सिनेमा

अनुपम खेरले नेपालमा भेटे बलिउड को–एक्टर जो छिन् अहिले नेपालमा राजदूत

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार ११:२४ बजे

काठमाडौँ - बलिउड फिल्म ‘उँचाइ’को छायांकनका लागि अनुपम खेर यतिबेला नेपालमा छन् । अक्टोबर ४ देखि नेपालमा सुटिङ गरिरहेको बलिउड फिल्मको टोलीमा वोमन इरानी, परिनिती चोपडा आदि कलाकार पनि छन् ।

तर, सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय छन् अनुपम खेर । आएको भोलिपल्ट नै पशुपतिमा देखिएका उनले त्यसयता नेपालमा रहँदाका हरेक गतिविधिलाई सञ्जालमा बाँड्दै आएका छन् ।


दुई दिनअघि मात्र खेर नाम्चेको सेड्युल सकाएर काठमाडौँ फर्किएका थिए । सगरमाथाको फेद नाम्चेबाट हेलिकप्टरमा फर्किएका उनले सो क्रममा खिचेको साँगाको शिवजीको मूर्तिको भिडियो यतिबेला सञ्जालमा लोकप्रिय छ ।

काठमाडौँ आएपछि पनि खेर चुप छैनन् । उनले बिहीबार ट्ववीटरमा एउटा पोस्ट सेयर गरेका छन् जहाँ उनले आफ्नो अभिनय यात्राको सुरुवाती दिनका एक जना को–स्टार भेटेको उल्लेख गरेका छन् ।

‘जीवन सन्ध्या’ नामको फिल्म गर्दा खेरसँगै काम गर्ने कलाकार हुन् अष्ट्रेलियन भेलिसिटी भक । भेलिसिटी १९ वर्षको हुँदा उनले सो फिल्ममा काम गरेकी थिइन् । तर रमाइलो संयोग के भने यिनै भेलिसिटी यतिबेला नेपालका लागि अष्ट्रेलियन राजदूत छिन् ।

खेरले पोस्टमा यो संयोग उल्लेख गर्दै उनी दुई पुस्तकको लेखक भएकोसमेत बताएका छन् । जवाफमा भेलिसिटीले पनि यसलाई प्रकृतिको नियम मान्दै वर्षौपछि फेरि भेटिएको भन्दै अनुपम खेरलाई प्रतिभाशाली र मायालु मानिसको रुपमा सम्झना गरेकी छिन् । 

 


Author

थप समाचार
x