सिनेमा

‘नमान लाज यसरी’ गाउन गएका प्रेमध्वज जब ‘माइतीघर’मा हिरो बन्न लजाए

सामीप्यराज तिमल्सेना |
पुस १, २०७७ १२:२३ बजे

निजी क्षेत्रबाट बनेको पहिलो फिल्म ‘माइतीघर’ राजा महेन्द्रको कू–कै साइतमा सार्वजनिक भएको थियो । महेन्द्रको एडीसीसमेत रहेका नरशम्शेर निर्माता हुनु अनि सुटिङ तयारी गर्दैगर्दा हिरोइन माला पक्राउ परेपछि उनलाई छुटाउन उताका प्रधानमन्त्रीदेखि यताका राजासम्म लागिपर्ने प्रसंग माइतीघर फिल्मका गीतसंगीतजस्तै रोचक छन् । नायकको प्रस्ताव आउँदा लजाएका गायक प्रेमध्वज माला र माइतीघर दुवैको हिरो नभएकामा के पछुताउँछन् ? पढ्नुहोस् ‘माइतीघर’को कथा :

०००


ADVERTISEMENT

५४ वर्षअघि आजैका दिन प्रदर्शन भएको थियो, ‘माइतीघर’ । नेपालमा बनेको दोस्रो फिल्म भए पनि निजी क्षेत्रबाट बनेको पहिलो फिल्मका रूपमा यसको रेकर्ड छ । ‘माइतीघर’अघि ‘आमा’ बनेको थियो, जसलाई सूचना तथा सञ्चार मन्त्रालयले बनाएको थियो ।  नेपाली भाषामै बनिएको ‘सत्यहरिश्चन्द्र’लाई पहिलो नेपाली फिल्म मान्ने कि नमान्ने भन्नेमा अझै फिल्म इतिहासकारबीच मतैक्य छैन ।  

२०२३ साल पुस १ गते प्रदर्शन भएको  ‘माइतीघर’ फिल्मप्रेमी दर्शकबीच आज पनि जीवित छ । यसको पहिलो श्रेय जान्छ, यसमा समाविष्ट गीत–संगीतलाई । ‘माइतीघर’मा रहेका गीत आज पनि देशको कुनै न कुनै कुनामा बजिरहेका हुन्छन् । ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘काला कुर्तैले’, ‘नमान लाज यसरी’, ‘म प्यार बेचिदिन्छु’ यस्ता कालजयी गीत हुन्, जुन आज पनि नेपालीका ओठमा झुण्डिएका छन् । 

फिल्मको गीत–संगीत जति सफल भयो फिल्म पनि उति नै सफल भयो ।  बम्बइया फर्मूलाले भरिएको फिल्म रिलिज हुँदा मारामार चलेको सम्झन्छन्, ‘नेपाली चलचित्रको इतिहास’ पुस्तकका लेखक लक्ष्मीनाथ शर्मा । शर्माका अनुसार फिल्म काठमाडौंमा पहिलो दिनदेखि नै हाउसफुल थियो तर पनि फिल्मले लगानीको एक चौथाइ मात्र उठाउन सफल भएको थियो । ‘बजार विचारै नगरी जथाभावी खर्च गरिएको थियो । त्यसैले जति चले पनि निर्माताले पैसा उठाउन सकेनन्,’ शर्माले इकागजसँगको कुराकानीमा भने ।

शर्माका अनुसार उसबेला नेपाली फिल्मको बजार दुई अढाइ लाख हाराहारीको मात्र थियो तर निर्माता नरशमशेर जबरा र जोगेन्द्र झाले फिल्ममा ७ लाख रुपैयाँ खर्च गरेका थिए । शर्माले आफ्नो पुस्तकमा लगानीका सवालमा निर्माताबाट भएको गल्तीबारे निर्माता नरशमशेर राणालाई उद्धृत गर्दै लेखेका छन्, ‘मुम्बईको होटल एम्बास्डरमा ओमप्रकाश, आइएस जोहर, सुनिल दत्त, देवानन्द, गुरुदत्त, गीत दत्त, आशा भोसले, जयदेव, धर्मेन्द्र, मेहमूद, जोनीवाकर लगायत दिनहुँजसो भेला हुन्थे । दिनहुँ ड्रिंक्स र डिनर गर्थे । तत्कालीन मुमा बहामहारानी पनि सुटिङ हेर्न सवारी भयो । होटलमा दिनदिनै पार्टी गर्नुपर्दा निकै खर्च बढ्यो । तर, रमाइलो भने अत्ति नै भयो ।’

हिरो नपाएर हैरान

आज पनि हिरोले निर्माता खोजेर फिल्म बनाउने चलन व्यापक छ । तर, आजभन्दा ५४ वर्षअघि ‘माइतीघर’ बनाउँदा पनि यो अवस्था फरक थिएन । ‘माइतीघर’को बीजारोपण नै निर्माता नरशमशेरका आफन्त भानुकुमार माला सिन्हासँग हिरो हुने लोभमा भएको थियो । भानुकुमार नरशमशेरका भाइ पर्ने वसन्त शमशेरका भानिज थिए ।

