सिनेमा

समीक्षापछि पल शाहको स्पष्टिकरण : हामी सहकर्मी मात्र हौँ

इकागज |
कात्तिक ८, २०७८ सोमबार १०:४४ बजे

काठमाडौँ - गायिका समीक्षा अधिकारीले पल शाहसँग गलत सम्बन्ध नरहेको स्पष्टिकरण दिएसँगै पल शाहले पनि फेसबुक स्ट्याटस लेख्दै समीक्षासँगको सम्बन्धलाई लिएर लेखिएका समाचार झुटा भएको बताएका छन् । उनले काम गर्ने क्रममा सबै सहकर्मीसँग धेरथोर नजिक हुने र समीक्षासँग पनि त्यति नै मात्र नजिक रहेको बताएका छन् । 
उनले विनाआधार गसिप बनाएर समाचार नलेख्न पनि पत्रकारलाई आग्रह गरेका छन् ।  पल शाह र समीक्षा अधिकारीबीच अन्तंरंग सम्बन्ध रहेको आसयका समाचार आउन थालेपछि पल र समीक्षा पालैपालो प्रतिकारमा उत्रिएका हुन् ।

समीक्षाले आइतबार मात्र पलसँग कुनै अनैतिक सम्बन्ध नरहेको भन्दै विनाप्रमाण समाचार नलेख्न आग्रह गरेकी थिइन् । पल शाहले पनि आइतबार साँझ नै सोही आसयको स्ट्याटस लेख्दै व्यक्तिगत र चरित्र हत्या हुने गरी समाचार नलेख्न आग्रह गरेका छन् । 


उनले आइतबार साँझ फेसबुकमा पोस्ट गरेको स्ट्याटस यसप्रकार रहेको छ -

नमस्कार
  देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शक श्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया । बिगत केही दिनदेखि मेरो र गायिका समीक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शकदीर्घा नै दुःखी बनेको महसुस हामीले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ति समूह कहीँ न कहीँ कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेसा र विधाका कारण मैले धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरू माझ मैले सदैव आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु । अरु कलाकारसँग जस्तै र अरुले जस्तै सांङ्गीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरूलाई विदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवन माथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले मलाई अत्यन्तै दुःखी बनाएको छ । यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाई दिनुहुन सम्पूर्ण मिडियाकर्मी ज्युहरूलाई हार्दिक अनुरोध गर्दछु । मैले सधैं दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु । यही घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहाँसम्म आइपुगेको छु । मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्टमार्फत हार्दिक माफी माग्द्छु । गायिका समीक्षा अधिकारी र मेरोबीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानाम शीर्षक दिएर सिङ्गो पत्रकारितालाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला । धन्यवाद  
– हजुरहरूको पल शाह !!


Author

थप समाचार
x