सिनेमा

सलोनको अग्रजलाई सम्मान गर्ने काइदा

इकागज |
असोज ७, २०७८ बिहीबार १०:३८ बजे

काठमाडौँ -  आइतबार आफ्नोसमेत अभिनय रहेको फिल्म ‘डाँडाको बरपीपल’को गीत सार्वजनिक कार्यक्रममा सलोन बस्नेतको लुगाले धेरैको ध्यान खिच्यो । कार्यक्रममा सलोनले कुनै उद्भूत डिजाइनको लुगा लगाएका थिएनन् तर लुगामा जे डिजाइन थियो, त्यो विशेष थियो ।

सलोनले लगाएको कोटमा उनको निर्माता÷निर्देशक पिता शोभित बस्नेतसँगै शिव श्रेष्ठ भुवन केसी र गौरी मल्लको फोटो थियो । कार्यक्रममा ‘कसैले किन यसो गरेको भनेर’ सोध्नु अगावै सलोनले कारण बताए । पहिलोपल्ट आफूलाई अभिनय भन्ने कुरा के रहेछ भन्ने कुरा महसुस भएको उनको भनाइ थियो ।


‘यो फिल्मको सुटिङ मेरो लागि सुटिङ थिएन थिएन, पाठशाला थियो । यो फिल्मको अनुभव के थियो बताउन मैले उहाँहरूलाई शरीरमा नै धारण गरेर आएको छु । साँच्चिकै यो फिल्म गर्न पाएर चैं मलाई गर्व महसुस भएको छ,’ सलोनले भने । 

सलोनले बाल कलाकारको रुपमा शिव श्रेष्ठ र भुवन केसीसँग जम्मा एक एक फिल्ममा काम गरेका छन् । सलोनका अनुसार शिवसँग उनले ‘कर्म’ भन्ने फिल्ममा काम गरेका थिए भने भुवन केसीसँग ‘नेपाली बाबु’मा । ठूलो भएर ‘होस्टल’बाट डेब्यु गरेयता उनले भुवन केसीसँग यो फिल्ममा पनि एक सिन सेयर गरेका छन् । 

सलोनले इकागजसँग कुरा गर्दै पहिलोपल्ट ‘लेभलअप’ गरेको जस्तो महसुस भएको बताए र चित्लाङमा सुटिङ गरिरहँदा नै उहाँहरूको सम्मानमा यस्तो लुगा लगाउनेबारे सोचेको बताए ।

‘सुटिङ गरिरहँदा नै कार्यक्रममा यस्तो लुगा लगाउँछु भन्ने सोचेको थिएँ । यो मेरो उहाँलाई सम्मान अभिव्यक्त गर्ने सानो प्रयास हो । यो फिल्ममा उहाँहरूसँग काम गर्न पाउँदा साँच्चिकै गर्व लागेको छ,’ सलोनले भने । ‘डाँडाको बरपीपल’मा सलोनले परिवारको दोस्रो पुस्ताको प्रतिनिधित्व गरेका छन् । फिल्ममा रुविना थापाले सलोनको जोडीको रुपमा अभिनय गरेकी छिन् ।  


Author

थप समाचार
x