सिनेमा

कंगनाले उल्टै हालिन् जावेद अख्तरमाथि मुद्दा

इकागज |
असोज ४, २०७८ सोमबार १७:३६ बजे

मुम्बई -  कंगना रनावत र जावेद अख्तरबीचको खटपट सकिनुको साटो झन् तन्कँदै गएको छ । केही दिन अघि मुम्बईको उच्च अदालतले जावेद अख्तरको मुद्दा खारेज गर्न कंगनाले दिएको उजुरी नमान्ने फैसला गरेको थियो ।

योसँगै अदालतमा उपस्थित हुन आनाकानी गरिरहेकी कंगनालाई अदालतमा हाजिर हुन पनि निर्देशन दिएको थियो । अदालतको आदेश पछ्याउँदै सोमबार अदालत पुगेकी कंगनाले जावेद अख्तरको मुद्दामा सफाइ दिनुको साटो उल्टै उनीमाथि नै मुद्दा दायर गरेकी छिन् । भारतीय मिडियामा आएका समाचारअनुसार कंगनाले अख्तरमाथि अपराधिक क्रियाकलाप गरेको र फिरौती मागेको जस्ता आरोप लगाएकी छिन् । 


कंगनाले मुद्दा अर्को न्यायिक अधिकारीकोमा सार्न पनि निवेदन दिएकी छिन् । उनले अंधेरीका न्यायिक अधिकारीप्रति आफ्नो भरोसा नभएको भन्दै मुद्दा अर्को ठाउँ सार्न आग्रह गरेकी हुन् । 

कवि(गीतकार जावेद अख्तरले गत वर्ष कंगनाले एउटा टेलिभिजन अन्तर्वार्तामा विनासन्दर्भ आफूमाथि गलत आरोप लगाएको र त्यसले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै मुम्बईको अन्धेरीमा मुद्दा दर्ता गराएका थिए ।

एउटा टेलिभिजन अन्तर्वार्तामा  कंगनाले अख्तरलाई बलिउडको खास ‘कोटरी’को संरक्षण गर्ने गरेको र उनले ऋतिक रोसनसँगको विवादको समयमा उनकाविरुद्ध नबोल्न धम्की दिएको आदि आरोप लगाएकी थिइन् । अख्तरले कंगनाले लगाएको आरोपमा कुनै सत्यता नरहेको र उनको अन्तर्वार्ताले आफ्नो छवि खराब भएको भन्दै क्षतिपूर्तिको मागसहित मुद्दा हालेका थिए ।


Author

थप समाचार
x