सिनेमा

सिनेमा

बलिउड फिल्म ‘उँचाइ’ की नेपाली नायिका

कैलालीमा फुटबल टिमकी क्याप्टेनको मोडलिङ दुनिया

सामीप्यराज तिमल्सेना |
मंसिर १७, २०७८ शुक्रबार १६:२ बजे

‘दाइ, उँचाइको विषयमा चै धेरै कुरा मिल्दैन है । नन डिस्क्लोजर एग्रिमेन्ट छ ।’

बलिउड फिल्म ‘उँचाइ’मा नेपाली मूलकी धारणा शर्माले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् भन्ने थाहा पाएर फोनमार्फत सम्पर्क गर्दा उनले सुरुमै निराश पारिन् । बलिउड वा हलिउडतिर सानोभन्दा सानो काम गर्नेलाई पनि फिल्मको कुरा बाहिर ननिकाल्ने निर्देशन हुन्छ । स्टारहरूको त जे हुन्छ ‘पीआर’ टिमको निर्देशनमा मात्र हुन्छ । यस्तोमा धारणाले उँचाइको विषयमा बोल्ने नमिल्ने बताए पनि ‘उँचाइ’सम्मकै उनको यात्रा पनि कम रोचक हुन्नथ्यो । यही कुरा उनलाई बताएपछि धारणा कुरा गर्न राजी भइन् । 


मुम्बईमा बसेर मोडलिङ र अभिनयमा भविष्य खोजिरहेकी धारणाले अडिसनमार्फत 'उँचाइ'मा मौका पाएको बताइन् । उनलाई सर्वप्रथम यो फिल्मका कास्टिङ डिरेक्टर मुकेश छाबराले पत्याएका थिए भने पछि ‘उँचाइ’का निर्देशक सुरज बडजात्याले । अडिसनको प्रक्रिया पूरा गरेर छनौट हुँदासम्म पनि उनलाई यो फिल्म नेपालमा पनि सुटिङ हुँदै छ भन्ने थाहा थिएन । त्यो त उनले सुटिङको मुखमा आएपछि मात्र चाल पाएकी थिइन् । 

सन् २०१४ देखि मुम्बईमा संघर्ष गरिरहेकी धारणाको दैनिकी हुन्थ्यो, मोडलिङका नियमित कामबाहेक कास्टिङ एजेन्सीका पोस्ट पछ्याउने र आफू सुहाउँदो अडिसन कल रैछ भने अप्लाई गर्ने । उनले ‘उँचाइ’ लागि पनि यही गरेकी थिइन् । तर, जिन्दगीका धेरै अडिसनमा खाली हात फर्केको तीतो अनुभव सँगालेकी धारणाले यो पटक नपत्याउँदो गरी छनौट भइन् । 

‘उँचाइका लागि कलाकार चाहिएको सूचना पाएपछि अडिसन भिडियो बनाएर पठाएँ । त्यसमा छनौट भएपछि लुक टेस्टका लागि बोलाउनु भयो । यहाँ पनि राम्रो भएपछि छनौट भएको खबर पाएँ,’ धारणाले इकागजसँग भनिन् । 

‘उँचाइ’मा धारणाबाहेक थुप्रै नेपाली कलाकार छानिएका र खेलेका खबर आएका छन् । त्योमध्ये छानिएका केही त पर्दामा देखिन्नन् । डमीको रुपमा मात्र रहनेछन् । 

'कतै धारणा पनि यसरी पर्दा पछाडि नै मात्र देखिने त होइनन् ?’ इकागजको आशंकायुक्त प्रश्नमा उनले आफू बकाइदा पर्दामा देखिने र महत्वपूर्ण भूमिकामा देखिने जानकारी गराइन् ।

