सिनेमा

‘चपली हाइट’ हिट हुँदा अर्जुनकुमार र निकेशलाई मात्र फाइदा हुने हो र ? : निकेश खड्का

सामीप्यराज तिमल्सेना |
पुस २७, २०७८ मंगलबार १०:४८ बजे

काठमाडौँ-  म्युजिक भिडियो हुँदै फिल्म निर्देशनमा उत्रिएका निकेश खड्काले ‘जिन्दगी रक्स’बाट फिचर फिल्मको यात्रा सुरु गरेका थिए । प्रेमकथा श्रेणीको यो फिल्मबाट राम्रै धाप पाएका उनले यसपछि सौगात मल्ल र प्रियंका कार्कीलाई लिएर हास्य शैलीको ‘फाटेको जुत्ता’ बनाए ।

तेस्रो फिल्मको रुपमा भने ‘चपली हाइट ३’ निर्देशन गरेका छन् जुन आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ । पहिलो दुई फिल्मले अनुभवी बनाएको बताउने निकेश यो फिल्मले भने आफूलाई निर्देशकको रुपमा ‘नोटिस’ गराउने अपेक्षा राखेका छन् । प्रदर्शनको संघारमा उनले इकागजसँग फिल्म र योसँग जोडिएका विविध पक्षमा कुरा गरेका छन् । 


 एउटा चर्चित शृंखलाको निर्देशन गर्न गाह्रो \रमाइलो के हुँदोरहेछ ?
सुरुमा त गाह्रै लागेको हो । किनकि यसका दुवै भाग फरक रुपमा सफल छन् । एकै खाले फिल्म बनिरहेको समयमा ‘इरोटिक थ्रिलर’को रुपमा यसले छुट्टै स्थान बनाएको छ । तर काम गर्दै जाँदा चैँ यसलाई मैले अर्को एउटा फिल्मको रुपमा मात्र ग्रहण गर्दै गएँ । अहिले चैँ यसको आनन्द लिइरहेको छु । 

तपाईँ र यही फिल्मका निर्माता अर्जुनकुमार मिलेर त ‘फाटेको जुत्ता २’ बनाउने घोषणा गर्नु भएको थियो । तर अचानक यो फिल्म बनाउनु भयो ?
हो । अर्जुन दाइ र मैले ‘फाटेको जुत्ता २’ नै बनाउने तयारी गरेर स्क्रिप्ट पनि तयार गरेका थियौँ । तर अचानक यो कथा मन परेपछि ‘चपली हाइट ३’ बन्यो । 

भनेपछि यसको कथा खास छ ?
खास छ कि छैन त्यो त दर्शकले हेरिसकेपछि भन्नु होला । तर हामीलाई मन परेर नै बनाएका हौँ । यो कथाको अर्को रोचक कुरा के हो भने यो मैले सर्ट फिल्म बनाउन भनेर ठिक्क पारेको कथा हो । अहिले बन्द भएको आइफ्लिक्सका लागि भनेर मैले थ्रिलर श्रेणीको कथा तयार गरेको थिएँ । एक दिन अर्जुनकुमार र रामबाबु गुरुङ (निर्देशक, कबड्डी सिरिज) दुवै भएको समयमा मैले यो कथा सुनाएँ । रामबाबु दाइले पनि यसलाई फिचर नै बनाए हुन्छ नी भन्ने सुझाव दिनुभयो । अर्जुनदाइले ल फिचर नै हुन्छ भने ‘चपली हाइट ३’ नै बनाउँ न त भनेपछि आकाश बराल भाइ र म भएर पटकथा तयार गर्यौँ ।

‘इरोटिक थ्रिलर’ यो ‘चपली हाइट’को विशेषता भनुँ वा पहिचान बनेको छ । यो फिल्ममा दर्शकले पहिलो शृंखलाका गुण देख्न पाउँछन् कि पाउँदैनन् ?
सुरुमा कथा फाइनल गर्दा नै हामीले के छलफल गरेका थियौँ भने यसमा थ्रिलरको एलिमेन्ट चैँ निरन्तर राख्ने तर इरोटिकवाला एलिमेन्ट चैं क्यारी नगर्ने । यसमा थ्रिल छ, ग्ल्यामर पनि छ तर इरोटिक छैन । 