पैसाको जोगाड गर्न सकिए माला सिन्हासँग हिरो भएर खेल्ने मौका पाउने चाल पाएपछि उनैले फिल्म निर्माणका सूत्रधार किशोर तिमिल्सिनालाई नरशम्शेरसँग भेट्टाएका थिए । नरशम्शेर पनि बलिउडकै प्रख्यात नायिका माला सिन्हाले फिल्म खेल्ने भनेपछि लगानी गर्न तयार भएका थिए । किशोरले मुम्बईमा नै माला सिन्हालाई निर्देशक बीएस थापासँग भेट्टाएर ‘माइतीघर’का लागि अनुबन्ध गरिसकेका थिए । 

माला सिन्हा फाइनल भएपछि लगानी खोज्न किशोर नेपाल आएका थिए । यही क्रममा पटना एयरपोर्टमा भानुकुमारसँग भेट भएको थियो । नेपाली मूलकी माला एउटा भए पनि नेपाली फिल्म खेलौं न त भनेर ‘माइतीघर’ खेल्न राजी भएकी थिइन् । मालाका बाबु आमा दुवै नेपाली थिए । 

भानुकुमारले किशोरलाई नरशम्शेरसँग वाचाअनुरूप नै भेट्टाए र उनले लगानी पनि गर्ने भए । किशोरले मुम्बईमा सुनिल दत्त लगायतका कलाकारसँग पनि कुरा गरे । फिल्मको मुहूत्र्तको दिन आयो । तर, जब मुहूत्र्त सट दिने समय आयो, भानुकुमारका नौनाडी गले । उनले अभिनय गर्नै सकेनन् । भानुकुमारले धेरै प्रयास गरे तर पार नलागेपछि आफैं मैदानबाट हटे । ‘म अभिनय गर्न सक्दिनँ अर्को नायक राख्नोस्,’ उनले हार खाएर निर्देशक थापालाई भने । अन्तिम समयमा अब कसलाई खेलाउने ? 

सबैको नजर गायक प्रेमध्वज प्रधानमा गयो । प्रेमध्वज गीत गाउनैका लागि १ महिनादेखि मुम्बईमा बसिरहेका थिए । मुम्बई जानुअघि फिल्मका संगीतकार जयदेवले काठमाडौंमा नै उनको स्वर परीक्षा लिएका थिए । न्युरोडको पारस होटलमा बसेका जयदेवले गीत गाएर सुनाउन आग्रह गरेपछि प्रेमध्वजले ‘दोस्ती’ फिल्मका चार गीत गाएर सुनाएका थिए । तर, स्वरसँगै उनको व्यक्तित्व पनि हिरो हुने खालकै थियो । सुन्दर थिए ।

संकटको घडीमा सबैले उनलाई माला सिन्हाको हिरो बन्न हत्ते गरे । तर, ‘नमान लाज यसरी’ गाउन गएका प्रेमध्वज हिरो बन्न लजाए । ‘मलाई हिरो बन्नुपर्यो भनेर सबैले भन्नुभयो तर मैले म त गीत गाउन आएको, गीत मात्र गाउँछु भनेँ,’ ५३ वर्षअघिको घटना सम्झँदै प्रधानले इकागजसँग भने, ‘म केही दिनलाई अफिस बिदा लिएर गीत गाउन गएको थिएँ । मलाई हिरो बन्न रहरै थिएन । मैले ‘म गीत गाउन आएको गीत मात्र गाउँछु’ भनेर उहाँको कुरा मानिनँ ।’ 

‘के आज त्यो प्रस्ताव मानेर हिरो भएको भए हुन्थ्यो भन्ने लाग्छ ?’ इकागजको प्रश्नमा प्रधानले आफूलाई त्यो कुरामा कहिल्यै पछुतो नभएको बताए । ‘हैन मलाई रहरै थिएन । गाउनेबाहेक अरू कुनै महत्वाकांक्षा नै थिएन,’ उनले भने । 

प्रेमध्वजका अनुसार आफूले नमानेपछि निर्माण टिमले चिदम्बरप्रसाद लोहनी (सिपी लोहनी) लाई हिरो बन्न प्रस्ताव गरेको र उनले प्रस्ताव सकारेपछि ‘माइतीघर’मा सिपी र माला सिन्हाको जोडीले अभिनय गरेको थियो । भन्सारका जागिरे सिपी पनि ‘काला कुर्तैले’ लगायतका गीत गाउन मुम्बई पुगेका थिए । पछि सुटिङका क्रममा नै माला सिन्हाले उनलाई मन पराएपछि दुवैबीच पत्र व्यवहार हुँदै कुरो बिहाबारीसम्म पुगेको थियो । सुखद् दाम्पत्य जीवन बिताइरहेको सिपी र माला सिन्हाको जोडी आज पनि काठमाडौं–मुम्बई गरिरहन्छ । 

सुटिङको मुखमा माला सिन्हा जेलमा !

