सिनेमा

कहाँ पुग्यो प्रधानमन्त्री ओलीको बायोपिक ?

सामीप्यराज तिमल्सेना |
कात्तिक २, २०७७ आइतवार ११:३ बजे

लगभग चार वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनीमा फिल्म बन्ने घोषणा भएको थियो । ‘रातो सूर्य’ शीर्षकमा बन्ने भनिएको फिल्मको २०७३ मंसिर २८ गते विधिवत घोषणा भएको थियो । फस्ट लेडी राधिका शाक्यसहित मुख्य अतिथि थिए ओली । तर, चार वर्ष बित्न लाग्दा पनि फिल्म बन्यो-बनेन अत्तोपत्तो छैन ।

फिल्मका निर्माता/निर्देशक दीपेन्द्र दाहाललाई इकागजले यही प्रश्न गर्दा उनले फिल्मको ३० प्रतिशत सुटिङ बाँकी रहेको र महामारीपछि सकिने जानकारी गराए । उनले प्रधानमन्त्री केपी ओली संलग्न इभेन्टहरू खिच्ने काम सकिए पनि व्यक्तिगत दृश्य खिच्ने अनुकूल समय नमिल्दा ढिलो भएको बताए ।


‘फिल्ममा ४५ वर्षपछिको उमेरमा प्रधानमन्त्री स्वयं देखिनुहुनेछ । प्रधानमन्त्रीको स्वास्थ्य र अन्तर्राष्ट्रिय तत्वहरूको दबाबका कारण पनि ढिलाइ भइरहेको छ । अब अवस्था सामान्य भएसँगै हामी सुटिङमा जुट्छौँ,’ दाहालले जानकारी गराए । दाहालले अन्तर्राष्ट्रिय दबाब के थिए ? भन्ने प्रश्नको भने खुलेर जवाफ दिएनन् । ‘धेरै कुरा छन्, जुन मैले अहिले खोल्न मिल्दैन,’ उनले भने ।

निर्देशक दीपेन्द्रका अनुसार प्रधानमन्त्री ओलीले केही दृश्यको सुटिङ गरिसकेका छन् भने अब ७ दिनमा पूरा हुने उनको व्यक्तिगत सुटिङ बाँकी छ । दीपेन्द्रले बताएअनुसार फिल्मभरि प्रधानमन्त्री ओली २४/२५ दृश्यमा देखिनेछन् । फिल्म केपी ओलीको सांगोपांगो जीवनी मात्र नभई थप दुई कुरामा विशेष केन्द्रित रहेको पनि दीपेन्द्रले बताए । उनले फिल्म केपी ओलीको व्यक्तित्व निर्माण कसरी भयो ? र निर्माण भएको व्यक्तित्वले राष्ट्रलाई के दियो भन्ने कुरामा केन्द्रित हुने बताए ।  दाहाल भन्छन्, ‘उहाँको स्मृतिको पाटो एकदमै शक्तिशाली थियो । आजजस्तो सञ्चारको सुविधा नभएको ठाउँमा उहाँले त्यही स्मृतिको भरमा कार्यकर्तालाई कसरी प्रशिक्षण दिनुहुन्थ्यो र सांस्कृतिक उत्थानका लागि उहाँले के-कति काम गर्नुभयो, फिल्म यसैको सेरोफेरोमा तयार हुनेछ ।'

धनकुटामा भएको सुखानी हत्याकाण्डमाथि केन्द्रित रहेर ‘सुखानी’ चलचित्र बनाएका दाहालले यही क्रममा कम्युनिस्ट पार्टीको इतिहास राम्ररी अध्ययन गर्ने मौका पाए । यतिबेलै केपी ओली प्रधानमन्त्री भएर नाकाबन्दीमा भारतविरुद्ध अडान लिएर राष्ट्रवादी नेताको छवि बनाएको देखेपछि उनलाई केपी ओलीको जीवनीमा फिल्म बनाउने सही समय आए जस्तो लाग्यो । उनले गृहकार्य सुरु गरे र केपी ओली प्रधानमन्त्रीबाट हटेपछि प्रस्ताव राखे ।

डेढ करोडको लगानीमा बन्ने फिल्म उसबेला २०७४ सालकै दशैँमा रिलिज गर्ने चर्चा थियो । र, अहिले २०७७ सालको दशैँ चलिरहेको छ । 

केपी ओलीले स्वीकृति दिएपछि काम अगाडि बढ्यो । दाहालले ४५ वर्षपछिको उमेरमा ओली स्वयंलाई अभिनय गर्न पनि कन्भिन्स गराए । त्यसयता केपी ओली स्वयंले केही दृश्यमा अभिनय गरिसकेका छन् भने केही दृश्य खिच्न सहजीकरण पनि गरेका छन् । यसरी खिचिएका केही दृश्य विवादमा पनि परेका थिए ।