लकडाउनमा थ्रिलर विधाका धेरै फिल्म\सिरिज दर्शकले हेरेका छन्, यसले यस्ता विधाका फिल्मको स्ट्यान्डर्ड नै कहाँबाट कहाँ पुर्याएको छ ? ‘चपली हाइट ३’ यो अपेक्षामा खरो उत्रने सम्भावना कत्ति छ ? 
यसलाई चैँ मैले सकारात्मक हिसाबले हेरेको छु । हिजोका दिनमा हाम्रोमा नाच गाना वा फाइट भएका फिल्म मात्र चल्थे भनिन्थ्यो । ‘चपली हाइट’ले यो मान्यतामा धेरथोर परिवर्तन गर्यो । यसको अर्थ के हो भने, यो विधाका दर्शक छन् । महामारीमा धेरैभन्दा धेरै दर्शकले यो विधाका फिल्म हेरे भने यो विधाका दर्शक झन् बढे । यसको फाइदा अब ‘चपली हाइट ३’ लाई हुनसक्छ , यो जस्ता फिल्मलाई हुन्छ । यसमा चुनौती चैँ उही पुरानै हो, हामीले यस्ता फिल्म कत्तिको प्रतिस्पर्धी बनाउँछौँ, दर्शक आउने नआउने कुरा यसैमा भर पर्छ । 

नेपाली निर्माता÷निर्देशकले विधागत फिल्म बनाउँछु भने पनि त्यही फिल्ममा गीत पनि चाहिएकै छ, कमेडी र रोमान्स पनि हालेकै छ । ‘चपली हाइट ३’ मा कुनको मात्रा कति छ ?
यो पूर्णतया निर्देशकको फिल्म हो । निर्माताले जबर्जस्ती हाल्न लाउने कुरा यसमा छैन । फिल्म थिमभन्दा बाहिर छैन ।

 अब फिल्मको पब्लिसिटीको कुरा गरौँ, पहिलो, यो फिल्म सरेको सरै भयो । दोस्रो, कलाकारबाट पब्लिसिटीमा साथ नपाएको गुनासो व्यापक सुनियो । कलाकारले किन आफ्नै फिल्मको प्रचार गर्न गाह्रो मानेका ?
हामीले पुस २ मा प्रदर्शन मिति तोक्दासम्म ‘स्पाइडरमेन’ र ‘पुष्पा’ दुवै आउने टुंगो थिएन । पछि हाम्रो फिल्मसँगै आउने भएपछि पर्याप्त सो नपाउने कन्फर्म जस्तै भयो । सिनेमा हलले पनि अहिले सार्नुस् पछि सहयोग गर्छौँ भन्नु भयो । करोडौँ लगानी भएको फिल्म प्रतिष्ठाका लागि लड्नु पनि श्रेयस्कर थिएन । दोस्रो पटक त चलचित्र संघको नियमकै कारण सर्नुपर्यो । यो विषयमा सबै कुरा आइसकेकै छ । अनि जहाँसम्म कलाकारले पब्लिसिटीमा साथ दिएनन् भन्ने कुरा छ त्यो त उहाँहरूले गर्नुपर्ने जति गर्नु भएकै छ भन्ने लाग्छ । 

यो त कुटनीतिक जवाफ भयो, निर्माता अर्जुनकुमारले हरेक प्रेस इभेन्टमा कलाकारले प्रचारमा साथ नदिएको बताउनु भएको छ । स्वस्तिमा खड्काको त नाम लिएरै भन्नु भएको छ कि स्वस्तिमाले फिल्मलाई मतलब गरेन भनेर ?
यो विषयमा त अर्जुन दाइले नै बताउनु होला । तर स्वस्तिमाले फिल्मलाई बेवास्ता नै गरेको छ जस्तो त लाग्दैन । निर्माताको रुपमा अर्जुन दाइले अलि बढी अपेक्षा राख्नु ठीकै होला तर कलाकारका पनि सीमा होलान् भनेर बुझौँ न । त्यसै पनि स्वस्तिमाको नेचर पब्लिसिटीमा धेरै भिड्ने खालको पनि छैन । 

तपाईँले निर्माता र कलाकारको बीचमा बसेर रेफ्रीको भूमिका किन निर्वाह नगर्नु भएको ? कलाकारले तपाईँबाट यो अपेक्षा पनि राखेका थिए होलान् ? किनकि तपाईँ निर्माताको गाली खाइरहेका कलाकारसँगै म्युजिक भिडियो पनि बनाइरहनु भएको छ ?
फिल्म सरेपछि मेरो काम नै त्यही भएको छ । मैले अर्जुन दाइलाई पनि भनेको छु । कलाकारलाई पनि भनेँ । मैले पिसमेकरको भूमिका निर्वाह नगरेको भए सधैँ यही विषय मात्र अगाडि आइरहन्थ्यो । मिडियाले पनि यही विषयमा मात्र फोकस गर्ने । हामीले फिल्मको विषयमा कुरा गर्नै पाएनौँ । दुई हप्ता भयो हेर्नुस्, सुनसान छ । यो फिल्म निकेश र अर्जुनकुमारको मात्र होइन, स्वस्तिमा, महेश, सुपुष्पा सबैको हो । राम्रो हुँदा सबैले क्रेडिट पाउँछ । अरु त के भनौँ र !


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x