‘मेरो क्यारेक्टर फिल्मको सेकेन्ड हाफमा आउँछ । तर नोटिस हुने गरी नै आउँछ,’ उनले फिल्मबारे धेरै बोल्न नमिल्ने स्मरण गराउँदै छोटो जवाफ दिइन् । 
‘उँचाइ’बाट बलिउडमा अभिनयको उडान भर्ने लक्ष्य लिएकी धारणाको मुम्बई यात्रा २०१६ मा सुरु भएको थियो । सन् २०१४ मा काठमाडौँमा भएको ‘ब्युटी क्विन’मा फस्ट रनर अप बनेपछि उनमा ग्ल्यामर क्षेत्रमा केही गर्न सक्ने आत्मविश्वास चुलिएको थियो र यसैले बल दिएर धारणा भारत पुगेकी थिइन् ।

भाउजूको नन्द भारतको सुरतमा बसेर मोडलिङ गर्थिन् । उनले नै धारणालाई बोलाएकी थिइन् । तर अभिनयको बिउ हुर्काइरहेकी धारणालाई मोडलिङमा मात्र जमेर बस्न मन लागेन । उनले अभिनयमा पनि भविष्य खोज्ने निर्णय गरिन् । उनले सुरत छाडिन् र मुम्बईको बाटो तताइन् । मुम्बई पुगेसँगै घुँडा धसेर रोशन तनेजाको इन्स्टिच्युटमा पढिन् । यहाँ घुँडा किन धस्नुपथ्र्यो भने बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म क्लास हुन्थ्यो ।

एउटा एक्टरलाई चाहिने कदेखि ज्ञसम्मको कुरा यही बीचमा पढाइन्थ्यो । रोशन तनेजाको कक्षाले अभिनयमा थप डुबाइको माग गरेपछि उनले थिएटर पनि ज्वाइन गरिन् । अब चैं उनलाई अभिनयमा पनि आत्मविश्वास बढेको थियो तर यो आत्मविश्वास कतै देखाउन नपाउँदै महामारी सुरु भयो । यो उनले थिएटर क्लास सकेको दोस्रो दिनको कुरा थियो । 

अहिले मुम्बईमा अभिनेत्रीका रूपमा धाक जमाउन संघर्षरत धारणाको पहिलो रुचि भने सिनेमा नभई फुटबल थियो । धारणा टीकापुर कैलालीस्थित खड्गस्मृतिबाट एसएलसी पास गरेकी धारणा त्यो स्कुलको पहिलो महिला फुटबल टिमको क्याप्टेन थिइन् । धारणाका अनुसार उनी क्याप्टेन भएको टिम त्यो क्षेत्रकै पहिलो फुटबल टिम थियो ।

‘स्कुलमा केटाको टिम थियो । केटीलाई फुटबल खेल्न वर्जित थियो । मैले म पनि खेल्छु भनेपछि अरु साथी पनि थपिए । यसरी हाम्रो फुटबल टिम बन्यो । म त्यो टिमको क्याप्टेन थिएँ,’ धारणाले सुनाइन् । 

स्कुलमा फुटबलसँगै धारणा स्कुलका सांस्कृतिक कार्यक्रममा पनि उत्तिकै सक्रियताका साथ भाग लिन्थिन् । तर कालान्तरमा भने फुटबल हैन अभिनयको तिर्सनाले जितेपछि भने उनले फुटबल छाडेर अभिनय रोजिन् । धारणा भन्छिन्, ‘सन् २०१४ मा जितेको ब्युटी क्विनको फस्ट रनर अपको उपाधि नै यो क्षेत्रमा लाग्ने टर्निङ प्वाइन्ट हो । म त्यो प्रतियोगिताप्रति आज झन् धेरै अनुगृहीत छु । किनकि यसैले मेरो अभिनय गर्ने सपनालाई आत्मविश्वास दिएको थियो ।’

टीकापुर कैलालीस्थित खड्गस्मृतिबाट एसएलसी पास गरेकी धारणा त्यो स्कुलको पहिलो महिला फुटबल टिमको क्याप्टेन थिइन् । 
 

