सिनेमा

अल्लु अर्जुनको ‘पुष्पा’सँग जुध्‍न परेपछि आक्रोशित ‘चपली हाइट ३’ निर्माता

इकागज |
मंसिर १३, २०७८ सोमवार ११:५९ बजे

काठमाडौँ -हल नखुलुन्जेल नखुलेको पिर खुलेपछि विदेशी फिल्मको पिर । नेपाली निर्मातालाई यस्तै भइरहेको छ । महामारीले सिनेमा घर बन्द भएपछि बनेका फिल्म कहिलेसम्म यत्तिकै राख्ने, निर्माता उपायविहीन थिए । बाहिर जस्तो नेपालमा ओटिटीको विकल्प पनि छैन ।

हलकै लागि भनेर बनाएका हलिउड बलिउडका धेरै फिल्म हल नखुलेपछि ओटिटीमा रिलिज भए । केहीले यही मौकामा हल र ओटिटी दुवैमा सार्वजनिक गर्ने ‘डिल’ पनि पाए । तर नेपालका निर्मातालाई भने हल खुल्नुको विकल्प थिएन । 


बलिउड फिल्म ‘सूयंवंशी’ले हिम्मत दिएपछि नेपाली निर्माता हार्ड डिस्कमा थन्किएका फिल्म प्रदर्शन गर्न तम्सिएका छन् तर डर पुरानै छ, बलिउड फिल्मसँग कसरी भिड्नु । बलिउड मात्र होइन, आजभोलि दक्षिण भारतीय फिल्म पनि ‘पान इन्डियन’ भन्दै भारतभर र नेपाल जस्ता मुलुकमा पनि रिलिज हुन्छन् जसका दर्शक ‘बाहुबली’ यता ज्यामितीय गतिमा बढिरहेका छन् । यस्तोमा नेपाली फिल्मका निर्माता हच्कनु स्वाभाविक नै हो । 

यसरी आफूले घोषणा गरेकै मितिमा विदेशी फिल्मका वितरकले दक्षिण भारतीय फिल्म रिलिज गर्ने भएपछि निर्माता अर्जुनकुमार भने आक्रोशित बनेका छन् । उनले आइतबार बारम्बार स्ट्याटस लेख्दै डब फिल्म ल्याउने वितरकलाई दलाली गरेको आरोप लगाएका छन् । ‘दुई लाखमा हिन्दी डब फिल्म लेराएर दलालहरू अझै नेपाली फिल्मलाई तर्साउन खोज्छस् । याद गर नेपाली फिल्ममेकरलाई सधैँ यसरी नसताउ । फेरि पछुताउनु पर्ला ।’

निर्माता अर्जुनकुमारले संकेत गरेको डब फिल्म तेलगु फिल्म ‘पुष्पा’ हो । दुई भागमा बनेको यो फिल्म अर्जुनकुमारको ‘चपली हाइट ३’ प्रदर्शन हुने दिन नै नेपालमा पनि प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई गोपीकृष्ण मुभिजले नेपालमा वितरण गर्न लागेको हो । 

अर्जुनकुमारले ‘चपली हाइट ३’ पुस १७ मा प्रदर्शन हुने घोषणा गरेका छन् । यो मितिमा फिल्म रिलिज गर्ने निर्णय गर्नमा उनले हिन्दी फिल्मको क्यालेन्डरलाई आधार मानेका थिए । किनकि उनले घोषणा गर्दासम्म कुनै बलिउड फिल्म थिएनन् । तर ‘पुष्पा’ सोही मितिमा आउने भएपछि निर्माता अर्जुनकुमार आक्रोशित बनेका हुन् । उनले आइतबार नै डब फिल्म काल भएको बताउँदै नपल्काउन आग्रह गरेका छन् । उनले नेपाली फिल्मलाई धेरै नहेप्न पनि चेतावनी दिएका छन् । 


Author

थप समाचार
x