तर, मुहूरतका दिनमा जे भयो त्योभन्दा कम थिएन त्यो क्षणसम्म आइपुग्न निर्माण टिमले गरेको संघर्ष । हिरो फेर्ने झन्झटमा फस्नुअघि नै निर्माण टिमले झन्डै हिरोइन माला सिन्हा गुमाउनु परेको थियो । 

मुम्बईको एउटा स्टुडियोमा ‘माइतीघर’को मुहूत्र्त थियो तर अघिल्लै दिन माला सिन्हा जेल पुगिन् । मुम्बईको आयकर विभागले कर छली गरेको आशंकामा उनको घरमा छापा मार्यो । विभागले छापा मार्दा बाथरुममा लुकाइराखेको २२ लाख भारतीय रुपैयाँ भेटियो । आयकर विभागले यसपछि पैसा मात्र लिएर गएन, माला सिन्हालाई पनि लिएर गयो । फिल्मको मुहूत्र्तको तयारी गर्नुपर्ने माला सिन्हा जेल पुगिन् ।

लक्ष्मीनाथ शर्माले ‘नेपाली चलचित्रको इतिहास’मा सो प्रसंगको चर्चा गर्दै लेखेका छन्, ‘निर्माताहरूले कि त नायिकालाई जेलबाट छुटाउनुपर्ने भयो कि त माला सिन्हाको साटो अर्की नायिका खेलाउनुपर्ने भयो । नत्र कि त छायाँकन नै रोक्नुपर्ने भयो ।’ 

सुटिङमा जानुपर्ने नायिका जेल गएपछि नरशमशेरले माला सिन्हालाई छुटाउन दौडधुप गरे । महाराष्ट्रमा उसबेला मुख्यमन्त्री मोरारजी देसाई थिए । नरशमशेरले उनलाई भेटे । आयकर छलीको मुद्दा केन्द्रीय सरकारले मात्र छिनोफानो गर्न सक्थ्यो । मोरारजीले नै प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई भेट्न सल्लाह दिए । मोरारजीको सल्लाह अनुसार नै नरशमशेरले गएर शास्त्रीलाई भेटे र घटनाको बेलिबिस्तार लगाए । सबै कुरा सुनेपछि शास्त्रीले नेपाल सरकारबाट ‘माला सिन्हालाई छाडिदिनू’ भन्ने आशयको चिठ्ठी लिएर आउन सुझाए । 

नरशमशेर तुरुन्तै काठमाडौं फर्किए । नरशमशेर कुनै समय राजा महेन्द्रका एडीसी थिए । राजासँग सहज पहुँच थियो । राजाबाट पत्र लिन मुस्किल थिएन । उनले राजासँगै सरकार र अन्य निकायका पत्र लिएर शास्त्रीलाई बुझाए । शास्त्रीले यसपछि माला सिन्हालाई मात्र छाड्ने आदेश दिएनन्, उनको घरबाट जफत गरिएको २२ लाख रुपैयाँ पनि फिर्ता गराउन लगाए । यसपछि  सुरु भएको फिल्मको सुटिङ मुम्बई, काठमाडौं हुँदै पोखरा पुगेर सकिएको थियो ।

फिल्म ‘माइतीघर’ले जुरायो माइतीघर

आन्दोलनको पयार्य जस्तै बनेको छ, बबरमहलको माइतीघर । सरकारविरुध्द आन्दोलन गर्न होस् वा सरकारको समर्थन गर्न जनता भेला हुने ‘प्राइम लोकेसन’ बन्ने गरेको छ, माइतीघर । माइतीघरलाई यो नाम दिलाउन पनि यही ऐतिहासिक फिल्मको योगदान छ ।

पहिला अरु नै नाममा बोलाइने गरेको यो ठाउँ यो फिल्मको लोकप्रियतापछि माइतीघर रहन गएको बताउँछन् यादव खरेल । फिल्ममा सानो भूमिकामा अभिनय गरेका खरेल फिल्मको अफिस अहिलेको आन्दोलनको केन्द्रस्थल ‘मण्डल’ (मण्डला होइन) भएको ठाउँमा रहेको र यही ठाउँपछि माइतीघरमा रूपान्तरण भएको सम्झना गर्छन् ।

‘अहिले जुन ठाउँमा माइतीघर मण्डल छ त्यो ठाउँमा १०–१५ वटा घर थिए । यही घरमध्ये एउटा ठाउँमा माइतीघर फिल्मको अफिस थियो । पछि फिल्म रिलिजको समयमा यहाँ ठूलो पोस्टर पनि राखिएको थियो,’ खरेल अनुमान गर्छन्, ‘रिलिजसँगै फिल्मको थप चर्चा भयो । त्यो ठाउँलाई चिनाउने सबैभन्दा ठूलो ठाउँ नै फिल्म भएपछि बिस्तारै यसले जनताबाट मान्यता पायो ।’

खरेलका अनुसार पञ्यायतकालमा कुनै एक अञ्चलाधीशले ती घर अधिग्रहण गरेपछि पछि त्यही ठाउँमा सरकारले घर खाली गराएर अहिलेको माइतीघर मण्डल बनाएको थियो । केशव स्थापितको समयमा बनेको मण्डलको डिजाइन गायक तथा संगीतकार गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जनले गरेकी हुन् । 
 

यो पनि :

 



Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार