्बई गएपछि निरिशाको घरमा पानी बाराबार थियो । ममीले निरिशासँग बोलचाल नै बन्द गरेकी थिइन् । यो सिरियल प्रसारण भएपछि बल्ल निरिशा र ममीबीच बोलचाल सुरु भयो । यसो गर्दा ठ्याक्कै १० महिना बितिसकेको थियो । ममीको रिस ठन्डा भएपछि निरिशा नेपाल आइन् र यही मौकामा उनले ‘जानी नजानी’को अफर पाइन् । 

‘नेपाल आएको बेला यो फिल्मको अफर पाएँ । अरुभन्दा पनि पैसाका लागि यो फिल्म गरेकी थिएँ । यो फिल्म नचलेपछि भने मलाई नेपाल र मुम्बईमा दुवैतिर गाह्रो भयो,’ निरिशाले भनिन् । निरिशाले नेपालमै पनि जम्‍न सकिन्छ कि भनेर यो फिल्म गरेकी थिइन् तर यो फिल्म रिलिजपछि पनि कतैबाट अफर पाइनन् । आफैँले दस जना निर्देशकसँग अनुरोध गर्दा पनि कसैले पत्याएनन् । निरिशा फेरि मुम्बई फर्किन् ।

‘जानी नजानी दुई महिनामा सकिन्छ भन्‍ने कुरा भएको थियो । तर, यो सकिँदा ८ महिना लाग्यो । यसपछि म मुम्बई फर्किएँ । मुम्बईमा टिक्न खास संघर्ष चैँ यसबेला गर्नुपरेको थियो,’ निरिशा सम्झिन्छिन् । तर, यो समय लामो समय रहेन । केही समयपछि उनले एजेन्सी भेट्टाइन् जसले उनलाई फिल्म र मोडलिङको काम दिलाउँछ । ‘तोभ’ नामको यो एजेन्सीमा निरिशाबाहेक चर्चामा रहेका मोडल अदिती बुढाथोकी, मुना गौचन र अन्जली लामा पनि आबद्ध छन् । श्रीलंकन सुन्दरी तथा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि यही एजेन्सीले व्यवस्थापन गर्छ । यो एजेन्सीमा मोडलिङ र अभिनयको बेग्लाबेग्लै डिभिजन छ । निरिशा अभिनयको डिभिजनमा आबद्ध छिन् भने मुना र अदिती मोडलिङ डिभिजनमा । 

बलिउडको मनोरञ्जन उद्योगले अभिनयमा नेपाली अनुहारलाई उता साह्रो विश्वास नगरे पनि मोडलिङमा भने पत्याउने गरेको उनको अनुभव छ । अझ मल्टिनेसनल कम्पनीमा मोडलिङको अवसर पाइयो भने त दिनकै पाँच लाख रुपैयाँसम्म कमाइ हुने अनुभव संगोलेकी छिन् निरिशाले । ‘लरियल, ल्याक्मी जस्ता मल्टिनेसनल त भइहाले राम्रो भारतीय कम्पनीको ब्रान्डले पनि दुई लाखसम्म दिने गरेका छन् । गर्न सक्यो भने फिल्ममा भन्दा मोडलिङमा धेरै राम्रो पैसा छ यहाँ,’ उनले भनिन् । 
गैरहिन्दी भाषीलाई हिन्दी फिल्म वा वेब सिरिजमा काम पाउन गाह्रो हुन्छ । निरिशाले भने भाषाकै कारण यो समस्या भोग्‍नु परेको छैन । उनले तीन महिनामै हिन्दी भाषा मज्जाले सिकेकी थिइन् । त्यसका बावजुद पर्याप्त अवसर भने नपाएको उनको अनुभव छ ।

‘बलिउडले हाम्रो लुकलाई राम्ररी एक्स्प्लोर गरेको छैन । बरु हलिउडमा यो क्रम बाक्लो छ । तर, वेब सिरिज बाक्लै बन्‍न थालेकाले यहाँ पनि अवसरको कमी चैँ हुन्‍न भन्‍ने लाग्छ,’ निरिशा भन्छिन् । नभन्दै निरिशाले महामारीकै बीचमा पनि अभिनेत्री सोनाली बेन्द्रेका श्रीमान् गोल्डी बहलको प्रडक्सनले बनाएको ‘हेलो मिनी’को तेस्रो भागमा काम गरिसकेकी छिन् भने चाँडै नै उनले अभिनय गरेको अर्को सिरिज ‘चारका पञ्चनामा’ प्रसारणको क्रममा रहेको छ । गोल्डी बहलले उनको काम मन पराएर थप दुई वेब सिरिजमा उनलाई लिन लागेको पनि निरिशा बताउँछिन् । भन्छिन्, ‘महामारीका कारण सम्झौता गर्न पाएको छैन । तर, खुल्नेबित्तिकै थप दुई सिरिजमा काम गर्ने मौखिक सहमति भएको छ ।’

भारत र नेपालमा दुवैतिर काम गरेपछि निरिशाले बुझेकी छिन् उनका लागि प्रोपर मेनस्ट्रिम काम पाउन गाह्रो छ । त्यसैले उनले करिअरलाई पर्दा अगाडिबाट पछाडि लैजाने निर्णय गरेकी छिन् अर्थात् उनले निर्देशनमा फड्को मार्ने जमर्को गरेकी छिन् । उनले सोचे जस्तै भयो भने आउँदो जनवरीदेखि उनलाई क्यामरा अगाडि हैन, क्यामरा पछाडिका लागि तयारी गरिरहेको देख्‍न पाइनेछ । यसका लागि भने उनले भारत हैन, अमेरिका रोजेकी छिन् । ‘अबको केही समयपछि नै यसको छिनोफानो हुन्छ । युनिभर्सिटीको जवाफ कुरिरहेको छु ,’ उनले भनिन् ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x