मुम्बईमा धारणाले बामे सर्न मात्र थालेकी छिन् । उनले गरेका कामको लिस्टमा धेरै जसो विज्ञापन छन् । जस्तो कि उनले ‘फ्लिप कार्ड’, ‘निकोन’ आदि प्रडक्टको विज्ञापनमा काम गरेकी छिन् । त्योबाहेक उनले ‘दहसत’नामको वेब सिरिज गरेकी छिन् जुन प्रदर्शनको पालो कुरेर बसिरहेको छ । यो सिरिजमा धारणा मुख्य भूमिकामा नै देखिनेछिन् ।

त्योबाहेक ‘साम से’ बोलको गीतको म्युजिक भिडियो गरेकी छिन् जुन टिसिरिजबाट प्रसारण हुने क्रममा रहेको छ । मुम्बईमा संघर्षरत अभिनेता वा अभिनेत्री कुनै न कुनै ट्यालेन्ट एजेन्सीसँग आबद्ध हुन्छन् । यही ट्यालेन्ट एजेन्सीले उनीहरूलाई काममा लाउँछ र आफ्नो कमिसन काटेर उनीहरूले पाउने पैसा दिन्छ । तर, धारणा भने कुनै पनि एजेन्सीसँग आबद्ध छैनन् । उनले यसरी कसैको मातहतमा रहेर काम गर्दा धेरै सर्त मान्नुपर्ने कारणले यस्ता संस्थामा आबद्ध नभएको बताइन् ।

‘एजेन्सीका फाइदा धेरै होलान् तर उनीहरूसँग काम गर्दा अनेक सर्त मान्नुपर्छ । आखिर प्रतिभा नभई कसैले पनि काम दिँदैन भने एक्लै किन संघर्ष नगर्ने भनेर मैले गरेको छैन,’ धारणाले बताइन् । 

पछिल्लो समय नेपालबाट गएर भारतको मोडलिङमा जमेका अदिती बुढाथोकी, मुना गौचन, अञ्जली लामा आदि भारतका एजेन्सीसँग आबद्ध रहेर काम गरिरहेका छन् । 

फेरि ‘उँचाइ’कै कुरा 

‘उँचाइ’का लागि लुक टेस्ट दिएर बसेकी धारणा केही दिनमै ‘गदर २’का लागि अडिसन दिने तयारीमा थिइन् । फिल्म निर्माण कम्पनीसँग मिटिङ पनि तय भइसकेको थियो । तर एक दिन अपरिचित नम्बरबाट फोन आयो । उनले उठाएर हेलो भन्दा आवाज आयो, ‘धारणा आपका उँचाईमें सेलेक्सन हो गया ।’ उनले ‘सच्ची ?’ भनेर कन्फर्म गरिन् ।

उताबाट ‘हाँ हाँ’ भनेपछि खुसीले उनका खुट्टा भुइँमा रहेनन् । यो खबर पाउँदा रुममेट सँगै थिइन् । उनले यसपछि भने नेपालमा रहेका दुई दिदी भुवनेश्वरी शर्मा र रमा शर्मालाई यो खबर सुनाइन् । यी दुई दिदी नै थिए जसले धारणाले पनि अभिनय गर्न सक्छे भन्ने कुरा पत्याएका थिए र मुम्बई जस्तो ठाउँमा एक्लै संघर्ष गर्न छाडिदिएका थिए ।


यही डिसेम्बर–जनवरीमा ‘उँचाइ’को दोस्रो सेड्युल सुरु हुँदै छ । यो सेड्युलमा उनले अनुपम खेर, वोमन इरानीसँगै अमिताभ बच्चनसँग अभिनय गर्नुपर्नेछ । यो कुराले धारणाको मनमा कहिलेकाहीँ अनेक विचार चाकाचुली खेल्छन् । यो क्षण सपना हो कि विपना हो भने जस्तो पनि लाग्छ ।

तर, उनलाई थाहा छ, ‘उँचाइ’ उनले चाहेको ‘उँचाइ’ होइन यो त मात्र सुरुवात हो । कम्तीमा यो फिल्मपछि उनलाई आशा छ, अब अडिसन दिँदा उनले यस्तो फिल्मको नाम लिन पाउनेछिन् जुन नहेर्ने मान्छे सायद अडिसन लिने ठाउँमा हुने छैनन् । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x