केपी ओलीले रारामा गरेको सुटिङ भने विवादमा परेको थियो । केही समय पहिले ओलीले नयाँ वर्षको अवसरमा राराबाट देशवासीका नाममा सम्बोधन गरेका थिए । तर, सम्बोधन गरिरहँदा रोस्टमको अगाडिबाट मान्छे हिँडेको देखिएपछि फिल्मको सुटिङको आशंका गरिएको थियो । पछि गण्डकी प्रदेशको संसद् बैठकमा केही सांसदले राष्ट्रको ढिकुटी खर्च गरेर फिल्मको सुटिङ गरेको हो कि हैन जवाफ दिनुपर्ने माग गरेका थिए ।

यसैगरी एमालेसहित ९ दलले खुलामञ्चमा गरेको विरोध सभालाई पनि ओलीले छायांकन स्थलमा रूपान्तरण गरेको भन्दै बाँकी दलका नेताले असन्तुष्टि जाहेर गरेका थिए । ‘रातो सूर्य’मा देखिनुअघि प्रधानमन्त्री ओली एउटा राष्ट्रिय गीतमा भने देखिइसकेका छन् । तीन वर्षअघि सार्वजनिक भएको ‘म मर्न तयार छु’ बोलको गीतको केही अंशमा प्रधानमन्त्री ओलीले झण्डा हल्लाएको देख्न सकिन्छ ।

फिल्ममा केपी ओलीको बाल्यकालदेखि जवानीको भूमिका अनुपम शर्माले निर्वाह गरेका छन् । उनले केपी ओलीको १५ वर्षदेखि ४५ वर्षसम्मको उमेरलाई पर्दामा जीवन्त बनाउनेछन् । उनले केपी ओली बन्नलाई खासै तयारी भने नगरेको बताए । दीपेन्द्रकै निर्देशनमा बनेको ‘सुखानी’मा केपी ओलीकै भूमिका निर्वाह गरेका अनुपमले सोही बेलाको तयारीपछि पनि काम लागेको बताए । ‘सुखानी’मा पनि मैले उहाँकै भूमिका निर्वाह गरेको थिएँ । यति बेला जे जति अध्यय्न गरेँ, लगभग त्यतिले पुग्यो,’ अनुपमले सुनाए ।  तर, ‘सुखानी’मा अनुपम जोडिने किस्सा भने निकै नाटकीय छ । अनुपम कलाकार राधा श्रेष्ठलाई छोड्न दीपेन्द्रको अफिसमा पुगेका थिए । दीपेन्द्रको समूह भोलिपल्टै ‘सुखानी’को सुटिङका लागि धनकुटा हिँड्ने तरखरमा थिए । अहिलेसम्म फिल्म खेल्ने मौका नपाएका अनुपमलाई फिल्म खेल्ने ठूलो रहर थियो । उनले दीपेन्द्रलाई आफ्नो रहर बताए ।

दीपेन्द्रले पनि ‘सानो रोल छ गर्ने भए हिँड’ भनेर उत्तिखेरै फिल्म खेल्ने प्रस्ताव राखे । ‘मैले नाइँनास्ती गर्ने कुरै थिएन । सुरुमा दुई सिन मात्र थियो तर पछि नौ-दस सिन थपियो । तर, जति थियो, राम्रो थियो । यही बेला जे जति बुझेँ, त्यही अनुभवका आधारमा पछि पनि सुटिङ गर्न सजिलो भयो,’ अनुपमले सुनाए ।

केपी ओलीबारे बुझ्नलाई अनुपम झापासम्म पुगेका छन् । तर, प्रत्यक्ष भेटघाट भने आजसम्म भएको छैन । ‘मुहूर्तमा गएको थिएँ । नमस्कार गरेर फर्किहालेँ,’ उनले सुनाए ।

अनुपमले झापा, रौतहट र मकवानपुर पुगेर तीन पटक सुटिङ गरिसकेका छन् । तर, बीचमा किन फिल्म रोकिएको हो, उनलाई पनि थाहा छैन ।  ‘त्यो त निर्माता निर्देशकलाई नै थाहा होला । म त उहाँहरूको फोन कुरेर बसिरहेको छु,’ अनुपमले भने । डेढ करोडको लगानीमा बन्ने फिल्म उसबेला २०७४ सालकै दशैँमा रिलिज गर्ने चर्चा थियो । र, अहिले २०७७ सालको दशैँ चलिरहेको छ । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x