सिनेमा

माेहन राईको 'महानगर’ स्पेनको एसियन फिल्म फेस्टिभलमा छनाैट

इकागज |
कात्तिक ६, २०७८ शनिवार १०:३५ बजे

काठमाडौँ-  भारतको कोलकाता फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको फिल्म ‘महानगर’ स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोनामा छनौट भएको छ । स्पेनको बार्सिलोनामा यही २७ तारिखदेखि सुरु भएर नोभेम्बर १० सम्म चल्ने फेस्टिभलमा ‘महानगर’ स्पेसल सेक्सनमा प्रदर्शन हुनेछ । फेस्टिभल अनलाइन हुनेछ ।

‘महानगर’ यसअघि अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो । मोहन राई निर्देशित फिल्म कोलकाता फिल्म फेस्टिभलमा फिल्म एसियन सेलेक्टअन्तर्गत  दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको थियो । 


‘अञ्जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू फिल्म हो । ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री फिल्म हो भने ‘सखी’ छोटो फिल्म । 

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ । सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो । फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकार पनि अभिनय रहेको छ । 
फिल्मलाई माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो ।

निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

 


Author

थप समाचार
x