सिनेमा

रनवीर कपुरसँग ‘एनिमल’मा काम गर्दै विपिन कार्की

इकागज |
पुस २८, २०७८ बुधवार ९:४८ बजे

काठमाडौँ - अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् । विपिनले निर्माण टिमले आफूलाई अगस्टमा सुटिङका लागि बोलाएको जानकारी गराए । 

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरेका सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् । 


विपिन फिल्ममा अडिसन दिएर छानिएका होइनन् । मुम्बईबाट निर्माण टिमले सिधै फोन गरेर उनलाई फिल्म खेल्ने प्रस्ताव गरेको हो । विपिनले केही दिन अघि निर्देशक सन्दिपको भाइ प्रणय रेड्डीले फोन गरेर फिल्ममा काम गर्ने प्रस्ताव गरेको र आफूलाई प्रस्ताव ठीक लागेकोले गर्न लागेको इकागजलाई बताए । 

‘एक दिन प्रणयको फोन आयो । मेरो सेल्फी किङ उनीहरुले हेरेको रहेछ । त्यही फिल्मसँग मिल्दोजुल्दो भूमिका भएकाले सम्झिएका हुन् भन्ने लागेको छ,’ उनले भने । 
प्रणयसँग जोड्ने काम भने ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले गरेका हुन् । विपिनका अनुसार विशालले पहिले नै फिल्म प्रणयलाई देखाएको र फिल्म हेरेसँगै यो एक्टरसँग काम गर्छु भनेको र अहिले विशालसँगै नम्बर लिएर सम्पर्क गरेका हुन् । 

‘विशालसँग प्रणयको पहिले नै कुरा भएको रहेछ तर हुन्छ कि हुन्न भनेर विशालजीले नभन्नु भएको रहेछ । अहिले उनीहरुले मलाई लिने मनसाय बनाएर सम्पर्क गर्न खोजेपछि विशालजीले ल फोन आउँदैछ है भन्नु भएको थियो । नभन्दै केहीबेरमा फोन आयो,’उनले पूरा शृंखला सुनाउँदै भने ।

 विपिनले फिल्मको स्क्रिप्ट पाएका छैनन् तर प्रणयले बताएअनुसार फिल्ममा उनका अधिकांश दृश्य अनिल कपुरसँग छन् ।  ‘एनिमल’को अहिले दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ । मुम्बईमा नै हुने अन्तिम सेड्युलमा विपिन जोडिनेछन् ।


Author

थप समाचार
x